
बेनी, । म्याग्दीमा आइतबार रातीको बर्षातका कारण विभिन्न ठाउँमा जनधनको क्षति भएको छ ।
एक जनाको मृत्यु, एक जना घाइतेको उद्दार भएको छ । जिल्ला सदरमुकाम बेनी देखि ग्रामिण क्षेत्र जोड्ने सडकहरु अवरुद्ध भएका छन् ।
बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेतमा पहिरोले घर पुरिदाँ स्थानीय ७० वर्षीय लालबिर छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी निरीक्षक सागर तिमिल्सीनाले बताउनुभयो ।

प्रहरीका अनुसार घरभित्र सुतिरहेको अवस्थामा पुरिएर ज्यान गुमाएका छन्त्यालको स्थानीयबासीहरुले फेला पारेका छन् । प्रहरी चौकी सिंगा तातोपानीबाट घटास्थलतर्फ प्रहरी टोली गएको छ ।

यसैगरी धवलागिरी गाउँपालिका–७ धारापानीको हाडेभिरमा पहिरोमा पुरिएकी एक महिलाको सशकुशल उद्दार भएको छ । इलाका प्रहरी कार्यालय दरवाङबाट गएको प्रहरी टोली र स्थानीयबासीहरुले ६३ वर्षीय धनकुमारी थापाको उद्दार गरेर दरवाङतर्फ लगेका छन् ।
उक्त स्थानबाट जोखिममा रहेका थप दुई जनालाई पनि उद्दार गरिएको उद्दारमा खटिएका खाराका युवा विशाल परियारले बताउनुभयो ।
भकीम्लीमा पहिरोले पशुचौपाया र अन्य भौतिक संरचनाहरुमा पनि क्षति गरेको स्थानीयबासीले जनाएका छन् । धवलागिरी गाउँपालिका–७ धारापानीको रातोखोलाले धार परिवर्तन गर्दा बगरमा रहेको चिन्तामणी थापाको घर जोखिममा परेको छ ।
पहिरोका कारण बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–पाखापानी, दरवाङ–मुना लगायत अधिकांश ग्रामिण सडकहरु अवरुद्ध भएका छन् । बेनी–जोमसोम–कोरला सडक योजना, पूर्वाधार विकास कार्यालय र स्थानीय तहहरुले अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरेका छन् ।

