
पोखरेबगर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहमा मंगलबार बिहान पहिरोले पुरिदाँ एक जनाको मृत्यु भएको छ ।
विद्यूतगृहमा कार्यरत एक जना प्राबिधिक घाइते भएका छन् भने एक जनाको सकुशल उद्दार गरिएको छ । म्याग्दी हाइड्रोपावर प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहका उपकरणमा क्षति पुगेपछि उत्पादन बन्द भएको छ ।
पहिरोमा पुरिएर वेपत्ता भएका विद्युतगृहमा सुरक्षागार्डको रुपमा कार्यरत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरका ५५ वर्षीय दिपक बरुवाल (खेमराज) को कार्यस्थलमै शव भेटिएको प्रहरी निरीक्षक सागर तिमिल्सीनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान ३ः३५ को समयमा विद्युतगृह माथिबाट खसेको ढुंगा माटो सहितको सुख्खा पहिरोमा पुरिएका बरुवालको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बलको टोलीले डोजर परिचालन गरेर एक घण्टाको प्रयासमा निकालेर परिक्षणका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको छ ।
झ्यालबाट हाम फालेर ज्यान जोगाए
विद्युतगृहमा काम गरिरहेको अवस्थामा एक्कासी पहिरो खसेपछि झ्यालबाट हाम फालेर भाग्ने क्रममा घाइते भएका इलेक्ट्रिकल ओभरसियर गौरीगंगा नगरपालिका –५ का ३१ वर्षीय सुरेन्द्र बि.क.को प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ ।

सिफ्ट इञ्चार्ज समेत रहेका अर्का इलेक्ट्रिकल ओभरसियर पाल्पाको निस्दी गाउँपालिका–५ का २४ वर्षीय छवीलाल अर्यालले विद्युतगृहमा थुनिएको अवस्थामा रसिको सहायताले बाहिर निस्कन सफल भएको बताउनुभयो ।
“कन्ट्रोल रुममा डियुटी गरिरहेको अवस्थामा खस््याक्क गरेको आवाज आएपछि भुईतलामा रहेका सुरेन्द्रलाई खबर गरेर भाग्दा भाग्दै दुई सेकेण्डले पहिरोबाट बचे,” उहाँले भन्नुभयो “झ्यालबाट हाम फालेर क्याम्पमा पुगेका सुरेन्द्रले साथी र सुरक्षाकर्मीलाई खबर गरेपछि बिहान ४ बजेतिर मलाई रसी दिएर बाहिर निकाल्नुभएको हो । चोटपटक नलागेपनि पहिरोले पुरिएको विद्युतगृहभित्र २०–२५ मिनेट के–भयो केही पत्तैm पाइन, नयाँ जिवन पाएको महशुस गरेको छु ।”
आयोजना बन्द
पहाड काटेर बनाइएको विद्युतगृह भन्दा माथि रहेको पहाड भत्किएर पहिरो खसेको छ । अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडाको सिमाना कुरिलाबगरमा बाँध रहेको आयोजनामा तीन हजार पाँच सय मिटर लामो सुरुङबाट ल्याइएको पानी चार सय ८५ मिटर उचाईबाट एक हजार दुई सय मिटर लामो पेनस्टक पाइपमार्फत विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिएको थियो ।
वि.स. २०७४ देखि निर्माण शुरु भई वि.स. २०८० असार महिनादेखि विद्युत उत्पादन थालेको आयोजनाले सर्वसाधारणका लागि सेयर जारी गर्ने अन्तिम तयारीमा रहेको अवस्थामा प्राकृतिक विपद्का कारण क्षति ब्यहोर्नुपरेको हो । प्रहरी निरीक्षक तिमिल्सीनाले आयोजनामा पुगेको क्षतिको मूल्याङ्कन शुरु गरिएको र पूर्ण विवरण आउन केही समय लाग्ने बताउनुभयो ।
पोखरेबगरबासी शोकमा
पोखरेबगरका बासिन्दा समेत रहेका अन्नपूर्ण गाउँपालिकाका जनस्वास्थ्य अधिकृत समुन्द्र बरुवालले नसोचेको ठाउँबाट सुख्खा पहिरो खसेर जनधनको क्षति पुगेको बताउनुभयो । रातीको समयमा प्रवेशद्धारमा बसेर जिम्मेवारी निर्वाह गरिरहेका दिपकको भाग्दा भाग्दै ज्यान गएको घटनाले गाउँपालिकाको केन्द्र पोखरेबगर शोकमा डुबेको बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले सहयोगी र स्वदेशमै केही गरौ भन्ने भावनाले संघर्ष गरिरहेका एक जना वडाबासीलाई गुमाउनुपर्दा दुःख लागेको प्रतिक्रिया दिनुभयो । आयोजना र मृतकका परिवारबीच क्षतिपुर्ति उपलब्ध गराउने सहमति भएपछि शव परिक्षणका लागि अस्पताल पठाइएको हो ।

