
बेनी, ः बेनी स्थित प्रदेश आयुर्वेद चिकित्सालयले बुधबारदेखि एक वर्षदेखि पाँच वर्ष मुनीका बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउन थालेको छ । गण्डकी प्रदेश, स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत स्वर्णबिन्दु प्राशन कार्यक्रम शुरु भएको हो ।
चिकित्सालयका प्रमुख कमलराज अधिकारीका अनुसार म्याग्दीमा चालु आर्थिक वर्षबाट सुरु गरिएको यो कार्यक्रम मार्फत हरेक महिनाको एक दिन स्वर्णबिन्दु प्राशन गराइनेछ ।
स्वर्णबिन्दु प्राशन, जसलाई सुवर्ण प्राशन वा स्वर्ण प्राशन पनि भनिन्छ । यो एक परम्परागत आयुर्वेदिक औषधि हो । यसले बालबालिकाको समग्र स्वास्थ्य र प्रतिरक्षा (युमिनिटी) प्रणालीलाई सबल बनाउने चिकित्सालयका प्रमुख अधिकारीको भनाइ छ ।


“यसलाई स्वर्ण (सुनको) भस्मका साथमा ब्राह्मी घृत, मह मिलाएर खुवाइन्छ,” उहाँले भन्नुभयो “बालबालिकाको उमेरअनुसार दुईदेखि पाँच थोपा खुवाइन्छ । ब्राह्मी एउटा जडीबुटी रहेको र जसले बालबालिकाको मानसिक विकासमा सकारात्मक प्रभाव पार्छ ।”
स्वर्णबिन्दुले बालबालिकाको प्रतिरक्षा प्रणालीको सुधार गर्नाका साथै बुद्धिको विकास, स्मरण शक्ति बढाउँछ । बालबालिकाको पाचन शक्ति राम्रो गराउँछ भने बल र आयु बढाउँछ । समग्र शारीरिक र मानसिक स्वास्थ्य प्रवद्र्धनमा स्वर्णबिन्दु प्राशन महत्वपूर्ण मानिन्छ ।
स्वर्णबिन्दु प्राशन महिनामा एक पटक खाली पेटमा दिनुपर्छ । यो ३० मात्रासम्म खान राम्रो मानिन्छ । यो सामान्यतया एक वर्षदेखि पाँच वर्षको उमेरसम्मका बालबालिकालाई ख्वाउने गरिन्छ । “नियमित लगाउनुपर्ने अन्य खोपहरु लगाइरहे जस्तै स्वर्णबिन्दु प्राशन पनि नियमित खुवाउनुपर्दछ, एक पटक मात्रै खुवाएर हुँदैन”, उहाँले भन्नुभयो ।

