
बेनी, ः संघीय सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले म्याग्दीको पश्चिम क्षेत्रलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक फापरखेतको पहिरो एक वर्षभित्र नियन्त्रण गरिने बताउनुभएको छ ।
मन्त्री भएपछि पहिलोपटक शनिबार आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका मन्त्री पुनले वर्षौंदेखि दुःख दिइरहेको पहिरोको अवलोकन गर्नुहुँदै एकवर्ष भित्रमा पहिरो नियन्त्रण गरी नियमित रुपमा सडक सञ्चालनमा ल्याउने बताउनुभयो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, पूर्वाधार विकास कार्यालय म्याग्दीका सब–इन्जिनियर रविन चोखाल सहित सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि र सर्वसाधारणहरु सहित पहिरो अवलोकन गर्न पुग्नुभएका मन्त्री पुनले पहिरो पन्छाउने उपकरणको व्यवस्था गरेर नियमित रुपमा सडक सञ्चालनमा ल्याउन निर्देशन समेत दिनुभयो । उहाँले पहिरोले सडक अवरुद्ध हुँदा धेरै सर्वसाधारणहरुले दुःख पाइरहेको भनेर फोन आएपछि फुर्सद निकालेर पहिरो अवलोकन गर्न आएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि संघीय सरकारबाट चार करोड रुपियाँको बजेट पनि व्यवस्थापन भएको छ । एकवर्ष भित्रमा पहिरो नियन्त्रणको काम हुन्छ । अहिले तत्कालका लागि वर्षातका समयमा नियमित रुपमा सवारीसाधन सञ्चालनका लागि पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राख्नुप¥यो । लाग्ने खर्च सरकारले व्यवस्था गर्दछ ।’’

करिब ३० वर्ष देखि यो स्थानमा पहिरोको समस्या छ । सडक माथिबाट खसेको पहिरोका कारण वर्षातका समयमा सिधा यातायात सञ्चालन अवरुद्ध हुँदै आएको छ । सडक बन्द हुँदा जिल्लाको मंगला, मालिका र धवलागिरीका सर्वसाधारणहरु आवतजावतमा सास्ती खेप्दै आएका छन् ।
यसैगरी मन्त्री पुनले म्याग्दीको बेनी नगरपालिका ४ स्थित सिंगा तातोपानी कुण्डको समेत अवलोकन गर्नुभएको छ । वर्षातका समयमा म्याग्दी नदीमा आउने बाढीका कारण कुण्ड सञ्चालनमा समस्या हुने गरेको र संरक्षणका लागि संघीय सरकारले सहयोग गर्नुपर्ने माग तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले मन्त्री पुन समक्ष राख्नुभएको छ ।
शनिबार नै मन्त्री पुनले प्रदेश अस्पताल बेनीको निर्माणधिन अस्पताल भवनको अवलोकन गर्नुहुँदै भवन निर्माण तत्कालन सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्न निर्माण व्यावसायिलाई निर्देशन दिनुभयो ।
नवनिर्मित भवन सम्पन्न गरी हस्तान्तरण नुहँदा उपचार सेवा प्रभावित भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँले मन्त्री समक्ष जानकारी गराउनुभएको थियो । अध्यक्ष बानियाँले अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक र उपकरणको अभावका कारण उपचार सेवा प्रभावित भएको जानकारी गराउनुभयो ।
मन्त्री पुनले अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था र उपकरणका लागि आफूले पहल गर्ने बताउनुभयो । मन्त्री पुनले शनिबार नै राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने बैसरी पहिरोको पनि अवलोकन गर्नुभएको छ ।

