
म्याग्दी, ः म्याग्दीको प्रदेश अस्पताल बेनीमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको छ । विशेषज्ञ चिकित्सकबाट नियमित रुपमा शल्यक्रिया तथा उपचार सेवा उपलब्ध हुन थालेपछि सामान्य शल्यक्रियाका लागि जिल्ला बाहिर जानुपर्ने म्याग्दीबासीको बाध्यता कम भएको छ ।
‘एमबिबिएस, एमएस’ (जनरल सर्जरी) चिकित्सक डा. अडिना बाटाजूबाट विशेषज्ञ जनरल सर्जरी सेवा उपलब्ध गराउन थालिएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार अस्पतालमा आवश्यक जनशक्ति र सेवा विस्तारसँगै स्थानीयस्तरमै विभिन्न प्रकारका शल्यक्रिया गर्न सकिने व्यवस्था मिलाइएको हो ।
“विशेषज्ञ जनरल सर्जरी सेवा विस्तार भएपछि म्याग्दीका बिरामीलाई सामान्य शल्यक्रियाका लागि पोखरा वा अन्यत्र जानुपर्ने अवस्था धेरै हदसम्म कम हुन्छ,” डा. बास्तोलाले भन्नुभयो, “अस्पतालमै विशेषज्ञ चिकित्सकबाट शल्यक्रिया र उपचार सेवा उपलब्ध गराउने हाम्रो उद्देश्य हो ।”
गाँठागुँठी, लिपोमा तथा सिस्टको शल्यक्रिया, हर्निया तथा हाइड्रोसिल, एपेन्डिसाइटिस तथा एपेन्डिक्सको शल्यक्रिया, पायल्स, फिसर तथा फिस्टुलालगायतका समस्या उपचार तथा शल्यक्रिया गरिने भएको छ ।


त्यस्तै घाउ तथा चोटपटकको उपचार तथा शल्यक्रिया, छाला तथा नरम तन्तुसम्बन्धी विभिन्न शल्यक्रिया र आकस्मिक तथा आवश्यक अन्य जनरल सर्जरी सेवा पनि उपलब्ध हुने अस्पतालले जनाएको छ ।
डा. बास्तोलाले अस्पतालमा उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गर्दै विशेषज्ञ सेवा विस्तारलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँका अनुसार बिरामीलाई जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा र पूर्वाधार क्रमशः विस्तार भइरहेको छ ।
“अस्पतालमा विशेषज्ञ सेवा विस्तार हुनु बिरामीका लागि मात्रै होइन, जिल्लाको स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारका लागि पनि महत्वपूर्ण हो,” उहाँले भन्नुभयो, “आवश्यकताअनुसार थप विशेषज्ञ सेवा विस्तार गर्दै जाने योजना छ ।”
विशेषज्ञ जनरल सर्जरी सेवा सञ्चालनमा आएपछि म्याग्दीका साथै छिमेकी पर्वतको जलजला क्षेत्र र बागलुङका केही भू–भागका बिरामीले समेत लाभ लिन सक्ने अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाले बताउनुभयो ।
