कालीगण्डकीको भेलले बगाएको फर्सेबासीको सपना

Gandaki Ghumau

सन्तोष गौतम
म्याग्दी, ः जहाँ केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी थिए । बालबालिकाको चहलपहल थियो । अहिले त्यहाँ कालीगण्डकीको भेल बगिरहेको छ ।

पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा असोज ११ गते आएको कालीगण्डकीको बाढीले धेरै परिवारको जीवन नै उल्टाइदिएको छ । वर्षौँको मेहनतले बनाएको घर । जोडेको धनसम्पत्ति । पालिएका गाईभैँसी । बाढीले सबै बगाएको छ ।

बेनी नगरपालिका–१ रत्नेचौर ढोडेनीकी निर्मला सापकोटाको परिवार दुई दशकभन्दा लामो समयदेखि फर्सेमा बस्दै आएको थियो । यातायातको सुविधा थियो । कृषि उपज बिक्री गर्न सहज थियो । त्यसै कारण उहाँको परिवारले फर्सेलाई कर्मथलो बनाएको थियो ।

Shreekrishna

समाजमा राम्रो आर्थिक हैसियत भएको परिवारका रूपमा चिनिनुहुने निर्मला अहिले भने आफूलाई शून्यमा पुगेको महसुस गर्नुहुन्छ । “पुरख्यौली घर रत्नेचौरमै भए पनि फर्सेमा व्यवस्थित घर बनाएर सुविधासम्पन्न जीवन बिताइरहेका थियौँ,” उहाँले भन्नुभयो, “बाढीले शरीरमा भएको एकसरो कपडा र गोठका गाईबस्तु बाहेक सबै बगायो । ज्यान बच्यो, यही ठूलो कुरा हो ।”

निर्मलाको आवाजमा पीडा छ । तर बाँच्ने साहस पनि छ । “गरेर खानेका लागि पनि गास, बास, कपास र ओत चाहिने रहेछ भन्ने अहिले महसुस भएको छ,” उहाँले भन्नुभयो । फर्सेकै विष्णुकुमारी हमालको परिवारको कथा पनि उस्तै छ । व्यापार–व्यवसायका लागि धाइरिङबाट फर्से झरेको परिवारले चारवटा घर बनाएको थियो । उहाँका श्रीमान् डिलबहादुर क्षेत्रीले दूध उत्पादनका लागि शिव तरकारी तथा पशुपालन कृषि फार्म सञ्चालन गर्नुभएको थियो ।

“गाईभैँसीलाई तातोपानीले नुहाइदिन गोठमा सोलार जोडेका थियौँ,” विष्णुले भन्नुभयो, “हाम्रो सुविधासम्पन्न घरगोठ भएको ठाउँमा अहिले कालीगण्डकी बगेको छ । पुरानो तस्बिरमा घर हेरेर चित्त बुझाउनुबाहेक केही बाँकी रहेन् ।”

असोज ८ देखि ११ गतेसम्म परेको निरन्तरको वर्षापछि कालीगण्डकीमा आएको बाढीले फर्सेका करिब एक सय परिवारलाई प्रभावित बनाएको छ । जलजला गाउँपालिकाका अनुसार ७५ घर बगेर पूर्ण रूपमा क्षति भएका छन् । २७ घर जोखिममा छन् । बाढीबाट विस्थापित ७५ परिवारका एक सय २९ महिला, एक सय ४४ पुरुष र पाँच वर्षमुनिका आठ बालबालिका प्रभावित भएका छन् ।

घरबारविहीन परिवारमध्ये अन्यत्र घर नभएका र आफन्तकहाँ आश्रय लिन नसक्नेलाई सुरक्षा निकायको सहयोगमा अस्थायी शिविरमा राखिएको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । “ज्यान जोगिए पनि वर्षौँ मेहनत गरेर जोडेको घरघडेरी र धनसम्पत्ति गुमाएको पीडा धेरैमा छ,” उहाँले भन्नुभयो।

पूर्वसूचनाले जोगायो ज्यान


फर्सेकी संगिता शर्मालाई यही असोज १० गतेको रात अझै सम्झना छ । ठूलो पानी पर्ने सूचना आएपछि स्थानीय बासिन्दा केही दिनदेखि नै सतर्क थिए । तर कालीगण्डकी यति ठूलो भेलसहित बस्तीमा पस्ला भन्ने कसैले सोचेका थिएनन् ।

असोज १० गते मध्यराति फर्से युवा क्लबका युवाले माइकिङ गरे । त्यसपछि संगितासहित धेरै परिवार घर छाडेर सुरक्षित स्थानतर्फ लागे । “शरीरमा भएको कपडा मात्रै लगाएर झरीमा भिज्दै रातको दुई बजे सडकमा निस्कियौँ,” उहाँले भन्नुभयो “गहना, अन्न, लत्ताकपडा, फर्निचार, भाडाकुडा, नगद र महत्वपूर्ण कागजात घरमै थिए तर हामीसँग ज्यान जोगाउने समय मात्र थियो ।”

गोठमा बाँधिएका गाईभैँसी फुकाएर भगाउनुप¥यो । घरभित्रका सामान निकाल्ने समय मिलेन । अहिले विस्थापित परिवार दिनमा एकपटक बाढीले बगाएको घर भएको ठाउँतिर पुग्छन् । भग्नावशेष हेर्छन् । विगत सम्झन्छन् । अनि भारी मन लिएर फर्किन्छन् । अस्थायी शिविरमा बसेका बिना, फुलमाया र सुकमाया विकको अवस्था पनि उस्तै छ । साथमा लगाएको कपडाबाहेक घरबाट केही निकाल्न सक्नुभएन ।

“आफ्नै घर भएको ठाउँमा कालीगण्डकी बगेको देख्दा मन भारी हुन्छ,” उहाँहरुको भनाइ छ । घर र गोठ डुबानमा परेका परिवार भने बाढीबाट बचेका सामान खोजिरहेका छन् । हिलो पखालिरहेका छन् । घाममा सुकाइरहेका छन् । बाँकी रहेको सामान सुरक्षित ठाउँमा सारिरहेका छन् ।

बाढीले घरसँगै विद्यार्थीका कापी–किताब पनि बगायो । फर्से र बागलुङको ढोडेनी जोड्ने करिब एक सय वर्ष पुरानो झोलुङ्गे पुललाई इतिहाँसमा सिमित गरिदियो । पुल बगेपछि म्याग्दी र बागलुङतर्फबाट फर्सेको जनकल्याण माध्यमिक विद्यालयमा आउने विद्यार्थीले घुमाउरो बाटो हिँड्नुपर्ने अवस्था आएको छ ।

जलजला–८ का वडाध्यक्ष हरिबिकास जिसीका अनुसार पूर्वसूचना र स्थानीयको सतर्कताका कारण मानवीय क्षति हुन पाएन् । तर भौतिक क्षति अकल्पनीय भयो । वडाध्यक्ष जिसीको पुरख्यौली घरसमेत बाढीले बगाएको छ ।

Gunasthariya Shiksya

व्यापारिक केन्द्रबाट कृषि गाउँ

पञ्चायतकालमा फर्से व्यापारिक केन्द्रका रूपमा चिनिन्थ्यो । बागलुङ, मुस्ताङ र म्याग्दी ओहोरदोहोर गर्नेका लागि यो महत्वपूर्ण ठाउँ थियो । सडक विस्तारसँगै फर्सेको स्वरूप बदलियो । व्यापार–व्यवसायबाट स्थानीय बासिन्दा कृषि उद्यमतर्फ लागे । बेनी, कुश्मा र बागलुङ बजार नजिक भएकाले दूध र तरकारी उत्पादन यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत बन्यो ।

कालीगण्डकी करिडोरको मालढुङ्गा–बेनी सडकखण्डमा पर्ने फर्सेबाट सिजनमा दैनिक करिब आठ सय लिटर र बेसिजनमा छदेखि सात सय लिटरसम्म दूध बिक्री हुने गरेको स्थानीय संगम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाका सचिव खड्ग केसीले बताउनुभयो ।

सहकारीले ४० किसानबाट दूध खरिद गरी बागलुङ पु¥याएर बिक्री गर्दै आएको थियो । तर बाढीपछि किसानको अवस्था फेरिएको छ । “गाईभैँसी पाल्ने ४० जनामध्ये आधाजसो किसान बाढीबाट प्रभावित भएका छन्,” केसीले भन्नुभयो, “बचाइएका गाईभैँसीलाई आहारा र दाना दिन नसक्दा दूध उत्पादन घटेको छ ।”

उहाँले बाढी प्रभावित किसानका लागि तत्काल पशु आहारा र दानाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

बगर बनेको गाउँ फेरि उठ्ने विश्वास

स्थानीय टिकाराम क्षेत्रीका आँखामा अझै असोज ११ गते बिहानको दृश्य घुमिरहेको छ । बाढी बढ्न थालेपछि साँझ सुरक्षित रूपमा घर छाड्नुभएको थियो । बिहान फर्किंदा घर भेटिएन । “उठ्दै गरेको फर्सेलाई बाढीले लडाइदियो,” उहाँले भन्नुभयो, “साहस गरेर फेरि उठ्नेछौँ । तर सरकारको साथ चाहिन्छ ।”

फर्से टोल विकास संस्थाका अध्यक्ष रामु सुवेदीलाई पनि आफ्नो गाउँ फेरि उठाउन सकिन्छ भन्ने विश्वास छ । तर त्यसका लागि सुरक्षित बसोबास र नदी नियन्त्रण आवश्यक रहेको उहाँको भनाइ छ ।

“यही ठाउँमा पक्की पर्खाल बनाएर नदी नियन्त्रण गरिदिए पेशा–व्यवसाय गरेर पुरानै अवस्थामा फर्किन सकिन्छ,” उहाँले भन्नुभयो, “हाम्रो बस्तीलाई बस्नयोग्य बनाइदिनुप¥यो । घर र घडेरी बगेकालाई बसोबासको व्यवस्था गर्नुपर्छ ।”

उहाँले पर्वततर्फ मात्र नभई म्याग्दी र बागलुङतर्फ समेत बस्ती संरक्षणको योजना बनाउनुपर्ने बताउनुभयो । कालीगण्डकीबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन रोक्नुपर्ने उहाँको माग छ । तत्काल संरक्षणका काम नगरिए कालीगण्डकीले धार परिवर्तन गरी थप बस्ती र सयौँ रोपनी खेतीयोग्य जमिन जोखिममा पार्नसक्ने सुवेदीको भनाइ छ । कोरला नाका जोड्ने सडकसमेत जोखिममा पर्नसक्ने उहाँले बताउनुभयो ।

पुनःस्थापनाको पर्खाइ

जलजला गाउँपालिकाले फर्सेका बाढीपीडितका लागि कर्मचारी खटाएर सचिवालय स्थापना गरेको छ । राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गरिएको छ । जलजलाको फर्से सहित ताङवाङ, लामाखेत, पालसिङ लगायत धेरै ठाउँमा बाढी पहिरोले क्षति गरेको छ । प्रभावित परिवारलाई परिचयपत्रसमेत वितरण गरिएको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताउनुभयो ।

बिहीबार स्वास्थ्य शाखाको आयोजनामा मनोसामाजिक परामर्शसहित स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । जनप्रतिनिधी र कर्मचारीको १४ वटा समुह बाढी पहिरोले पु¥याएको क्षतिको विवरण संकलन गर्न खटिएका छन् ।

फर्सेबासीका लागि दीर्घकालीन सुरक्षित बसोबास, पुनःनिर्माण र बस्ती संरक्षणको योजना आवश्यक रहेको अध्यक्ष आचार्यले बताउनुभयो । त्यसका लागि सङ्घीय र प्रदेश सरकारसमक्ष प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।

मंगलबार फर्सेको निरिक्षणमा आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुननिर्माण र पुनस्थापनामा सरकारले साथ दिने प्रतिवद्धता जनाउनुभयो । कालीगण्डकीको भेलले फर्सेको रूप बदलिदिएको छ । घरका ठाउँमा भग्नावशेष छन् । गोठका ठाउँमा बगर छ । आँगनका ठाउँमा नदीको धार छ ।

फर्सेका बाढी पिडित चन्द्र दर्जीको मनमा एउटा विश्वास अझै बाँकी छ—बाढीले घर बगाउन सक्छ, सपना होइन् । “हामीहरु आफ्नै गाउँमा श्रम र पसिनो उठ्न चाहान्छौ,” उहाँले भन्नुभयो “सुरक्षित बास, संरक्षणको भरोसा र पुनःस्थापनामा सरकारको साथ आवश्यक पर्छ ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...