
बेनी, । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीका बासिन्दाहरुले छुट्टै वडा बनाउन माग गरेका छन् ।
स्थानीय तह र वडाको सिमाना हेरफेरको विषयमा छलफलका लागि मंगलबार हिदीमा भएको स्थानीयबासीहरुको भेलाले छुट्टै वडा माग गर्ने निर्णय गरेको हो । वडा सदस्य जगबहादुर पुर्जाको उपस्थितमा भएको भेलाको निर्णय बिहिबार वडा कार्यालय र गाउँपालिकामा जानकारी गराइने राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति खेमराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार भेलाले एक सय १५ घरधुरी भएको हिदीलाई मंगला गाउँपालिकाको नयाँ वडा बनाउन र छुट्टै वडा हुन नसके वडा कार्यालयको सुविधा टोलबाटै हुने ब्यवस्थाको सुनिश्चितता माग गरेका छन् ।

वि.स. २०७२ को संविधान जारी भएपछि गरिएको स्थानीय तहको पुनसंरचनाको क्रममा साविक दरवाङ गाविसको ४ नम्बर वडामा पर्ने खात्रुङखोला, छयाली, कहुँ गाविसको ९ नम्बर वडाको हिदी र बाबियाचौर गाविसको ९ नम्बरमा पर्ने तल्लो हिदीलाई मंगला गाउँपालिकाको २ नम्बर वडामा समावेश गरिएको थियो ।

बाबियाचौरमा रहेको वडा कार्यालयमा पुगेर सेवा लिन अपायक परेका कारण सरकारको पछिल्लो निर्णय अनुसार स्थानीय तहको संख्या र सिमाना हेरफेरका लागि सुझाव पेश गर्न टोल स्तरमा सुझाव लिने क्रममा हिदीबासीले छुट्टै वडा माग गरेका हुन् । हिदीका सबै संघ संस्था र राजनीतिक दलका प्रतिनिधीहरुले सर्वसम्मत रुपमा वडा माग गर्ने निर्णय गरेका हुन् ।
वडा कार्यालयको साथै स्वास्थ्य, पशुसेवा, कृषि, प्रशासनिक सेवाका लागि बायबाचौर जानआउन दुई घण्टा पैदल तथा डेढ घण्टा कच्चि सडकमा यात्रा गर्नुपर्ने हिदीको समस्या रहेको छ ।

