
बेनी,। म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा एकमहिने साउने सोमबार मेला सुरु भएको छ ।
कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै बिशाल चट्टानमाथी फैलिएको गलेश्वर मन्दिरमा परम्परागत रुपमा हरेक बर्षको साउन महिनाको सोमबारका दिन विशेष पुजाआजा हुने गर्छ ।
पश्चिमको पशुपतिनाथ र हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धारको रुपमा परिचित गलेश्वरमा साउन महिनाको सोमबार ब्रत बसेर पुजाआजा र दर्शन गर्नाले शौभाग्य, दिर्घायु, पारिवारिक सुख र मनोकाक्षा पुरा हुने धार्मिक विश्वास छ ।
हिन्दुधर्मग्रन्थ श्रीस्वस्थानी ब्रतकथाको पात्र सतिदेवीको गला पतन भएकाले यो ठाउँको नाम गलेश्वर रहन गएको किम्बदन्ती छ । यहाँ शिव, राधाकृष्णको मन्दिरका साथै एक सय आठ शिवलिङ्ग र कालीगण्डकीको पानीले धारामा स्नान गर्ने सुविधा रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव सम्मरबहादुर थापाले बताउनुभयो ।

पुजाआजाका लागि म्याग्दी, पर्वत, बागलुङका साथै देशभरबाट भक्तजनहरु आउने गरेका छन् । सडक स्तरोन्नति र यातायात सुविधाको सहजता एवम् प्रचारप्रसारसँगै गलेश्वरमा भक्तजनको आगमन बढेको छ ।

साउन महिनाको धार्मिक मेलालाई ब्यवस्थित बनाउन २५ वटा उपसमिति गठन गरेर परिचनालन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । भक्तजनको चहलपहलसँगै गलेश्वर बजारको ब्यापार ब्यवसाय वृद्धि भएको छ ।
पुजालाई व्यवस्थित बनाउन जिल्ला प्रहरी, शसस्त्र प्रहरी, बेनी नगरपालिकाको नगर प्रहरी, म्याग्दी बहुमुखी क्याम्पस लगायत शैक्षिक संस्था, युवा क्लव र आमा समूहका स्वमसेवक परिचालन भएका छन् । यस वर्षको साउन महिनामा ४, ११, १८ र १५ गते चार वटा सोमबार परेको छ ।
कोषका कार्यालय सचिव तेजेन्द्रबहादुर खत्रीका अनुसार शिवलिङ्ग पूजा व्यवस्थापनका लागि बमबहादुर पुनको संयोजकत्वमा तथा मण्डपभित्र पूजा, टीका र प्रसाद व्यवस्थापनका लागि मनोज पौडेलको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।
त्यसैगरी बसाहा तथा हनुमान पूजा व्यवस्थापनमा गंगाबहादुर बानियाँ, गणेश मन्दिर पूजा व्यवस्थापनमा कुमारी रोका तथा स्वयंसेवक परिचालन र भित्री प्रवेशद्वार व्यवस्थापनमा इन्द्र बरुवाललाई संयोजकको जिम्मेवारी दिइएको छ ।
गलेश्वरधाम आमा समूहलाई भोजन तथा जलपान व्यवस्थापनको जिम्मेवारी दिइएको छ । नरिवल स्थल व्यवस्थापनमा गोपाल पुरी, मन्दिर अगाडिको बत्ती व्यवस्थापनमा हिराबहादुर बरुवाल, सरसफाइ, सुरक्षा, ट्राफिक तथा बेलपत्र व्यवस्थापनमा तेजेन्द्रबहादुर खत्री र मूल गेट रसिद व्यवस्थापनमा लोकेन्द्रबहादुर खड्कालाई संयोजक तोकिएको छ ।
यसैगरी लक्ष्मीनारायण मन्दिर तथा जलकुण्ड व्यवस्थापनमा राधिका आचार्य, प्रचार–प्रसारमा सम्मरबहादुर थापा, भगवती मूर्ति व्यवस्थापनमा मनु पुन फगामी तथा शिवालय परिसर अनुगमनमा कोषका अध्यक्ष रेग्मीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
साउन महिनाका सोमबार विवाहित महिलाले हरियो चुरा तथा हरियो र पहेँलो वस्त्र लगाएर पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गर्दै व्रत बस्ने तथा अविवाहित महिलाले राम्रो वर प्राप्तिको कामनासहित शिवालयमा पूजा गर्ने धार्मिक परम्परा छ । गलेश्वरधाममा रहेको १०८ शिवलिङ्गमा पवित्र कालीगण्डकी नदीको जल अर्पण गरी पूजा गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ ।
कालीगण्डकी नदीबाट उठेको करिब नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित गलेश्वर शिवालय सतीदेवीको गला पतन भएको धार्मिक मान्यतासँग जोडिएको छ । विभिन्न धार्मिक ग्रन्थ तथा पुराणमा सतीदेवीको गला पतन भएकाले यस क्षेत्रको नाम गलेश्वर रहन गएको उल्लेख गरिएको पाइन्छ ।
साउने सोमबारका अवसरमा गलेश्वरधाममा दर्शन तथा पूजाअर्चना गर्न आउने भक्तजनको संख्या उल्लेख्य हुने गरेको छ । मन्दिरमा संकलन हुने भेटीसमेत पारदर्शी रूपमा व्यवस्थापन गर्दै सार्वजनिक स्थानमा गनेर बैंकमा जम्मा गर्ने व्यवस्था गरिएको कोषले जनाएको छ ।

