विपद्ले भत्काएको म्याग्दी फेरि उठ्दैछ, पुनःनिर्माणमा जुट्यो समुदाय

Gandaki Ghumau

सन्तोष गौतम

म्याग्दी, ः बाढीले बगाएको सडक, पहिरोले भत्किएका, पुरिएका, बस्नै नमिल्ने भएका घर, ढलेका विद्युतका पोल, लत्रिएका तार र बाढीले थुपारेको गेगर । कतै विस्थापित परिवारको पीडा त कतै उजाडिएका बस्ती । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछिको म्याग्दीको दृश्य केही दिनअघिसम्म यस्तै थियो ।

तर अहिले जिल्लाको दृश्य विस्तारै फेरिँदै गएको छ । विपद्ले थलिएको जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सरकारी निकायसँगै स्थानीय बासिन्दा, युवा, सामाजिक संस्था, राजनीतिक दल र व्यवसायीहरु आ–आफ्नो ठाउँबाट जुटेका छन् ।

Shreekrishna

कोही सडक खुलाउन श्रम गरिरहेका छन्, कोही विद्युत्का पोल गाडिरहेका छन् । कसैले बजारका घरमा थुप्रिएको हिलो पन्छाइरहेका छन् भने कसैले बाढीले क्षति पु¥याएको तातोपानी कुण्ड सफा गरिरहेका छन् ।

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनामा म्याग्दीमा देखिएको जनसहभागिता अहिले जिल्लाको पुनःउत्थानको मुख्य आधार बनेको छ ।
सडक खुलाउन काँधमा इन्धन

चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक बाढी र पहिरोका कारण ठाउँ–ठाउँमा क्षतिग्रस्त भयो । सडक मर्मतका लागि आवश्यक उपकरण पुगे पनि इन्धन अभाव चुनौती बन्यो ।

समस्या समाधानका लागि शनिबार ४५ जना सुरक्षाकर्मी, राजनीतिक दलका कार्यकर्ता तथा सामाजिक संघसंस्थाका स्वयंसेवकको टोलीले राहुघाट खोलादेखि बैसरीसम्म सात सय २० लिटर डिजेल बोकेर पु¥यायो ।

अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाले सडक मर्मतका लागि दुई हजार पाँच सय लिटर डिजेल सापटी दिएको छ ।


“सडक सञ्चालनका लागि इन्धन अभाव भएपछि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गर्नुका साथै जलविद्युत् आयोजनासँग सापटी मागेका हौँ,” बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले भन्नुभयो ।

यसअघि बेनीका युवा प्रकाश पौडेलको नेतृत्वमा युवाहरुले राहुपारे–कुनौटा खण्डमा श्रमदान गरेर पैदलयात्राका लागि झ¥याङ राख्ने र डोरी तान्ने काम गरेका थिए ।
पोल गाड्दै र तार तान्दै युवा

Screenshot

बाढीपहिरोले पोल ढालेपछि म्याग्दी जिल्लाभर अवरुद्ध बनेको विद्युत सुविधा अझै सूचारु हुन सकेको छैन् । सदरमुकाम बेनी बाहिरका बस्तिमा युवा क्लबका पदाधिकारी तथा सदस्य र युवाहरु विद्युत् लाइन मर्मतमा जुटेका छन् । स्थानीयले ढलेका पोल गाड्ने र लत्रिएका तार तान्ने काममा सहयोग गरेपछि शनिबार बरंजा र ताकममा एक सातापछि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति सञ्चालन भएको छ।

“समुदायले श्रमदान गरेर सहयोग गरेकाले विद्युत् आपूर्ति सञ्चालनलाई तीव्रता दिन सहज भएको छ,” नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले भन्नुभयो ।

बजारको पहिरो पन्छाउँदै

बेनी नगरपालिका–८ न्युरोडमा बुधबार खसेको पहिरोले १५ घरमा क्षति पु¥यायो । तीमध्ये १० घरमा बस्नै नमिल्ने गरी हिलो थुप्रियो । न्युरोड र गणेशटोल क्षेत्रका करिब एक सय घर जोखिममा परे ।

घर छाडेर सुरक्षित स्थानमा पुगेका स्थानीयका लागि आफ्नै टोल सफा गर्नु बाध्यता मात्र होइन, सामूहिक जिम्मेवारी पनि बन्यो । शनिबारदेखि स्थानीय बासिन्दा, जनप्रतिनिधि, राजनीतिकर्मी, युवा क्लब, आमा समूह, टोल विकास संस्था, लायन्स क्लब र बजारवासी श्रमदानमा जुटेका छन् । आइतबार पनि श्रमदान मार्फत बाँस र काठ हटाएपनि ब्याकुहोलोडर र ट्याक्टर परिचालन गरेर पहिरो पन्छाउने तथा पानीको सुरक्षित निकास व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

“पहिला बाँस र काठ हटाउन बजारवासीले श्रमदान गरका छन् । त्यसपछि मेसिन परिचालन गरेर पहिरो पन्छाउने काम हुन्छ,” बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले भन्नुभयो ।
ट्यांकरबाट खानेपानी वितरण


अन्नपूर्ण गाउँपालिका–८ मा रहेको रिठ्ठाखर्क र डाडाँखर्कको मुहानबाट बेनीमा खानेपानी आपुर्ति गराउने पाइपलाइनको बैसरी देखि डल्लेपिपल खण्डमा क्षति पुगेको छ । १२ किलोमिटर पाइपलाइनमा बाढी, पहिरो र कटानका कारण क्षतिग्रस्त हुँदा असोज ११ गतेदेखि रिठ्ठाखर्क र डाडाँखर्कको मुहानबाट खानेपानी आपुर्ति हुन रहेको छैन् ।

बेनी नगरपालिका, वौद्ध युवा क्लव, गंगा जिसी फाउण्डेशनले पानीको अभाव तार्न मुहानबाट ट्याङकरमा ओसारेर बजारबासीलाई वितरण गरिरहेका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको स्वमसेवक समूहले पनि पानी वितरण गरेका थिए । बेनी बजारका निजी मुहानका पानी उपभोक्ताहरुले पनि छिमेकी र बजारबासीलाई खानेपानी सहयोग गरेका छन् ।

Gunasthariya Shiksya

मंगलबारदेखि शुरु भएको टोल टोलमा पुगेर खानेपानी वितरण कार्यलाई वैकल्पिक ब्यवस्था नहुँदासम्म निरन्तरता दिने वौद्ध युवा कल्वका अध्यक्ष दुर्गा बुढामगरले जानकारी दिनुभयो ।
तातोपानी कुण्डमा दशैँअघि नै पानी भर्ने चाहना

बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्ड पनि बाढीको चपेटामा प¥यो । म्याग्दी नदीको बाढी कुण्डभित्र पसेपछि गेगर, माटो र बालुवा थुप्रियो ।

कुण्डलाई दशैँअघि नै सञ्चालनमा ल्याउने उद्देश्यले स्थानीयले बुधबारदेखि सरसफाइ अभियान सुरु गरेका छन् । सिंगाका विभिन्न टोलले आलोपालो गरेर श्रमदान गरिरहेका छन् ।

शनिबार मात्रै साविक सिंगा गाविस–७ का ३४ जना, तल्लो सिंगाका २८ जना, सुर्केमेला–बास्कुना–थामडाँडाका ६४ जना, छाप युवा क्लबका छ जना र तातोपानी युवा क्लबका ३५ जना सरसफाइमा सहभागी भए ।

कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार स्थानीयको निरन्तर श्रमदानले बाढीले थुपारेको गेगर हटाउने काम अघि बढेको छ ।

दुःखमा साथ, पुनःनिर्माणमा हात

विपद्पछि म्याग्दीमा स्थानीयस्तरको मात्र होइन, बाहिर रहेका म्याग्देली र गैरआवासीय नेपालीको सहयोग पनि जुटेको छ ।

प्रवासी म्याग्देलीहरुको संस्था प्रवासी नेपाली म्याग्देली संघ (मोना)ले रु. १५ लाख तथा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले रु. ११ लाख बराबरको राहत सामग्री सहयोग गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार उद्धार र राहतसँगै सडक, सञ्चार तथा विद्युत् सेवा सञ्चालनमा जनप्रतिनिधि, सामाजिक संघसंस्था र समुदायको सक्रियताले विपद्को कठिन अवस्थालाई छिटो पार गर्न सहयोग पुगेको छ ।

“सडक सञ्चालनदेखि विद्युतका पोल गाड्ने, तार तान्ने, तातोपानी कुण्ड र बजारका घरमा थुप्रिएको हिलो पन्छाउने तथा गाउँका पदमार्ग मर्मत गर्न समुदायले श्रमदान गरिरहेको छ,” उहाँले भन्नुभयो, “जनसहभागिता र जनपरिचालनले असहज बनेको म्याग्दीको जनजीवन विस्तारै लयमा फर्कन थालेको छ ।”

क्षतिको अवस्था


पहिरोमा परि अन्नपूर्णमा पाँच र मालिका गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एक÷एक जना वेपत्ता भएका छन् । बाढीपहिरोबाट म्याग्दीमा हालसम्म एक सय ११ घर पूर्ण र ९३ घरमा आंशिक क्षति पुगेको छ । तीन सय ४२ घर जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा सञ्चार र विद्युत् सेवा सञ्चालन हुन थालेपछि क्षतिको विवरण संकलन भइरहेको छ । त्यसैले क्षतिको तथ्याङ्क अझै बढ्न सक्ने प्रशासनको भनाइ छ । जलविद्युत आयोजना, प्रशारण लाइन, नदी नियन्त्रण, खानेपानी, सडक पूर्वाधार, विद्यालय भवन, कृषि, पशुपंक्षी क्षेत्रमा भएको क्षतिको विवरण पनि संकलनकै क्रममा छन् ।

अन्नपूर्ण गाउँपालिका–५ पाउद्धार, गिवाङ, घिरवाङ र किन्दुकाका एक सय १५ जनालाई हेलिकप्टरबाट उद्धार गरी शिख र घारमा राखिएको छ । अन्नपूर्ण–८ महभीरको बस्तीको पाखो चिराचिरा परेपछि त्यहाँका बासिन्दालाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

जनप्रतिनिधीहरुको अगुवाई

गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका शब्दमा, विपद्ले दुःख दिए पनि संकटमा एकजुट हुने र दुःखमा साथ दिने म्याग्दीको पुरानै अभ्यास हो ।

“एकता, सहयोग र श्रमको भावनाले म्याग्दीको जनजीवनलाई सामान्य अवस्थामा फर्काउन ठूलो भूमिका खेलेको छ,” उहाँले भन्नुभयो, “संकटमा एकजुट हुने, दुःखमा साथ दिने र हातेमालो गर्दै पुनःनिर्माणमा जुट्ने म्याग्दीको पुरानै असल अभ्यास हो ।” संघीय सरकारका विज्ञान, प्रबिधी तथा नवप्रर्वतन मन्त्री समेत रहेका म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य महाविर पुनले विपद् ब्यवस्थापन जुट्न आग्रह गर्दै पुननिर्माणका लागि बजेट र आर्थिक स्रोतको अभाव हुन नदिने सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिवद्धता जनाउनुभएको छ ।

म्याग्दी १(क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले विपद् ब्यवस्थापन सबैको साझा दायित्व र जिम्मेवारी भएकाले सोही अनुसार भूमिका निर्वाह भइरहेको बताउनुभयो । जनपरिचालन विपद् ब्यवस्थापन र पुननिर्माणका लागि म्याग्दीको मोडल बन्न सक्ने उहाँको भनाई छ ।
संघीय मन्त्री पुनले काठमाडौमा बसेर समन्वय गरिरहनुभएको छ भने प्रदेशसभा सदस्यद्धय जुग्जाली र भण्डारी जिल्ला तथा स्थानीय तह र समुदायसँग समन्वय गरेर कार्यक्षेत्रमा विपद् ब्यवस्थापनमा जुट्नुभएको छ ।

विपद्को पानी घटिसकेको छ, तर क्षतिको घाउ अझै बाँकी छ । ती घाउ पुर्न समय लाग्नेछ । अहिले भने म्याग्दीले एउटा सन्देश दिइरहेको छ—विपद्ले भत्काएको संरचना मेसिनले बनाउला, तर त्यसमा जीवनको रङ भर्न समुदायको हात चाहिन्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...