
बेनी ः बाढी पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत आयोजनाहरु निर्माण कार्य प्रभावित भएको छ । २० मेगावाट क्षमताका दुई वटा आयोजना बन्द भएका छन् ।
सडकमार्गको असहजताका कारण निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी नहुँदा धवलागिरी गाउँपालिकामा निर्माणाधिन चार वटा जलविद्युत आयोजना प्रभावित भएका हुन् । ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी –१, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी, ६५ मेगावाटको म्याग्दीखोला, १४ मेगावाटको मुदीखोला र छ दशमलब पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत आयोजना निर्माण कार्य प्रभावित भएको छ ।
यसैगरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन नौ दशमलब १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजना निर्माण स्थल पनि यातायात सम्पर्क बिच्छेद भएको छ । नारच्याङको रेलेखर्क क्षेत्रबाट आएको बाढी बाँधमा थुप्रिदा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना गत असार अन्तिम सातादेखि बन्द भएको छ ।
गत साउन २६ गते सुख्खा पहिरोले विद्युतगृह पुरिएपछि अन्नपूर्ण गाउँपालिका–६ मा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पनि विद्युत उत्पादन ठप्प भएको छ । उक्त पहिरोमा पुरिएर एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

अपर म्याग्दीखोला –१ का आयोजना प्रमुख ज्योतीकुमार केसीले घुमाउने (फापरखेत), बाङ्गेपहिरो, इल्पुमा पहिरो र शिवरात्री खोलामा बाढी आएपछि असार महिनायता सिमेन्ट, रड जस्ता निर्माण सामग्री का साथै उपकरणहरु बोकेका गाडीहरु आयोजना निर्माण स्थलमा पुग्न नसकेका बताउनुभयो ।

“भएका उपकरण र मौजुदा निर्माण सामग्री परिचालन गरेर कामलाई निरन्तरता दिएका छौ,” उहाँले भन्नुभयो “बाढी पहिरोका कारण निर्माण सामग्री ढुवानी प्रभावित हुँदा अपेक्षाकृत गतिमा काम गर्न सकेका छैन् ।” शिवरात्रीखोलामा पूर्वाधार विकास कार्यालय मार्फत सञ्चालित मोटरेबल पुल निर्माण योजनामा ढिलाई हुँदा बर्खायाममा सवारी साधन वारपार ठप्प हुने गरेको छ ।
खोलामा बाढीको सतह बढ्ने, पहुँचमार्गमा पहिरो खस्ने समस्याले निर्माण कार्यमा असर परेको म्याग्दीखोला जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृत वुद्धिराज अधिकारीले बताउनुभयो । “वैकल्पिक उपाय र मौजुदा सामग्री परिचालन गरेर काम गर्नुपर्दा निर्माणको गतिमा असर परेको छ,” उहाँले भन्नुभयो “डोजरको सहायताले सामान ढुवानी गर्ने गाडी तार्ने, पहिरो पन्छाउदै सवारी साधन पार गराउदै गर्नुपर्ने बाध्यता छ ।”
६० प्रतिशत भौतिक प्रगति भएको ३७ मेगावाटबाट क्षमता बढाएर ४६ दशमलब २५ मेगावाट बनाउने प्रक्रियामा रहेको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाले पनि बाढी पहिरोका कारण निर्माण कार्यमा असर परेको जनाएको छ ।
आयोजना प्रमुख रमेश सुवेदीले शिवरात्रीखोला र छहरीखोलामा साना सवारी साधन आवत जावतमा समस्या भएको बताउनुभयो । ठाउँ ठाउँमा गाडी परिवर्तन गराएर ढुवानी गर्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ । धारापानी–बगर–भारवाङ सडक पनि बर्षातका कारण प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको छ । स्थानीयबासी भुवानी पौडेलले रातोखोलाले धार परिवर्तन गरेर सडकबाट बगेका कारण सडक छियाछिया बनेको र आवत जावतमा समस्या भएको बताउनुभयो ।
बेनी–दरवाङका साथै दरवाङ–धारापानी–ताकम–मुना सडकमा पर्ने थापाचौर, गौथली, दाचौर भिरको पहिरोका कारण निर्माण सामग्री ढुवानी गर्न नपाएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले बताउनुभयो ।
फलीयागाउँ र दरको सिमानामा रहेको दरखोलामा बाढी आएका कारण सवारी साधन वारपार गर्न सकेका छैनन् । स्थानीयबासीहरुलाई आवत जावतमा समस्या भएको छ । डोजरको सहायताले खोला घटेको समयमा ट्याक्टरमा सामान तार्ने गरिएको छ ।

