
बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा स्थानीय तह र समुदायको साझेदारीमा प्रतिक्षालय निर्माण भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको रु. तीन लाख बजेटमा शुरु भएको प्रतिक्षालय निर्माण कार्यलाई शिख्तानी समाज पोखराले थप रु. तीन लाख ८५ हजार पाँच सय ५० जुटाएर पूर्णता दिएका हुन् ।

बेनी–जोमसोम सडकको छेउ र पोखरेबगर चित्रे सडकको प्रवेशबिन्दुमा निर्माण भएको प्रतिक्षालयसँगै खानेपानी ब्यवस्थापन र सार्वजनिक शौचालय पनि बनाइएको अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

उहाँका अनुसार प्रतिक्षालयले कालीगण्डकी घाटमा शवदाह गर्न आउने शिख, घारका मलामी तथा बेनी–जोमसोम सडकमा यात्रा गर्ने सर्वसाधारणहरुलाई सुविधा पुगेको छ ।
प्रतिक्षालय निर्माण भएपछि विदेश, पोखरा लगायत जन्मथलो बाहिर ज्यान गुमाएकाहरुलाई सद्गदका लागि ल्याउँदा सडकमै शव राखेर घाटसम्म लैजाने ब्यवस्था मिलाउनुपर्ने, मलामी पानीमा झिज्नु र चर्को गर्मीमा तात्तीनुपर्ने समस्याको अन्त्य भएको शिख्तानी समाज पोखराका चन्द्र गर्बुजाले बताउनुभयो ।

