
म्याग्दी, पछिल्लो झरि र बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपुर्ति गराउने प्रशारण लाइन मर्मत कार्य शुरु भएको छ ।
यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटेमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइनको चार वटा टावर ढलाएको र लाइन चुडाएकाले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपुर्ति बन्द भएको छ ।
अर्कोतर्फ म्याग्दी र मुस्ताङका एक सय ७६ मेगावाट क्षमताका छ वटा जलविद्युत आयोजनाको विद्युत केन्द्रिय प्रणालीमा जोडिन नपाउँदा करोडौको नोक्सानी भएको छ । विद्युत अभावमा सञ्चार अवरुद्ध हुनुका साथै सर्वसाधारणको दैनिकीमा असर परेको छ ।

अन्नपूर्ण गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडा तथा मुस्ताङ जिल्लाभर कार्यक्षेत्र भएको नेपाल विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईले प्रशारण लाइनको समस्याले तत्काल दाना सवस्टेशनबाट विद्युत आपुर्ति गराउन सम्भव नभएकाले वैकल्पिक लाइन सञ्चालनको तयारी गरेको जानकारी दिनुभयो ।

“दाना सवस्टेशनबाट तत्काल सम्भव नहुने भएकाले मिलनचोक देखि दाना हुदै मुस्ताङको कोवाङमा रहेको ३३ केभी प्रशारण लाइन मर्मत थालेका छौ,” उहाँले भन्नुभयो “३३ केभी क्षमताको प्रशारण लाइनमा पनि म्याग्दी खण्डमा धेरै ठाउँमा क्षति पुगेकाले मर्मत कार्यका लागि प्राधिकरणका कर्मचारीका साथै ठेकेदार मार्फत मजदुरहरु पनि परिचालन गरेका छौ ।”
मुस्ताङको प्रशारण लाइन र वितरण लाइनमा समस्या नभएको स्थलगत निरीक्षण गरेर फर्कनुभएका चापागाईले बताउनुभयो । तातोपानी देखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर सम्म ढलेका पोल गाड्ने, चुडिएका र लत्रिएका तार हटाएर नयाँ तान्ने काम सकिएको छ । घारमा एक वटा, राखु देखि बेगखोला जोड्ने चार वटा प्रशारण लाइनको पोल ढलेका छन् ।
बेगखोला र तिप्ल्याङको बिचमा एक किलोमिटर पाँच सय मिटर दुरीमा पोल र तार पुरै कालीगण्डकीको बाढीले बगाएको छ । सडक यातायात सञ्चालन नभएकाले विद्युत लाइन मर्मतका लागि सामग्री ढुवानी गर्न समस्या भएको छ ।
प्राधिकरणको प्रादेशिक कार्यालयबाट सामान ल्याएर बेनी हुदै राखुसम्म सवारी साधन मार्फत लैजाने र त्यहाँदेखि बेगखोला क्षेत्रमा भरिया लगाएर ढुवानी गरेर लाइन मर्मत कार्य अघि बढाइएको वितरण केन्द्र प्रमुख चापागाईले बताउनुभयो ।
