
म्याग्दी, ः लगातार भइरहेको बर्षातका कारण सिर्जना हुने बाढी, पहिरो तथा अन्य विपद्को जोखिम न्यूनीकरणका लागि म्याग्दीमा उच्च सतर्कताका साथ पूर्वतयारी गरिएको छ ।
बिहीबारदेखि देशभर भइरहेको वर्षा आइतबारसम्म जारी रहने पूर्वानुमानका आधारमा शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाका सम्भावित जोखिमयुक्त क्षेत्रमा आवश्यक तयारी, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । सरकारी निकाय र गैरसकारी संघ संस्थाहरुको जिम्मेवारी निर्धारण गरेर उपसमितिहरु तयार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो ।
विपद्को सम्भावित जोखिमलाई ध्यानमा राखेर जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र र स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई चौबीसै घण्टा सक्रिय राखी प्रत्येक घण्टा सूचना अद्यावधिक गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
“जोखिमयुक्त बस्तीको अवस्था निरन्तर निगरानीमा राख्ने, आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा उद्धारका सामग्री तयारी अवस्थामा राख्ने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो “मौसम पुर्वअनुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरणले म्याग्दीलाई जोखिमयुक्त मानेर जारी गरेको सूचना तथा गृह मन्त्रालयको निर्देशन अनुसार उच्च सर्तकता अपनाइएको छ ।”
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको खोज तथा उद्धार टोलीलाई आवश्यक उपकरणसहित तयारी अवस्थामा राख्ने तथा पहिरो प्रभावित क्षेत्रमा आवश्यकताअनुसार डोजर र एक्स्काभेटरलगायतका हेभी उपकरण परिचालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य संस्थामा आकस्मिक औषधि तथा प्राथमिक उपचार सामग्रीको पर्याप्त व्यवस्था गर्न र एम्बुलेन्स तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश गैरेले विपद् आइपरेमा तत्काल उद्धार, उपचार, राहत र यातायात व्यवस्थापन गर्न विभिन्न विषयगत टोलीलाई जिम्मेवारी तोकिएको बताउनुभयो । उहाँका अनुसार उद्धार, आश्रयस्थल व्यवस्थापन, राहत सङ्कलन तथा भण्डारण, राहत वितरण, स्वास्थ्य, पूर्वाधार, सूचना सम्प्रेषण, तथ्याङ्क सङ्कलन र ड्रोन परिचालनका लागि छुट्टाछुट्टै संयन्त्र तयार गरिएको छ ।
“वर्षाका कारण सडक, विद्युत्, खानेपानी र सञ्चार सेवा अवरुद्ध हुनसक्ने भएकाले सम्बन्धित निकायलाई वस्ती र टाल तहसम्मको अवस्था निरन्तर निगरानी गरी सेवा सञ्चालनमा समन्वय गर्न तयारी गरिएको हो”, प्रजिअ गैरेले भन्नुभयो ।

समितिले विपद्सम्बन्धी आधिकारिक सूचना तथा पूर्वसूचना स्थानीय भाषाशैलीमा निरन्तर प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरेको छ । साथै सम्भावित जोखिमयुक्त बस्तीका नागरिकलाई मौसमको अवस्था हेरी सतर्क रहन, नदी तथा खोलाको किनार र पहिरोको जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न अनुरोध गरिएको छ ।

