
बेनी, ः संविधान दिवस २०८३ को अवसरमा शनिबार म्याग्दीका स्रोत कक्षा र बालगृहलाई खाद्यान्न, शैक्षिक र खेलकुद सामग्री सहयोग गरिएको छ ।
संविधान दिवस मुल समारोह समिति म्याग्दीको आयोजना र समन्वयमा फरक क्षमताहरुले अध्ययन गर्ने दुई वटा स्रोत कक्षा तथा अनाथ बालबालिका आश्रित म्याग्दी बालगृहलाई सहयोग गरिएको हो ।

बेनी नगरपालिका–४ सिंगाको धवलागिरी माविको सुस्तश्रवण, वडा नम्बर ५ बगुवाखोलाको बालजागृति आधारभूत विद्यालयको वौद्धिक अपांगता र नेपाल बाल संगठनले बेनीमा सञ्चालन गरेको म्याग्दी बालगृहका बालबालिकाहरुलाई सहयोग गरिएको संविधान दिवस मुल समारोह समितिका संयोजक समेत रहेकी जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले बताउनुभयो ।

सामग्री वितरणका लागि म्याग्दी उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था महासंघ लगायत संघ संस्थाहरुले पनि सहयोग गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्य गोविन्द पौडेलले संविधान र संघीयता सहितको गणतान्त्रिक ब्यवस्थाको जगमा शुसासन र सम्बृद्धि हासिल गर्नका लागि आपसी सहकार्य र सद्भावमा जोड दिनुभयो ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी सहित जनप्रतिनिधी, विभिन्न राजनीतिक दलका प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी गणेश गैह्े लगायत सुरक्षा अधिकारी र कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो । शनिबार देखि तीन दिनसम्म बिबिध कार्यक्रम गरेर संविधान दिवस मनाउने तय भएको कार्यवाहक जिसस प्रमुख खत्रीले बताउनुभयो ।
