
म्याग्दी, ः म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको पन्थोक र जुग्जामा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ ।
नेपाल विद्युत प्राधिकरणको उज्यालो म्याग्दी कार्यक्रम मार्फत पन्थोक र जुग्जामा केन्द्रिय लाइनको विद्युत विस्तारका लागि एक सय केभीए क्षमताको ट्रान्सफर्मर जडान भएको हो ।

मुख्य, शाखा लाइन विस्तार र ट्रान्सर्फर चार्ज सफल भएको निर्माण कम्पनी न्यु ढुंगाना निर्माण सेवाका सञ्चालक दिनेश ढुङ्गानाले जानकारी दिनुभयो । उपभोक्ताले मिटर जडान र वायरिङ गरेर बिजुली बाल्न सक्ने उहाँले बताउनुभयो ।

एक सय ३२ घरपरिवारको बसोबास रहेको पन्थोकमा गौडाखोला लघुजलविद्युत परियोजना र ७२ घरपरिवारको बसोबास रहेको जुग्जामा पेल्ट्रिक सेटबाट बिजुली बाल्दै आएका छन् । लघुजलविद्युत परियोजना र सौर्य उर्जाबाट उज्यालोका लागि बिजुली बालेपनि केन्द्रिय लाइन विस्तारमा ढिलाई हुँदा कम्युटर, मिल, उद्योग ब्यवसाय सञ्चालन तथा सार्वजनिक सेवा प्रवाहमा असर परेको थियो ।
नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्र्तगत पन्थोक र जुग्जा लगायतका म्याग्दीका १४ स्थानका दुई हजार एक सय ८३ घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तारको लागि पोल गाड्ने, तार तान्ने, ट्रान्सफर्मर जडान गर्ने काम गर्न वि.स. २०८१ असोजमा बेनीको न्यू ढुंगाना निर्माण सेवाले ठेक्का लिएको थियो ।
