
बेनी ः म्याग्दीमा रहेको संसारको सातौ (आठ हजार १६७) मिटर अग्लो धौलागिरि हिमालमा आएका पर्वतारोहीहरु फर्किएका छन् ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्ने धौलागिरि हिमाल आरोहणका लागि आधार शिविर क्षेत्रमा पुगेका पर्वतारोहीहरुको टोली प्रतिकुल मौसमका कारण फर्किएका हुन् । आरोहण टोलीको समन्वय गर्नुभएका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनले आधार शिविरमा रहेका ३० जना विदेशी पर्वतारोही टोली बिहिबार फर्किएका जानकारी दिनुभयो ।
“असोज ९ देखि ११ गतेसम्म भिषण बर्षा हुने पूर्वसूचना र प्रतिकुल मौसमका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्नका लागि आरोहण टोली सुरक्षित ठाउँमा फर्किएका हुन,” उहाँले भन्नुभयो “चार दिनपछि मौसम सफा भएमा आरोहणलाई निरन्तरता दिने निर्णय गर्दै तल्लो क्षेत्रमा रहेको इटली आधार शिविर झरेका छन् ।”

केही पर्वतारोहीहरु भने हेलिकप्टरबाट पोखरा पुगेका शेरचनले बताउनुभयो । ‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनी मार्फत गत शनिबार ३० जना विदेशी पर्वतारोही टोली धवलागिरीको आधार शिविर पुगेका थिए । टोलीले बिहिबारदेखि मौसम प्रतिकुल हुन थालेपछि आरोहणलाई स्थगित गरेर सुरक्षित ठाउँमा फर्कने निर्णय गरेका शेरचनले बताउनुभयो ।
मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीलाई पनि बिहिबार देखि आइतबार सम्म भारी बर्षाका कारण जोखिमयुक्त क्षेत्र पहिचान गरेका छन् ।

पर्यटन विभागले सार्वजनिक सूचना जारी गरेर हिमाली क्षेत्रमा रहेका पर्वतारोहीहरुलाई सतर्कता अपनाउन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले मौसम अनुकुल नहुँदा सम्मका लागि आधार शिविरतर्फ नजान अनुरोध गरेका छन् ।
चालु शरदयाममा धौलागिरि आरोहणका लागि पर्यटन विभागबाट चार वटा समूहका १० जना महिला सहित ३४ जनाले अनुमति लिएका छन् । उनिहरुबाट रु. ७७ लाख ८२ हजार चार सय ५० सलामी दस्तुर (आरोहण) शूल्क प्राप्त भएको विभागका शाखा अधिकृत सुधा रेग्मीद्धारा पछिल्लो पटक असोज २ गते जारी सूचनामा उल्लेख छ ।
गत बसन्तयाममा तीन वटा समूहका १२ महिला र १६ पुरुष र २०८२ को शरदयाममा ३६ जनाले धौलागिरि आरोहणका लागि अनुमति लिएका विभागको अभिलेखमा छ । छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौति हो । अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ ।
सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलो पटक धौलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो । डिम्बर्गर सहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलो पटक धौलागिरिको चुचुरोमा पुग्नुभएको थियो ।
यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका पर्यटकहरु पनि फर्किएका र बिहिबार देखि पदयात्रा बन्द भएको मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले बताउनुभयो । पर्यटक याम शुरु हुदै लागेको समयमा भोटेकोशीमा आएको बाढी र भारी बर्षातका कारण धेरै पर्यटकहरुले भ्रमण रद्द गरेका उहाँले बताउनुभयो ।
