
बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाका किसानले व्यवसायिक चौरीपालन शुरु गरेका छन् ।
धौलागिरि हिमालको फेदीमा रहेको चिमखोलाका तीन जना किसानले सामुहिक रुपमा पालिकामै पहिलो पटक चौरीगाईपालन शुरु गरेका हुन् । कालीबराह कृषि तथा पशुपंक्षी फार्म मार्फत स्थानीय धनप्रसाद गर्बुजा, धनकुमारी पुर्जा र प्रदिप पाइजाले चौरीपालन गर्नुभएको हो । उच्च, मध्य पहाडी र हिमाली क्षेत्रमा समेटिएको रघुगंगामा यसअघि चौरीपालन भएको थिएन् ।
“म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–५ स्वाँतबाट ९८ वटा चौरी ल्याएर कुइनेमंगलेको हिमाली क्षेत्रमा पर्ने रिखारमा चराउन लगेका छौ,” धनप्रसादले भन्नुभयो “पर्याप्त चरनक्षेत्र भएको, खेती हुन छाडेर बाँझिएका जमिनलाई उपभोग गर्न सकिने, अनुकुल हावापानी र मौसम तथा बजारको सम्भावना भएकाले चौरीपालन गरेका हौ ।”


याकको मासु र चौरीको दूधबाट छुर्पी बनाएर बिक्री गर्ने लक्ष्य रहेको फार्मका सञ्चालक धनप्रसादले बताउनुभयो । उहाँका अनुसार चौरीपालनमा तीन जनाको रु. ६० लाख लगानी भएको छ । नयाँ जन्मने बाच्छाबाच्छी हुर्काउदै फार्ममा चौरीगाईको संख्या बढाउदै लैजाने लक्ष्य राखिएको छ ।
धनप्रसाद गाउँमै खेती किसानी, गाईभैसी र बंगुरपालन गरेर बस्दै आउनुभएको छ । धनकुमारी बेनीमा होटल ब्यवसाय र प्रदिप निर्माण ब्यवसायी हुनुहुन्छ । उहाँहरुले चौरी फार्ममा एक जनालाई रोजगारी पनि दिनुभएको छ । बर्खामा हिमाल फेदीको बुकीमा लगिने चौरीका लागि हिउँदमा बेशीका फाँटमा चरनको सुविधा रहेको छ ।
समुद्री सतहदेखि दुई हजार मिटर देखि पाँच हजार मिटर सम्मको उचाईको हिमाली क्षेत्र चौरीपालनका लागि उपयुक्त मानिन्छ । चौरीगाईलाई परम्परागत समाजमा हिमाली क्षेत्रमा दुध उत्पादन, सामान ढुवानी तथा मासुको लागि पाल्ने गरेको पाइन्थ्यो ।
डोल्पा, हुम्ला, मुगु, जुम्ला, मुस्ताङ्ग, मनाङ्ग, लम्जुङ्ग, गोरखा, सिन्धुपालचोक, दोलख, रामेछाप, सोलुखुम्बु, सखुवासभा, ताप्लेजुङ्ग, पाँचथर, ओखलढुङ्ग र रसुवाको हिमाली क्षेत्र पर्ने माथिल्लो मुख्य स्थानहरू चौरीगाईको पकेट क्षेत्र हुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोपारा क्षेत्रमा वि.स. २०६० को दशकदेखि चौरीपालन हुदै आएको छ । देशभर करिब ११ हजार पाँच सय चौरीगाई रहेको पशुपंक्षी मन्त्रालयको तथ्यांक रहेको छ ।
