
बेनी, म्याग्दीको बेनी नगरपालिका–२ खबरामा आज नातीले हजुरआमाको हत्या गरेका छन् ।
खबराको दारिमपाटा टोलकी ७२ वर्षीय मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गर्ने उनका नाती (छोरीको छोरा) २६ वर्षीय आशिष बरुवाललाई बेनीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

घटनास्थलमा पुगेका प्रहरी निरीक्षक सागर तिमिल्सीनाले धारिलो हतियार प्रहार गरि हजुरआमा मनकुमारीको हत्या गरेर भाग्ने क्रममा बेनी बजार नजिकै हाँडेभिर स्थित प्रतिक्षालयबाट बरुवाललाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

मृतकको शव परिक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । पक्राउ परेका बरुवाललाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक तिमिल्सीनाले बताउनुभयो । केही समयअघि अमेरिकाबाट आएका बरुवाल जनैपूर्णिमाका दिन खबरा स्थित मामाघर आएका थिए । अभियुक्त बरुवाललाई सोमबारनै प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । ––– सन्तोष गौतम
फोटो पनि साथमा छ ।
