
म्याग्दी ः म्याग्दीका पर्यटन तथा उद्धारकर्मी इन्द्रसिंह शेरचन वि.स. २०६० मा पहिलो पटक अन्नपूर्ण आधारशिविर पुग्दा त्यहाँ पाँच वटा ताल प्रष्ट देखिन्थे ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुन्द्रि सतहदेखि चार हजार ५० मिटर उचाईमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकोमा शेरचनले अनौठो मान्नुभएको छ । “हिउँदका चार महिना बाहेक अन्य समयमा पाँच वटा कुण्डहरु देखिन्थ्ये,” उहाँले भन्नुभयो “अहिले पहिलेको जस्तो कुण्डहरु देखिन छाडेको छ ।”
पहिले तालको किनारै किनार हिडेर आरोही र भरियाहरु आधार शिविर पुग्ने गरेकोमा वि.स. २०६४ मा तिलिचो तालबाट हिउँपहिरो खसेर जनधनको क्षति गरेपछि चार हजार एक सय ९० मिटर उचाईमा अवस्थित हालको आधार शिविर प्रयोगमा ल्याइएको शेरचनले बताउनुभयो ।
अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा गोलो आकारको ताल रहेको छ । अन्नपूर्ण र तिलिचो हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर प्राकृतिक हिमताल बनेको हो । म्याग्दीको नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास भएको पञ्चकुण्ड हिमतालमा जलवायु संकटका छायाँ देखिन थालेको छ ।

अन्नपूर्ण गाउँपालिका–६ मा घर भएका पर्यापर्यटन सम्बन्धी अध्यता घनश्याम खड्का हिमपहिरोको जोखिम र तापक्रम वृद्धिको असरबाट पञ्चकुण्ड ताल पनि अछुतो नरहेको बताउनुहुन्छ । “एकिकृत पर्वतीय विकासका लागि अन्तराष्ट्रिय केन्द्र (इसिमोड)का विज्ञले उपलब्ध गराएको तथ्यांक अनुसार सन् २०१३ मा ० दशमलब ०४१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड हिमतालको आकार सन २०२५ मा बढेर ० दशमलब ३८८ बर्गकिलोमिटर पुगेको छ,” उहाँले भन्नुभयो “विगत १२ बर्षको अवधिमा अन्नपूर्ण हिमताल (पञ्चकुण्ड ताल)को आकार आठ सय ४६ प्रतिशतले विस्तार भएको इसिमोडको तथ्याङ्क छ ।”
वि.स. २०६७ मा अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग पहिचानका लागि नारच्याङका स्थानीयहरुको अगुवाई गरेर गएका अभियान्ता तेज गुरुङका अनुसार पाँच वटा कुण्ड देखिएपछि पञ्चकुण्ड नामाकरण गरिएको थियो । “शेर्पाहरुले ‘डिकिचो’ भन्ने यस ताललाई हामीहरुलेनै पञ्चकुण्ड नामाकरण गरेका हौ,” उहाँले भन्नुभयो “धार्मिक हिसाबले पनि यसलाई पञ्चकुण्ड भनिएको हो ।” शेर्पा भाषामा डिकिचोको अर्थ जमेको ताल हो ।
यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल भएको हिन्दू धार्मिक ग्रन्थ पञ्च रामायणमा उल्लेख छ । धर्मग्रन्थका अनुसार परापूर्वकालमा कागभुसुन्दी नाम गरेका एक जना ऋषिले तपस्या गरेर ज्ञान आर्जन गरेर यो तालका बारेमा विभिन्न ठाउँमा प्रचारप्रसार गरेका थिए ।
पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । ताललाई धार्मिक आस्थासँग जोड्न परिसरमा शिव मन्दिर निर्माण गरिएको छ । स्थानीयवासीले पञ्चकुण्ड नजिकै रहेको डाडाँलाई कागभुसुण्डी नामकरण गरेका छन् ।
वि.स. २०७७ देखि सञ्चालनमा आएको नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा पर्ने पञ्चकुण्ड ताल को विशेषता हिमाल, आधार शिविर र ताल एकैठाउँमा अवलोकन गर्न पाउनु हो ।

पर्यटकले तालको किनारमा टहलिएर शान्त वातावरणमा रमाउने र ध्यान गर्छन् । कोही ताल र हिमाललाई पृष्ठभूमिमा पारेर तस्विर, भिडियो खिच्ने र सामाजिक सञ्जालका सामग्री बनाउँछन् । तीन वर्षअघिसम्म यो ठाउँ सुनसान थियो । प्राकृतिक सौन्दर्य र धार्मिक महत्व स्थानीयस्तरमा सीमित थियो । मौरिस हर्जोग पदमार्गमा आधारभूत पूर्वाधार निर्माण भएर सञ्चालनमा आएसँगै पञ्चकुण्ड तालमा चहलपहल बढेको हो ।
अभियान्ता गुरुङ हिउँदमा हिउँ जम्ने र गर्मी याममा निलो देखिने तालमा चैत महिनामा मात्र पाँच वटा कुण्ड देख्न सकिने भएपनि क्षेत्रफल बढेको र जोखिम हुने विषयप्रति भने असहमति जनाउनुहुन्छ । “अहिलेसम्म अन्नपूर्ण आधार शिविरबाट बग्ने खोलामा बाढी आएको इतिहाँस छैन र तालको क्षेत्रफल बढेको होइन् गहिरिएको हो,” उहाँ भन्नुहुन्छ “विज्ञहरुले स्थलगत अध्ययन नगरि पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन् ।”
पञ्चकुण्डको पानी बग्ने मिस्त्रीखोला नारच्याङमा आएर कालीगण्डकी नदीमा मिसिन्छ । यो खोलाको पानी प्रयोग गरेर एक सय ५२ मेगावाट क्षमताका तीन वटा जलविद्युत आयोजना निर्माण भएका छन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पञ्चकुण्ड तालको विषयमा हालसम्म अध्ययन अनुसन्धान नभएको बताउनुभयो ।
“विश्वब्यापी तापक्रम वृद्धिको असर देखिन थालेकाले पञ्चकुण्ड तालको जोखिमको अवस्थाका विषयमा अध्ययन गर्नुपर्ने महशुस गरेका छौ,” उहाँले भन्नुभयो “हामीसँग स्रोत साधन र विज्ञ जनशक्ति नभएकाले संघीय सरकारसँग अध्ययन अनुसन्धानका लागि अनुरोध गर्ने सोचेका छौ ।”
विश्वको औसत तापमान १.५ प्रतिशतले बढ्दा हिमालय क्षेत्रमा १.८ देखि दुई डिग्री सेल्सियससम्म बढ्ने गरेको अध्ययनले देखाएको छ । विश्वव्यापी तापमान वृद्धिका कारण हिमालय क्षेत्रमा हिमगलन बढ्नुका साथै नयाँ हिमताल थपिने, विस्तार हुने र विस्फोटन हुन दर बढिरहेको छ ।
कम वर्षा र हिमपात उच्च हुने हिमाली क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा उच्च वर्षा हुँदा बाढीपहिरोका घटना बढिरहेका म्याग्दी समेत कार्यक्षेत्र भएको भू–तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वतका बरिष्ठ जलाधार संरक्षण अधिकृत शम्भुकुमार मिश्रले बताउनुभयो ।
उहाँका अनुसार गण्डकी प्रदेश सरकार मातहतको ताल प्राधिकरणले पञ्चकुण्ड लगायत प्रदेशभरका सबै ताल तलैयाको विद्युतीय प्रोफाइल तयार पारेको छ । हालसम्म यस हिमतालको विस्तृत भौगोलिक जोखिम मुल्याङ्कन भएको छैन ।
अन्नपूर्ण हिमनदी तिव्र खुम्चाइ, पर्माफ्रोष्टको छिटोछिटो पग्लनेक्रमले ताल क्षेत्र वरपरको थर्मोकाष्टको अवस्थाको ल्याण्डसट, सेन्टिनेल प्रयोगगरी अध्ययन मात्र हैन, तालको गहिराई, मोरिन बाँधको भौगोलिक अवस्थिती आदी पत्ता लगाउन जियो राडडर (जिपिआर), सिस्मिक र विधुतिय इआरटी उपकरण मार्फत अध्ययन आवश्यक देखिएको छ ।
गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता पुर्णेश्वर सुवेदीले जलवायु परिवर्तनले पारेको असरका बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउन यस वर्ष कालीगण्डकी बेसिनमा जलवायु सम्वाद कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।
“औद्योगिक देशहरुको कारण तापक्रम वृद्धिमा भएको असर हिमाली क्षेत्रमा देखिएको मुद्दालाई अन्तराष्ट्रियकरण गर्न कालीगण्डकी जलवायु सम्वाद कार्यक्रम आयोजना गर्न लागिएको हो,” उहाँले भन्नुभयो “जलवायुजन्य विपद्को जोखिमयुक्त क्षेत्र पहिचान गरेर प्रबिधियुक्त पूर्वअनुमान प्रणाली प्रयोगमा ल्याउनुपर्ने महशुस गरेका छौ ।”
