
पोखरा ः म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरुले तिज पर्वको अवसरमा दरखाने उद्देश्यले संकलन गरेको रकम भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहयोग गरेका छन् ।
धवलागिरी गाउँपालिका–१ गुर्जा र वडा नम्बर ५ मल्कवाङ घर भई हाल पोखरा बसोबास गर्ने छन्त्याल समुदायका दिदिबहिनीहरुले रु. एक लाख ५० हजार प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरेका हुन् ।

गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याल मार्फत शनिबार गुर्जाको चौतारे छन्त्याल महिला समूहबाट रु. २५ हजार, बंगाले छन्त्याल महिला समूहबाट रु. २५ हजार र मल्कवाङ–मलम्पारका घरम्जा थरका छन्त्याल दिदिबहिनीहरुले रु. एक लाख जम्मा गरेका हुन् ।

तिजको दरखानका लागि छन्त्याल दिदिबहिनीहरुले जम्मा गरेको रकम सरकार मार्फत बाढी पिडितलाई सहयोग गरेको गुर्जाको चौतारे–बंगाले छन्त्याल महिला समुहका प्रेमकुमारी छन्त्यालले बताउनुभयो ।
मल्कवाङ–मलम्पार घरब्जा महिला समूहका अध्यक्ष चिनाकुमारी छन्त्यालले दरखानका लागि संकलन गरेको रकम प्रधानमन्त्री राहत तथा उद्दार कोषमा जम्मा गरेको बताउनुभयो ।
