
सन्तोष गौतम÷
म्याग्दी, ः पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा घर बनाएर बसेकी म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरकी बालकुमार रावल पछिल्लो तीन दिनयता ढुक्कसँग निदाउन पाउनुभएको छैन् ।
यही असोज ८ देखि १२ गतेसम्मको निरन्तरको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले घरभित्र बाढी पसेपछि जिवनभर दुःख गरेर जोडेको सम्पत्ती खर्चेर किनेको जग्गामा बनाएको घर छाड्नेकी जोखिम मोलेर त्यही बस्ने भन्ने निर्णय लिन उहाँलाई गाहे परेको छ ।
“२०–३० मिटर टाढा र करिब छ मिटर माथि सम्म कालीगण्डकीको बाढी आउने कल्पना पनि गरेको थिइन तर असोज १० गते रातीको बाढीले घर डुबाएर सामान बगायो, भएका लत्ताकपडा, भाडाकुडा र सामानहरुलाई हिलाम्मे बनाउनुका साथै बस्नै नसक्ने बनाएपछि पिडा भएको छ,” रेष्टुरेन्ट र किराना पसल सञ्चालन गरेर जिविकोपार्जन गर्दै आएकी रावलले भन्नुभयो “यो ठाउँमा बसौ भने बाढीले डुबाएको झलझली आँखामा आउँछ, छोडेर जाने अरु ठाउँ छैन् ।”

बाढी पसेपछि रावल सहित लामाखेतका अधिकांश बासिन्दाहरु रातीमा घरमा सुत्न छाडेका छन् । साँझ खाना खाएर बेनी बजारमा आउने उनिहरु बिहान घर फर्कन्छन् । बाढीले भिजाएका हिलाम्मे सामानको सरसफाई उहिरुको दिनचर्या बनेको छ ।
बेनीको प्रकाश माविको कक्षा ६ मा पढ्ने लामाखेतका आयुस पुनले बाढी पसेपछि पोशाक लगाउने नमिल्ने भएको र हिलो पन्छाउन बुवा आमालाई सघाउनुपर्दा विद्यालय जान नपाएको गुनासो गर्नुभयो ।


लामाखेतमा बस्दै आएका धवलागिरी गाउँपालिका–५ भेडिखाल्टाकी रुपी बुढा घरमा बस्नेकी छोड्ने भन्ने दोधारमा हुनुहुन्छ । “जलजला गाउँपालिकाको केन्द्र र कार्यालय समेत रहेको लामाखेतलाई संरक्षण गरेर बस्नयोग्य बनाउन सकेमा मात्र हामी ढुक्क हुने थियौ,” उहाँले भन्नुभयो “बाढी र कटानबाट ज्यान बचाउन घर छाड्नुपर्ने अवस्था छ । जिवनभरको कमाई लगानी गरेर बनाएको घर छाडेर फेरी गाउँ फर्कन पनि अप्ठ्यारै हुन्छ ।”
पछिल्लो १५ वर्षयता तिब्र रुपमा बस्ति विस्तार भएको लामाखेत पर्वत जिल्लाको भूगोलमा पर्ने भएपनि अधिकांश म्याग्दीका विभिन्न ग्रामिण क्षेत्रबाट बसाई सराई गरेर आएकाहरु छन् । लामाखेतमा धेरै जसो विदेशमा कमाएको र गाउँको जग्गा जमिन बेचेर छोराछोरी पढाउन, बेनीमा रोजागरी र मजदुरी गर्नेहरुले घर बनाएर बसेका छन् ।
लामाखेतको तल्लो क्षेत्रमा रहेका २५ भन्दा बढी घरहरुमा बाढी पसेको थियो । यसअघि तटबन्ध नाघेर बाढी नआएको स्थानीयबासी बताउँछन् । बेनी देखि लामाखेत जोड्ने ढलान गरेर पक्की बनाएको सडक पनि पहिरोले भत्काएकाले घरका सामान अन्यत्र सार्न पनि नपाएको स्थानीय टिकाराम पुनले गुनासो गर्नुभयो ।
मेघबहादुर राईले बाढीको त्रासका कारण बेनी बजारमा कोठा खोजीरहेको बताउनुभयो । “सडक माथिको पाखो धस्कीएको र कालीगण्डकी पारी ठूलो पहिरो सिर्जना भएकाले हामी लामाखेत बासीलाई त्रास सिर्जना भएको छ,” उहाँले भन्नुभयो “घरभित्र पसेको बाढी र हिलोत पन्छाइयो तर मनभित्र पसेको चिसो हटाउन गाहे हुदो रहेछ ।” लामाखेतलाई तटबन्ध गरेर बस्नयोग्य बनाउन स्थानीयबासी अमित पुनको माग छ ।
तत्कालका लागि बस्तिभित्र थुप्रिएको बालुवा पन्छाउन ब्याकुहोलोडर, बेनी जोड्ने सडक खुलाउन, खानेपानी आपुर्ति गराउन र दिर्घकालिन रुपमा नदी कटान नियन्त्रण योजना सञ्चालन गरि लामाखेतलाई बस्नयोग्य बनाउन लालबहादुर छन्त्यालले माग गर्नुभयो ।
जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले असोज ११ गतेको बाढीले लामाखेत, लामाबगर, फर्से लगायत तटीय क्षेत्रदेखि धाइरिङको तामवाङ, खानीगाउँ लगायत धेरै बस्तिमा क्षति गरेको बताउनुभयो । तत्कालका लागि मानवीय क्षति हुन नदिने, अवरुद्ध सडक यातायात सूचारु गर्ने र आधारभूत आवश्यकता परिपुर्तिका लागि मंगलबारदेखि १४ वटा समूह परिचालन गरेको बताउनुभयो ।
मालढुङ्गा–बेनी सडकको माथिल्लो क्षेत्रमा धेरै पाखो जमिनहरु चर्किएकाले जोखिमयुक्त ठाउँमा सतर्कता अपनाउनका लागि अनुरोध गर्दै अध्यक्ष आचार्यले गाउँपालिकाको अन्य बजेट कटौति गरेर विपद्मा केन्द्रित गर्ने, पुननिर्माण, पुनस्थापनाका लागि संघीय र प्रदेश सरकारसँग योजना तथा बजेट माग गरिने बताउनुभयो ।
