
घराप, ः एक सय ८० मेगावाट क्षमताको कालिगण्डकी ‘गर्ज’ जलविद्युत आयोजनाको चौथो नम्बरको ‘अडिट’ सुरुङ निर्माण थालिएको छ ।
कालिगण्डकी गर्ज हाइड्रोपावर प्रा.लि. प्रर्वद्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घराप स्थित विद्युतगृह निर्माण स्थलबाट सोमबारदेखि मुख्य सुरुङ जोड्ने ‘अडिट’ सुरुङ निर्माण शुरु गरेको हो । जलविद्युत आयोजनाको मुख्य सुरुङमा पुग्ने पहुँचमार्गलाई ‘अडिट’ भनिन्छ ।

आयोजनाका प्रशासन र जनसम्पर्क महाशाखाका बरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले गाडपार स्थित अडिट एक(ए) र दोस्रो अडिट सुरुङ खन्नलाई पनि तयारी गरिएको जानकारी दिनुभयो ।
पहुँचमार्ग (अडिट) खनेर सकिएपछि मुख्य सुरुङ निर्माणको काम अघि बढ्ने उहाँले बताउनुभयो । “भालेबास स्थित चार सय ८५ मिटर लामो पहिलो नम्बर अडिटको तीन महिनामा एक सय ३० मिटर सुरुङ खनिएको छ,” उहाँले भन्नुभयो “विद्युतगृहको चौथो तथा अन्तिम अडिटको दुरि एक सय ७० मिटर हुनेछ् ।” भालेबासमा गत जेठ २५ गतेदेखि पहिलो अडिटको सुरुङ खन्न थालिएको थियो ।
पाँच किलोमिटर छ सय मिटर मुख्य सुरुङ र अडिट सहित यस आयोजनाले कुल सात किलोमिटर लामो सुरुङ बनाउने बरिष्ठ प्रबन्धक श्रेष्ठले बताउनुभयो । अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर फगामी लगायत जनप्रतिनिधी, स्थानीय अगुवा, प्रर्वद्धक कम्पनी, निर्माण कम्पनी, सुरक्षा निकायका प्रतिनिधीहरुको उपस्थितिमा धार्मिक बिधिपुर्वक पुजाआजा गरेर आयोजना सुरुङ निर्माण कार्यको शुभारम्भ गरिएको थियो ।

मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको पहिरा थाप्लामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा विद्युतगृह निर्माणको तयारी भएको छ । आयोजनाका निर्देशक रमण सिंहले आगामी चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले बर्खालगत्तै बाँध, सुरुङ र विद्युतगृह निर्माण कार्यलाई समानान्तर रुपमा अघि बढाउने बताउनुभयो ।
“सभिल ठेकेदार ‘एन्जेलिक इन्टरनेशलन’ र साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालित भइसकेको छ,” उहाँले भन्नुभयो “पूर्वतयारीको काम लगभग सकिएको छ । अब थप जनशक्ति र उपकरण परिचालन गरेर विद्युतगृह र बाँध निर्माणको तयारी गरेका छौ ।“
‘रन अफ द रिभर’ प्रकृतिको यस आयोजनाको एक किलोमिटर ‘पेनस्टक पाइपलाईन’ रहनेछ् । विद्युतगृह देखि आउटलेटको उचाई चार सय ८० मिटर रहेको छ । प्रर्वद्धक कम्पनी, ठेकेदार र नेपाली सेनाको कार्यालय, आवास र बिस्फोटक पदार्थ भण्डारण भवन तयार भएको छ । भालेबासमा नेपाली सेनाको क्याप्प स्थापना भएको छ ।
आठ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । आयोजना स्थलमा पुग्न गाडपारमा बेलिब्रिज जडानको तयारी भएको छ । घराप देखि दाना सम्म दुई सय २० केभी क्षमताको एक किलोमिटर प्रशारण लाइन निर्माण गरेर कालीगण्डकी गर्जको विद्युत केन्द्रिय प्रणालीमा आवद्ध गराइने भएको छ ।
रु. ४० अर्ब लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमी बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकको लगानी रहनेछ् । नारच्याङका वडा अध्यक्ष फगामीले कालीगण्डकी गर्ज म्याग्दी जिल्लाको हालसम्मकै ठुलो जलविद्युत आयोजना भएको बताउनुभयो । उहाँका अनुसार नारच्याङ भएर बग्ने नदीहरुमा एक सय ६२ मेगावाट क्षमताका पाँच वटा जलबिद्युत आयोजना निर्माण भएका छन् ।
पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२ र छ मेगावाट क्षमताको रेलेखोला जलबिद्युत आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् ।
नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युुत आयोजना निर्माणाधिन छ । नौ दशमलब १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलबिद्युत आयोजना निर्माण शुरु गर्ने तयारी गरेको छ ।
