
म्याग्दी, ः बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडक अन्र्तगत मंगला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत आयोजनाहरुको सहयोगमा संरक्षण गरिएको छ ।
दुखुखोलामा आएको बाढीले पुलको मंगला गाउँपालिका तर्फ रहेको पिल्लरको जग मुनीबाट खोला बग्न थालेको र पहुँचमार्ग कटान गरेर साघुरिएकाले यात्रुवाहक सवारी साधन र जलविद्युत आयोजनाहरुका सामाग्री बोकेका ठूला ट्रक गुड्ने पुल जुनसुकै बेला भासिएर दुर्घटना हुने जोखिम थियो ।
मालिका, धवलागिरी र तमानखोला गाउँपालिकाको बेनीसँग जोड्ने सडकमा यातायात सम्पर्क बिच्छेद हुन नदिनका लागि जलविद्युत आयोजनाहरुको सहयोगमा मर्मत र संरक्षण गरिएको जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले बताउनुभयो ।


उहाँका अनुसार ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको अपर म्याग्दी, ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१, २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला, १४ मेगावाट क्षमताको मुदीखोला र छ मेगावाटको दरखोला जलविद्युत आयोजनाले साझेदारीमा पुल मर्मत गरेका हुन् ।
“पुलको जोखिमका कारण आवत जावत ठप्प हुने अवस्था र निर्माण कार्य प्रभावित बनेपछि म्याग्दी नदी बेसीनका जलविद्युत आयोजनाहरुले साझेदारी गरेर संरक्षणको काम गरेका हुन्,” कार्यवाहक जिसस प्रमुख खत्रीले भन्नुभयो “सरकारी प्रक्रियाबाट ढिलाई हुने भएकाले जलविद्युत आयोजनाहरुको सहयोग मागिएको हो ।”
दुखुखोला पुलको जोखिमका कारण जलविद्युत आयोजनाहरुमा निर्माण सामग्री र उपकरण ढुवानीमा समस्या भएको थियो । अपर म्याग्दी–१ जलविद्युत आयोजनाका प्रमुख ज्योतीकुमार केसीले खोला डाइभर्सन, पुलको जगमुनी ढलाल र पहुँचमार्गमा ग्यावीयन पर्खाल लगाएर संरक्षण गरि सबै किसिमका सवारी साधन सञ्चालन गर्न मिल्ने बनाएको बताउनुभयो ।
संघीयता लागू हुनुअघि तत्कालीन जिल्ला प्राबिधिक कार्यालयले ठेक्का लगाएको २० मिटर लामो र छ मिटर फराकिलो यो पुल रु. दुई करोड छ लाखमा वि.स. २०७६ मा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको थियो । मालिका धुरीको फेदीमा मुहान रहेको दुखु ठाडोखोला हो ।
