
म्याग्दी, ः जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा आज राती यातायात सञ्चालनमा रोक लगाएको छ ।
बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड र बेनी–दरवाङ सडकमा आज साँझ पाँच बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि यातायात सञ्चालन बन्द गरिएको कार्यालयले सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौबाट प्राप्त भएको मौसम पूर्वानुमान सम्बन्धी सूचना अनुसार म्याग्दीमा आज राती भारी बर्षाको सम्भावना भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरि सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिनुभयो ।

स्तरोन्नतिको क्रममा रहेका बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरो खस्ने, नदीले कटान गर्ने समस्या छ । रातीको समयमा यातायात सञ्चालन गर्दा दुर्घटनाको जोखिम हुने भएकाले सतर्कता अपनाइएको प्रजिअ आचार्यको भनाई छ ।
बेनी–जोमसोम सडक म्याग्दीको सदरमुकाम बेनी देखि उत्तरी क्षेत्रमा पर्ने रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने एकमात्र स्थलमार्ग हो । बेनी–दरवाङ सडकले धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ ।

