
म्याग्दी ः यही असोज ८ देखि ११ गतेसम्म परेको बर्षात र बाढी पहिरोका कारण म्याग्दीमा दुई सय घर परिवार विस्थापित भएका छन् ।
सदरमुकाम बेनी देखि ग्रामिण क्षेत्र जोड्ने सडक अवरुद्ध बनेको, स्थानीय तहसँग सञ्चार, यातायात र विद्युत सम्पर्क बिच्छेद भएकाले विवरण संकलन कार्यमा ढिलाई भएको प्रशासनले जनाएको छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बाढी पहिरोले सोमबारसम्म दुई सय घर परिवार विस्थापित भएका जानकारी दिदै विवरण संकलनका लागि सुरक्षा निकाय र स्थानीय तहलाई परिचालन गरेको बताउनुभयो ।

“पहिलो चरणमा पहिरोमा मृत्यु भएका र वेपत्ताको खोजी, फसेकाको उद्धारमा केन्द्रित भएका छौ,” उहाँले भन्नुभयो “सञ्चार पहुँच नभएका ठाउँमा क्षतिको विवरण संकलनका लागि सबै स्थानीय तहमा जनशक्ति परिचालन गरेका छौ ।”
सडक यातायातको सम्पर्क टुटेकाले प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन भएको छ । पहिरोबाट सात जनाको मृत्यु र दुई जना वेपत्ता रहेका जानकारी दिनुभयो । पहिरोबाट विस्थापित र जोखिममा रहेका घरपरिवारलाई सुरक्षित ठाउँमा आश्रयस्थल बनाएर राखिएको प्रजिअ गैरेले जानकारी दिनुभयो ।

पहिरोमा वेपत्ता भएकी बेनी नगरपालिका–३ छेपारेकी कुमारी वली विकको खोजी जारी रहेको छ भने वेपत्ता भएका अन्नपूर्ण–५ का ७५ वर्षीय ओमबहादुर तिलिजाको सोमबार शव फेला परेको हो । अन्नपूर्ण –३ की शिलकुमारी पाईजा, योगमाया पाईजा, अन्नपूर्ण–८ का सविन गर्बुजा, मालिका गाउँपालिका–३ का चिरन पुन, देवबहादुर पुन र अन्नपूर्ण–५ की जेनी पुर्जाको शव भेटिएको छ ।
सबैभन्दा बढी पहिरोबाट प्रभावित भएको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धार, गिवाङ, घिरच्याङ, धोस्केखोर, किन्दुका एक सय छ जनालाई घार र शिखमा अस्थायी शिविर बनाएर राखिएको उहाँले बताउनुभयो । पहिरोका कारण अवरुद्ध बनेको बेनी–बागलुङ सडक आंशिक रुपमा सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय बागलुङले हलुका सवारी साधन सञ्चालन गर्ने गरि बागलुङ–बेनी सडकको भसभसे, खबरा क्षेत्रमा मर्मत गरेको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय मार्फत बेनी–दरवाङ सडकको बेनी–तातोपानी खण्डमा एकतर्फी यातायात सञ्चालन गर्न मिल्ने गरि मर्मत गरेको छ । दरवाङतर्फबाट पनि सडक मर्मत थालिएको जानकारी दिदै गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले मंगलबारदेखि फापरखेतको पहिरोमा पनि सडक मर्मतको काम शुरु हुने बताउनुभयो ।
म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका हुदै मुस्ताङको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको मुस्ताङ र बेनीतर्फबाट मर्मत थालिएको छ । बेनी देखि गलेश्वर सम्म मंगलबा सडक खुलेको छ ।
जिल्ला सदरमुकाम बेनी र आसपासका क्षेत्रमा मात्र सञ्चालन भएको सञ्चार र विद्युत सेवा सूचारु गराउन नेपाल टेलिकम र विद्युत प्राधिकरण मार्फत मर्मतको काम भैरहेको प्रजिअ गैरेले बताउनुभयो । बेनी बजारमा बैकल्पिक मुहानबाट खानेपानी आपुर्ति गराउन शसस्त्र प्रहरी बल परिचालन गरिएको छ ।
