
बेनी, यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरिपछिको बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ ।
जिल्ला विपद् ब्यवस्थापन समितिको मंगलबार बसेको बैठकले विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । विपद् संकटग्रस्त जिल्ला घोषणा गरेर पुननिर्माण र पुनस्थापना कार्यलाई प्राथमिकता दिन गृहमन्त्रालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो ।
सात जनाको ज्यान गएको, दुई जना वेपत्ता भएको, सडक, विद्युत, सिचाई, खानेपानी, भवन लगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको आधारमा म्याग्दीलाई विपद संकटग्रस्त जिल्ला घोषणाका लागि सिफारिस गरिएको उहाँले बताउनुभयो ।

यसैगरी म्याग्दीमा बाढी पहिरोले भौतिक संरचना, निजी आवास, कृषि, पशुपंक्षी क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गर्न मंगलबारदेखि स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी र सुरक्षाकर्मीहरुको टोली परिचालन भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले उद्दार र राहतसँगै छ वटै पालिकामा क्षति विवरण संकलन कार्य शुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म प्राप्त विवरण अनुसार बाढी पहिरोले बेनी नगरपालिकामा २३, रघुगंगामा ३, मंगलामा १८, मालिकामा एक, अन्नपूर्णमा दुई र धवलागिरीमा एक वटा घर पूर्ण क्षति भएको विवरण प्राप्त भएको छ । बेनी नगरपालिकामा नौ र मालिका गाउँपालिकामा एक घरमा आंशिक क्षति पुगेको छ ।
बेनीमा २३, रघुगंगामा ४७, मंगलामा चार, मालिकामा तीन र धवलागिरीमा २३ घर जोखिममा परेका छन् । बेनीमा २१, रघुगंगामा २६, मंगलामा आठ, अन्नपूर्णमा एक वटा गोठ तथा जिल्लाभर २० वटा पशुधनको क्षति भएको मंगलबार सम्म विवरण संकलन भएको छ ।
पहिरोले गाउँ घेरिएपछि फसेका अन्नपूर्ण गाउँपालिका–५ पाउद्धार, गिवाङ, नेपाने, किन्दु, धोस्केखोर, घिरवाङका एक सय नौ जनालाई हेलिकप्टर मार्फत उद्दार गरेर शिख र घारमा अस्थायी शिविर बनाएर राखिएको छ ।
विपद्पछि म्याग्दीमा उद्दार कार्यमा ७० जना नेपाली सेना, दुई सय ५१ जना नेपाल प्रहरी र ६० जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन भएका छन् । बाढी र पहिरोका कारण म्याग्दीको सदरमुकाम बेनी देखि अन्य जिल्ला र ग्रामिण क्षेत्र जोड्ने सबै सडक अवरुद्ध छन् । सदरमुकाम बाहेकका क्षेत्रमा विद्युत र सञ्चार सेवा पनि अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम बेनीमा खानेपानीको हाहाकार भएको छ ।
