
दाना(म्याग्दी), ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको तितरकी कमला केसीको आँखा चार दिनयता ओभाना छैनन् ।
बाल्यकालमा हुर्काएको, एउटै आगनमा खेलेको, सँघै जोडिएको घरमा जन्मिएका छामाको छोरा भाई निर्मल पुर्जा लगायत १० जना पर्वतारोही टोली पाकिस्तानको ब्रड पिकमा वेपत्ता भएको खबर सामाजिक सञ्जाल ‘फेसबुक’ र सञ्चार माध्यममा देख्दा कमलालाई केही समय पत्यार लागेन् ।
‘बेलायतमा रहेका माइला दाई कमल पुर्जालाई सोधेर निर्मल सहित आरोहण टोलीका सदस्यहरु वेपत्ता भएको पुष्टि पुष्टि गरेपनि साहासी र अनुभवी भएकाले निर्मल जिवितै फर्कने आश थियो,’ उनले भनिन् ‘निर्मल जिवितै फर्किने हामी आफन्त, छिमेकी र विश्वभरका शुभचिन्तकहरुको आशा शनिबारदेखि निराशामा परिणत भयो ।’

निर्मलका आफन्त, सँगै हुर्कीएका साथी, छिमेकीसँगै सिंगो दाना गाउँनै शोकमा डुबेको छ । सन्नता छाएको छ । निर्मल जन्मिएको घर भत्किएर पर्खालको भग्नाअवशेस मात्र छन् । घर भएको ठाउँमा कमलाले भट्ट र तरकारी लगाएकी छिन् ।
कमलाको घरमा बारदलीमा ‘पर्वतारोही निर्मल पूर्जा (निम्स) सम्मान समारोह’ लेखिएको ब्यानर टाँसिएको छ । पुर्जालाई वि.स. २०८१ फागुन २२ गते बेनीमा हिमाल आरोहणमा विश्व कीर्तिमान बनाएका निर्मललाई नागरिक अभिनन्दन् गरिएको थियो ।

सोही कार्यक्रममा सहभागी हुन बेनी आएकी पुर्व शिक्षक समेत रहेकी कमलाले घरमा लगेर टाँसेको अन्नपूर्ण गाउँपालिकाले बनाएको ब्यानरका अक्षर खुइलिएपनि तस्बिर भने बेनी–जोमसोम सडकबाटै प्रष्ट देखिन्छ ।
‘मुस्ताङ जाने आउने विश्वभरीका मान्छेहरुले ब्यानर देखेर मलाई निर्मलको बारेमा सोध्न आउँछन्,’ उनले भनिन् ‘४० वर्षअघि बसाई सराई गरेर चितवन गएपनि जन्मिएको ठाउँमा घर बनाउने निर्मलको योजना अधुरै रह्यो ।’
वि.स. २०७९ फागुन २२ गते निर्मल आफ्नो जन्मथलो दानामा आएका थिए । कतारकी राजकुमारी आश्मा अल्थानीलाई अन्नपूर्ण हिमाल आरोहणका लागि लैजाने क्रममा दुई रात दानामा बिताएका निर्मलले जनप्रतिनिधी, आफन्त, गाउँका अगुवा र छिमेकीहरुसँग भलाकुसारी गरेका थिए ।
सानै देखि साहासी स्वभाव
सोही समयमा आउने क्रममा निर्मलले पुरानो दुई तले घर भएको जग्गाको रेखदेख गरिदिन अनुरोध गर्दै दाजुभाई मिलेर मौलिक शैलीको घर बनाउने योजना सुनाएका कमलाले स्मरण गरिन् । बाल्यकालदेखिनै पहाडको उकालो ओरालोमा दौडिन रुचाउने निर्मलले साहासी, चलाख र धैर्य हुने किसिमको ब्यवहार देखाउने गरेका कमलाले स्मरण गरिन् ।
‘झिमरीको गोलामा हात हालेर झिक्ने र टोक्दा पनि नरोई सहेर बस्ने निर्मलको आनीबानी देखेर हामीलाई अनौठो लाग्थ्यो,” कमलाले भनिन् “रोक्दा रोक्दै अक्करे भिरमा दौडन खोज्ने जिद्दि, आफुले सोचेको काम जसरी पनि पुरा गरिछाड्ने लगनशिल र निराश नहुने स्वभाव थियो ।’ बाल्यकालमा कालीगण्डकी नदीमा र रुप्से खोलामा गंगटा खोज्न रुचाउथे ।
वि.स. २०३९ साउनको ९ गते तितरमा जन्मिएका निर्मलका बुवा नन्दबहादुर भारतीय गोरखा सौनिक हुन् । नन्दबहादुरको तीन वर्षअघि र आमा पूर्णकुमारीको केही वर्षअघि निधन भएको थियो । वि.स. २०४८ मा चितवनमा बसाईसराई गरेका निर्मलका परिवारले पुरख्यौली जग्गाजमिन बेचेका छैनन् ।
निर्मल नन्दबहादुर र पूर्णकुमारीका कान्छा छोरा हुन् । उनका जेठा दाजु जंगबहादुरका परिवार चितवन र बेलायती पुर्व गोर्खा सैनिक रहेका साइला दाजु कमलबहादुर पुर्जाका परिवार बेलायत बसोबास गर्छन् ।
दानाकै ज्ञानप्रकाश माविका पुर्व शिक्षक रहेका माइला दाजु जितबहादुर पनि एक दशकयता चितवनमै बसोबास गर्दै आएका छन् । उनिहरुका एकमात्र बहिनी अनिताका परिवार पनि चितवनमै छन् । निर्मलले वि.स. २०८० कात्तिक २३ गते जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट गैरआवासीय नेपाली नागरिकता लिएका थिए ।
बेलायती पुर्व गोर्खा सैनिक रहेका निर्मलका श्रीमति सूची र एक छोरी पनि बेलायतमै बसोबास गर्छन् । हिमाल आरोहणका व्यस्त हुने निर्मल धौलागिरि र अन्नपूर्ण हिमालमा आउजाउ गर्ने क्रममा कहिलेकाँही हेलिकप्टरमै दाना आउँथे । अन्य दाजुभाईहरुको दानामा आउजाउ चलिरहने निर्मलका साथी समेत रहेका अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष रमेश पुर्जाले बताए ।
जन्मथलोमा योगदान

‘सानै देखि साहासी स्वभावको भएकैले निर्मलले हिमाल आरोहणमा धेरै किर्तिमान बनाएका हुन्,’ उनले भने ‘निम्स फाउन्डेशनबाट दानाको विभिन्न क्षेत्रमा योगदान गर्न थाल्नुभएका निर्मलको निधन्ले हामीलाई स्तब्ध बनाएको छ ।’ निर्मलले अन्नपूर्णको पर्यटन प्रर्वद्धन र दानाको स्वास्थ्य क्षेत्रमा चासो दिएर छलफल गर्नुभएको पुर्जाले स्मरण गरे ।

तीन वर्षअघि निर्मलले घोषणा गरेको रु. ४० लाखको अक्षयकोषको ब्याजबाट ज्ञान प्रकाश नमुना माविको कक्षा ८, १० र १२ मा सर्वोकृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा दानाका अन्य चार वटा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिदै आएको छ ।
ज्ञानप्रकाश नमुना माविका प्रअ शान्तबहादुर नेपालीका अनुसार निर्मलका दाजु कमलबहादुरले हरेक बर्ष आएर कक्षा ८ प्रथम हुनेलाई रु. ५० हजार, इसईईमा प्रथम हुनेलाई रु. ८० हजार र कक्षा १२ मा प्रथम हुनेलाई रु. एक लाखका दरले पुरस्कार वितरण गर्दै आउनुभएको छ । साथै अन्य चार वटा आधारभूत विद्यालयका विद्यार्थीलाई जनही रु. पाँच सय मूल्य बराबरको शैक्षिक सामग्री सहयोग गरिदै आएको छ ।
वडा अध्यक्ष पुर्जासँग निर्मलले गत वर्ष सोलुखुम्बुको सगरमाथा आधार शिविरमा बनाएको जस्तै भरियाहरुको लागि आश्रयस्थल म्याग्दीको अन्नपूर्ण आधार शिविरमा पनि बनाउने योजना सुनाएका थिए । ‘पहिल धेरैले सुविधा पाउने ठाउँमा काम गर्नुपर्छ भन्ने उहाँको भावना अनुसार सोलुखुम्बुमा पोर्टर सेल्टर बनाउनुभयो,’ वडा अध्यक्ष पुर्जाले भने ‘आफ्नो ठाउँमा त जसरी पनि गरिहालिन्छनी भन्नुभएका उहाँ योजना सुरुवात नहुदै हामीबाट बिदा हुनुभयो ।’
अन्नपूर्णमा शोकबिदा, शालिक बनाइने
निर्मल र उनको नेतृत्वमा रहेको ब्रोडपिक हिमाल आरोहण टोलीको निधनप्रति अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिने निर्यण गरेको छ ।
गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले शोक बक्तब्य जारी गर्दै निर्मल लगायत दिवंगत पर्वतारोहीहरुप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । अध्यक्ष पुनले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमा चिनाउन योगदान र साहास देखाएका निर्मलको सम्मानमा उनको शालिक बनाउने घोषणा गरेका छन् ।
निर्मलको शवको दाहसंस्कारका लागि जन्मथलोमा ल्याउन सम्भव नभएपनि अस्तु सेलाउन र शालिक भने सम्बन्धीत ठाउँमै बनाउदा उपयुक्त हुने दानाबासीहरुको सुझाव छ ।
गोर्खा सैनिकको स्पेसल फोर्स हुदै किर्तिमानी आरोही

१८ वर्षको उमेरमा सन २००३ मा ब्रिटिश गोर्खा रेजिमेन्टमा भर्ती भएका निर्मलले २००९ मा बेलायतको स्पेशल बोट सर्भिस एसबीएस विशेष फौजमा आबद्ध भए ।
ब्रिटिश सेनामा १६ वर्ष सेवा गर्ने क्रममा उनको पर्वतारोहणप्रति रुचि बढ्दै गयो । पुर्जालाई सन् २०१८ मा बेलायतकी रानी एलिजावेथले एमबीई प्रदान गरेकी थिइन् ।
सन् २०१२ मा उनी सगरमाथा आधार शिविर पुगेका निर्मलले पर्वतारोहण सिक्न ६,११९ मिटर अग्लो लोबुचे ईस्ट आरोहण गरे, जुन उनको पहिलो हिमाल थियो । पाकिस्तान जानुअघि उनले ब्रड पिक पनि आरोहण गर्न सकेमा अक्सिजनबिना विश्वका १४ वटा आठहजारे हिमाल दुई पटक आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्न अब एउटा हिमाल मात्र बाँकी रहने महसुस गरे ।
बेपत्ता हुनुभन्दा केही दिनअघि सामाजिक सञ्जाल एक्समा उनले लेखेका थिए, ‘यो योजना पहिले बनाएको थिएँ भन्ने होइन । अवसरहरू चिच्याएर आउँदैनन्, चुपचाप मेहनत गरिरहेकाहरूलाई फुसफुसाएर आउँछन् ।’
‘म ब्रड पिकसँग सुरक्षित रूपमा माथि पुगेर फर्किन सकूँ भन्ने बाहेक केही माग्दिनँ,’ उनले ब्रड पिकको आधार शिविरमा पुगेर लेखेका थिए ‘कुनै पनि हिमाललाई म कहिल्यै सामान्य ठान्दिनँ ।’ यसअघि उनले जुलाई २१ मा ग्यासरब्रुम–२ सफलतापूर्वक आरोहण गरेका थिए । त्यो उनको ८ हजार मिटरभन्दा अग्ला हिमालको ५७औँ सफल आरोहण थियो ।
निर्मलले आरोहणमा बनाएका किर्तिमान
सन् २०१९ मा पुर्जाले ‘प्रोजेक्ट पसिबल’ नाम दिएर सुरु गरेको अभियानमा विश्वका सबै १४ वटा आठहजार माथि उचाई भएका हिमाल ६ महिना ६ दिनमा आरोहण गरे । त्यसबेलासम्मको कीर्तिमान करिब आठ वर्षको थियो । उनको यो कीर्तिमान पछि सन् २०२३ मा नर्वेली पर्वतारोही क्रिस्टिन हरिलाले ३ महिना १ दिनमा सबै १४ हिमाल आरोहण गर्दै तोडेकी थिइन् ।
जन्मथलोमा रहेको अन्नपूर्ण हिमालबाट शुरु भएको निर्मलको ‘प्रोजेक्ट पसिबल’ यात्रामाथि आधारित ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्रीले विश्वव्यापी चर्चा पाएको थियो । १४ हिमाल आरोहण अभियान सञ्चालन गर्न उनले आफ्नै घर पुनः धितो राखेर रकम जुटाएका थिए ।
‘प्रोजेक्ट पसिबल’पछि उनी विश्वव्यापी रूपमा चर्चित बने । त्यसपछि उनले आफ्नै पर्वतारोहण कम्पनी र आउटडोर पोशाक ब्रान्ड स्थापना गरे । साथै विदेशी आरोहीलाई शिखरसम्म पु¥याउन ठूलो योगदान दिने नेपाली शेर्पा र पर्वत मार्गदर्शकहरूको योगदानलाई अन्तर्राष्ट्रिय रूपमा उचित सम्मान दिनुपर्ने आवाज पनि उठाउँदै आएका थिए ।

