
पोखरा, । म्याग्दीको धवलागिरी गाउँपालिकाले पोखरामा अस्थायी रूपमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गरी घुम्ती शिविरमार्फत सेवा दिएको छ ।
पालिकाले यही साउन २७ गते एक दिनका लागि आयोजना गरिएको शिविरमा सेवाग्राहीको चाप बढेपछि गाउँपालिकाले सेवा प्रवाह थप एक दिन थपेको छ ।
गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार पोखरामा अस्थायी रूपमा बसोबास गर्दै आएका पालिकावासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो । शिविरमार्फत सामाजिक सुरक्षा भत्ता नवीकरण देखी पञ्जीकरणका सेवा प्रदान गरिएको छ ।
सामाजिक सुरक्षा भत्ताका लागि गाउँपालिकामै नाम दर्ता भएका तर हाल पोखरा तथा आसपासका क्षेत्रमा बसोबास गरिरहेका ज्येष्ठ नागरिक, अशक्त तथा बिरामी लाभग्राहीलाई विशेष गरी बर्खाको समयमा गाउँसम्म पुगेर सेवा लिन कठिन हुने भएकाले जनप्रतिनिधि र कर्मचारीनै सहर झरेर सेवा दिन थालेको अध्यक्ष पुनले बताउनुभयो ।
“धवलागिरी गाउँपालिका स्थायी घर भएर हाल पोखरामा बसोबास गरिरहनुभएका र बसाइँसराइ नगर्नुभएका नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्यले कार्यक्रम गरेका हौँ । सामाजिक सुरक्षा भत्ता नवीकरणसँगै वडामा हुने पञ्जीकरणका कामसमेत शिविरबाट प्रदान गरेका छौँ,” गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो ।
गाउँपालिकाबाट प्रदान हुने सेवा तथा सुविधाबाट कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्य रहेको उहाँको भनाइ छ । आवश्यकताअनुसार गाउँपालिकाले कतिपय सेवाग्राहीको घर तथा अस्पतालमै पुगेर समेत सेवा प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाका अनुसार पोखरामा दुई दिनसम्म सञ्चालन हुने शिविरबाट २५० भन्दा बढी सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ । गाउँमा रहेको स्थानीय सरकारको सेवा लिन गाउँनै पुग्नुपर्ने बाध्यताबीच सहरमै सेवा पाएपछि धवलागिरीका पोखरावासीका लागि यो शिविर सहजताको माध्यम बनेको वडा नं ७ का वडाध्यक्ष अशोक खत्री बताउनुहुन्छ ।
विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्ता भएका व्यक्ति, अशक्त तथा बिरामीका लागि बर्खाको कठिन यात्राबाट जोगाउँदै नजिकैबाट सरकारी सेवा उपलव्ध गराउन सफल भएको खत्रीले बताउनुभयो । “ गाउँपालिकाले यसरी सहरमा आएर सेवा दिन थालेपछि पोखरा तथा काठमाडौँमा बसाईसराई गरेर लैजाने क्रम घटेको छ । गाउँमा बस्ने मानिसहरु घटेपनि बसाइसराईनै रोकिएको छ” खत्रीले भन्नुभयो ।
पोखरामा सेवा दिनका लागि धवलागिरीका सात वडै वडाका वडाध्यक्ष, वडा सचिव, जनप्रतिनिधिहरु तथा कर्मचारी आएका छन् । यसअघि गत शनिबार काठमाडौमा पनि घुम्ती शिविर सञ्चालन गरेर सेवा दिइएको थियो ।

