
म्याग्दी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरो भारत र चिनलाई जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको मुख्य चुनौति बनेको छ ।
उत्तरी म्याग्दीका रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुदै हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम चिन र भारत जोड्ने सडक पनि हो ।
कालीगण्डकी नदीको तिर देखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बिचमा रहेको सडकमा यातायात सञ्चालनमा समस्या भएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले सिरुवारी पहिरोले बर्खायाममा बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको बताउनुभयो ।

“सामान्य बर्षा हुनेवित्तिकै पहिरो खसेर सडक अवरुद्ध हुनुका साथै साँघुरो र हिलाम्मे सडकमा जोखिम मोलेर सवारी साधन वारपार गर्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो “सवारी साधन गुडिरहेको र यात्रु हिडिरहेको अवस्थामा माथिबाट ढुङ्गा खस्ने चोटपटक लाग्ने, क्षति पुग्ने गरेकाले सावधानी अपनाएर यातायात सञ्चालन गर्नुपर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।”
अध्यक्ष पुनले सिरुवारी पहिरो नियन्त्रण र यातायात ब्यवस्थापनका लागि दुई वटा विकल्प अघि सारिएको बताउनुभयो । सिरुवारी देखि अन्नपूर्ण गाउँपालिकाका तर्फ दुई वटा बेलिब्रिज जडान गरेर अस्थायी रुपमा यातायात सञ्चालन र दिर्घकालिन समाधानका लागि पहिरो नियन्त्रण आयोजना सञ्चालन गर्नुपर्ने अध्यक्ष पुनले बताउनुभयो ।

सडक मुनी कालीगण्डकी नदी छ भने करिब आठ सय माथि र दुई सय मिटर चौडाईको पहिरो छ । पाखो पहिरोमा परिणत भएको छ । माझखर्कको बस्तिमा पनि जोखिम बनाएको छ । कोरला नाकामा सामान लिन जाने र आउने ठूला कन्टेनरहरुले पनि यही सडक प्रयोग गर्छन् ।
मुस्ताङ जाने आउने यात्रुबाहक बस र गाडीहरुको सिरुबारी पहिरोमा जाम हुने गरेको छ । गाडी फस्ने र साँघुरो भएकाले जाम हुने गरेको छ । साँघुरो भएकाले पहिरो क्षेत्रमा दुईतर्फी यातायातका साधन सञ्चालन गर्न सकिदैन् । बर्खायाम शुरु भएयता यस वर्ष बेनी–जोमसोम सडक सबैभन्दा धेरै सिरुवारीमा अवरुद्ध भएको छ ।
बेनी–जोमसोम–कोरला सडक योजना कार्यलयका प्रमुख तेजस्वि शर्माले पहिरो नजिकै डोजर र लोडर तयारी अवस्थामा राखेको छ । पछिल्लो ती वटा बर्खायामभरी पहिरो पन्छाउदै यातायात सञ्चालन गर्दै आएको छ । दुई हप्ताअघि सिरुवारीमा खसेको पहिरोले सडक विभागको एक वटा डोजरमा क्षति गरेको थियो ।
योजना कार्यालयले गत हिउँदा सिरुवारी पहिरोको अस्थायी रोकथामका लागि ‘बेन्चिङ’ बिधी अपनाएको थियो । यसपाली ‘बेञ्चिङ’ गरेको भन्दा फरक ठाउँ खोल्सा क्षेत्रमा पहिरोले सताएको छ । असार अन्तिम साता मुस्ताङबाट फर्कने क्रममा पूर्वाधार मन्त्री सुनिल लम्सालले सिरुवारी पहिरो अवलोकन गर्नुहुदै चालु आर्थिक वर्षभित्रनै रोकथामको काम शुरु गर्न बजेटको ब्यवस्थापन गरिने प्रतिवद्धता जनाउनुभएको थियो ।
लम्साल लगत्तै यही साउन २ गते गृहजिल्ला आउनुभएका विज्ञान, प्रबिधी तथा नवप्रर्वतन मन्त्री महाविर पुनले पनि अन्तरदेशीय ब्यापारिक मार्गमा पर्ने सिरुवारी पहिरोको दिर्घकालिन समाधानका लागि सरकारले काम अघि बढाइसकेको बताउनुभयो । आयोजना प्रमुख शर्माले भूगर्वविद्हरुको टोलीबाट पहिरोको अनुसन्धान गरि रोकथामको आयोजना सञ्चालन गरिने बताउनुभयो ।
गलेश्वर, चमेरे, महभिर, भिरकाटे, बैसरी, गुइठेभिर, लामभिक्ता, लाटाखोला क्षेत्रमा पहिरो रोकथाम तथा रुप्से क्षेत्रको पहिरो प्रभावित क्षेत्रमा सडक ढलान गर्ने गत आर्थिक वर्षमा सम्झौता भएका योजनाहरु बर्खायाममा पनि निर्माण कार्यलाई निरन्तरता दिइएको बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी जेमकुमार बैठाले बताउनुभयो ।

