बेनीका दुई वटामा बालबिवाह न्युनीकरण परियोजना लागू हुने

Gandaki Ghumau

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर ५ र ९ मा बालविवाह न्यूनीकरण परियोजना सञ्चालन हुने भएको छ । बेनी नगरपालिकाको सिफारिसमा गैरसरकारी संस्था संगम म्याग्दी ले आगामी आर्थिक वर्ष २०८३÷८४ मा परियोजना कार्यान्वयन गर्न लागेको हो ।

परियोजनाबारे बेनी नगरपालिकामा शुक्रबार आयोजित समन्वय बैठकमा संगमका परियोजना संयोजक खिमा पुर्जाले बालविवाह न्यूनीकरणसँगै किशोर–किशोरी सशक्तीकरण, बाल संरक्षण र समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

परियोजना अन्तर्गत वडा नम्बर ५ को पुलाचौर र वडा नम्बर ९ को घतान क्षेत्रलाई समेटिने भएको छ । जनकल्याण माध्यमिक विद्यालय पुलाचौर, पौलस्त्य माध्यमिक विद्यालय भीरमुनी, राष्ट्रिय माध्यमिक विद्यालय नेप्टेचौर, गलेश्वर माध्यमिक विद्यालय तोरीपानी र जडभरत आधारभूत विद्यालय गलेश्वरमा विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ ।

Shreekrishna

परियोजनाअन्तर्गत किशोर–किशोरी समूह गठन, नियमित बैठक, आधाररेखा (बेसलाइन) सर्वेक्षण, टोल विकास समितिको गठन तथा सुदृढीकरण, नेतृत्व विकास तालिम, डिजिटल सुरक्षा सचेतना, अभिभावक शिक्षा, विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन, खेलकुद सामग्री सहयोग, महिला जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र समुदायका अगुवालाई क्षमता विकास तालिम प्रदान गरिनेछ ।

Gunasthariya Shiksya

त्यसैगरी सुरक्षित प्रजनन स्वास्थ्यसम्बन्धी तालिम, बाल दिवस र महिला दिवसजस्ता विशेष दिवसमा अभियान सञ्चालन, किशोरी कक्ष व्यवस्थापन, बालविवाह न्यूनीकरणसम्बन्धी सूचना बोर्ड स्थापना, गुणस्तरीय शिक्षा योजना, पालिकास्तरीय प्रतियोगिता, कार्यक्रमको नियमित अनुगमन तथा मूल्याङ्कनलगायतका गतिविधि पनि समावेश गरिएको छ । दातृ संस्था गल्र्स फस्ट फण्डको सहयोगमा सञ्चालन हुने परियोजनाको कुल बजेट रु. २२ लाख ६७ हजार आठ सय ८० रहेको छ ।

संगम म्याग्दीले सन् २०१९ देखि धवलागिरि गाउँपालिकाको २, ३, ४ र ७ नम्बर वडामा बालविवाह न्यूनीकरण परियोजना सञ्चालन गर्दै आएको छ । त्यहाँको अनुभवका आधारमा बेनी नगरपालिकाको वडा नम्बर ५ र ९ मा पनि परियोजना विस्तार गरी बालविवाहको दर घटाउने लक्ष्य राखिएको संस्थाका कार्यकारी निर्देशक दिपक पौडेलले बताउनुभयो ।

परियोजनामार्फत बाल संरक्षणमा बेनी नगरपालिकासँग सहकार्य गर्दै युवाको सशक्तीकरण, महिला सशक्तीकरण, विभिन्न प्रकारका हिंसा न्यूनीकरण तथा बाल संरक्षणसम्बन्धी रणनीति कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता समेत संगम म्याग्दीले जनाएको छ । साथै वडा नम्बर ५ र ९ मा बाल संरक्षणसम्बन्धी ‘सेमिमिस’ प्रणाली अद्यावधिक गर्न नगरपालिकासँग साझेदारी गर्ने योजना पनि रहेको छ ।

नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, वडा अध्यक्ष, कार्यपालिका सदस्य र विषयगत शाखाका प्रमुखहरुलाई कार्यक्रमको बारेमा जानकारी गराइएको थियो । यसैगरी संगमका अध्यक्ष धनमाया श्रेष्ठ, उपाध्यक्ष देवी जिसी, कोषाध्यक्ष जानुका अधिकारी लगायत पदाधीकारी र कर्मचारीहरुको पनि उपस्थिति थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...