
बेनी, ः विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल अतिरिक्त अक्सिजनबिनै सबैभन्दा छिटो आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका निर्मल पुर्जा (निम्स दाइ) को निधनले उहाँको जन्मजिल्ला म्याग्दी शोकमा डुबेको छ ।
गत बिहीबार (साउन १४ गते) पाकिस्तानस्थित ब्रोड पिक आरोहणका क्रममा १० सदस्यीय आरोही टोलीको नेतृत्व गरिरहनुभएका पुर्जा सहित सबैको निधन भएको शनिबार पुष्टि भएको हो । उहाँको शव कहाँ अन्त्येष्टि गरिने भन्ने विषयमा भने अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिनुभएका पुर्जाले सन् २०१९ मा आफ्नै जन्मथलो अन्नपूर्ण प्रथम हिमालबाट ‘प्रोजेक्ट पसिबल’ सुरु गर्दै विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिना छ दिनमै आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो । पछिल्लोपटक उहाँ ब्रोड पिक र त्यसपछि के–टु हिमाल अतिरिक्त अक्सिजनबिनै आरोहण गरेर अर्को ऐतिहासिक कीर्तिमान थप्ने अभियानमा हुनुहुन्थ्यो ।
पुर्जाले अतिरिक्त अक्सिजनबिनै १४ वटै आठहजारे हिमाल सबैभन्दा छिटो आरोहण गर्ने विश्व कीर्तिमानसँगै ५५ पटक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्नुभएको थियो । उहाँले अतिरिक्त अक्सिजनबिनै सातै महादेशका सर्वोच्च शिखर (सेभेन समिट) आरोहण गर्ने पहिलो पर्वतारोहीको कीर्तिमानसमेत कायम गर्नुभएको छ ।
१६ वर्ष बेलायती सेनामा सेवा गरेपछि पर्वतारोहणमा पूर्णकालीन रूपमा लाग्नुभएका पुर्जाले विश्वभर नेपाली हिमालको सुरक्षित र व्यावसायिक पर्वतारोहणको सन्देश फैलाउन महत्वपूर्ण योगदान दिनुभएको थियो । उहाँले नेपालका साना–ठूला हिमालमा विदेशी आरोहीलाई आकर्षित गर्दै अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नेपालको पहिचान थप उचो बनाउन भूमिका खेल्नुभएको थियो ।


सगरमाथा आरोहणका क्रममा अलपत्र परेका आरोहीको उद्धार, विभिन्न हिमाली उद्धार अभियान र मानवीय सेवामा सक्रिय पुर्जाले बेलायती महारानीबाट प्रतिष्ठित ‘एमबिई’ सम्मान प्राप्त गर्नुभएको थियो। उहाँ बेलायती सेनामा ‘स्नो लेपर्ड’ (हिमचितुवा) का रूपमा परिचित हुनुहुन्थ्यो ।
पर्वतारोहणसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय पुर्जाले आफ्नो जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित ज्ञानप्रकाश माध्यमिक विद्यालयमा ४० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो । ‘निम्स दाइ फर एजुकेसन’ मार्फत कक्षा ८, माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार तथा सम्मान गर्दै आउनुभएको थियो ।

यसैगरी आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको शैक्षिक सहयोग, दानाका सामुदायिक विद्यालयलाई आर्थिक सहयोग तथा सगरमाथा आरोहणमा जाने भरियाका लागि सुरक्षित आवास निर्माणजस्ता सामाजिक अभियानमा पनि उहाँ सक्रिय रहनुभएको थियो ।
पुर्जाले स्थापना गर्नुभएको ‘इलाइट एक्सपिड’ कम्पनीमार्फत विश्वका विभिन्न मुलुकका आरोहीलाई नेपालका हिमालमा ल्याउने तथा प्राकृतिक विपत्तिका बेला मानवीय सहायता उपलब्ध गराउने कार्यसमेत गर्दै आउनुभएको थियो ।
उहाँको ‘प्रोजेक्ट पसिबल’ यात्रामा आधारित ‘फोर्टिन पिक्स ः नथिङ इज इम्पोसिबल’ नामक वृत्तचित्र नेटफ्लिक्समार्फत १९१ देशमा ३१ भाषामा प्रदर्शन भएको थियो । उक्त वृत्तचित्रले नेपालको हिमाल, पर्वतारोहण र पुर्जाको असाधारण यात्रालाई विश्वसामु परिचित गराएको थियो ।
म्याग्दीको धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको काखमा हुर्किएका पुर्जाले आफ्नो साहस, नेतृत्व र असाधारण कीर्तिमानमार्फत नेपालको पर्वतारोहण इतिहासमा अविस्मरणीय योगदान पु¥याउनुभएको छ । उहाँको असामयिक निधनले म्याग्दीसँगै समग्र नेपाली पर्वतारोहण क्षेत्रले एक साहसी, दूरदर्शी र प्रेरणादायी व्यक्तित्व गुमाएको जिल्लाका जनप्रतिनिधी, निजी, सामाजिक क्षेत्रले शोक व्यक्त गरेका छन् ।

