मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालन गर्ने मन्त्री महाविरको घोषणा

Gandaki Ghumau

बेनी, ः विज्ञान, प्रबिधी तथा नवप्रर्वतन मन्त्री महाविर पुनले म्याग्दीको धवलागिरी गाउँपालिकामा मुदी–गुर्जा–रुघाचौर–जलजला जोड्ने पदमार्ग सञ्चालनमा ल्याउने घोषणा गर्नुभएको छ ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य समेत रहनुभएका मन्त्री महाविर पुनले पर्यटन विभागको सहयोगमा हालै सम्भाव्यता अध्ययन गरिएको धवलागिरी गाउँपालिका–४ मुदी देखि वडा नं. १ गुर्जा हुदै वडा नं. २ मा पर्ने जलजला जोड्ने पदमार्ग आगामी हिउदे सिजनदेखि शुरु गरिने जानकारी गराउनुभएको छ ।

“यो एकदमै नयाँ अर्थात भर्जिन रुट हुनेछ,” उहाँले सामाजिक सञ्जाल फेसबुक पेजमा बिहिबार लेख्नुभएको छ “यसमा गाउँपालिकाको तप्परता र सम्बन्धित गाउँको जनताहरुको सक्दो श्रमदान अनिवार्य हुनेछ् ।”

Shreekrishna

यो पदमार्गमा पर्यटक घुमाउन लैजानका लागि तयारी गर्न पर्यटन ब्यवसायी र स्थानीयबासीहरुलाई पुनले अनुरोध गर्नुभएको छ । पदमार्गका अप्ठ्यारो ठाउँहरुमा बाटो बनाउने, रेलिङ हाल्ने, बिश्रामस्थल बनाउने र झोलुङ्गे पुल बनाउन पर्यटन मन्त्रालयले सहयोग गर्ने पुनले जानकारी दिनुभएको छ ।

यही असार महिनाको पहिलो, दोस्रो र तेस्रो साता पुनका बेनी स्थित सम्पर्क कार्यालयका प्रमुख चित्र तिजिला नेतृत्वको टोलीले मुदी–गुर्जा–जलजला, धौलागिरी चक्रीय र अन्नपूर्ण गाउँपालिका–१ दोवा देखि रघुगंगा गाउँपालिका–७ सोवाङ धुरी हुदै चिमखोला जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन गरेको थियो ।

Gunasthariya Shiksya

तिलिजाको टोलीले जलविद्युत आयोजना र सडक मार्गका कारण धौलागिरि चक्रीय पदमार्गको इटली आधार शिविर सम्मको पदमार्ग मासिने जोखिम रहेको, मुदी–गुर्जा–रुघाचौर–जलजला र दोवा–सोवाङ–चिमखोला पदमार्गमा सडकको असर नपर्ने भएकाले सम्भावना रहेको प्रतिवेदन गत हप्ता मन्त्री पुन र पर्यटन मन्त्रालयमा बुझाएको थियो ।

धौलागिरी चक्रीय पदमार्ग योजनाका लागि आगामी आर्थिक वर्ष २०८३÷०८४ मा पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्रालयले शिर्षकनै तोकेर रु. तीन करोड बजेट बिनियोजन गरेको छ । मुदी–गुर्जा–जलजला लगायतका पदमार्गको सम्भाव्यता अध्ययन शिर्षकमा रु. २१ लाख बजेट बिनियोजन भएको मन्त्रालयको वार्षिक पुस्तीकामा उल्लेख छ ।

मुदीका बासिन्दा बिजय घर्तीले मन्त्री पुनको योजनाले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने अपेक्षा गर्दै मुदी–गुर्जा जोड्ने आधारभूत पदमार्ग, सञ्चार सुविधा विस्तार लगायत पूर्वाधार तयार पार्नुपर्ने बताउनुभयो । पदमार्गले स्थानीय स्तरमा रोजगारी सिर्जना र आयआर्जनको अवसर सिर्जना हुने उहाँको अपेक्षा छ ।

सडक विस्तारसँगै पुराना पदमार्गहरु विस्थापित र यात्राअवधी छोटिएपछि नयाँ पदमार्ग पहिचान गरि पूर्वाधार निर्माण र प्रर्वद्धनका लागि स्थानीयबासी तथा जनप्रतिनिधीहरुले माग गरेका थिए । धौलागिरि हिमाल र ढोरपाटन शिकार आरक्षलाई जोड्ने प्रस्तावित पदमार्ग साहासिक, प्राकृतिक र सांस्कृतिक हिसाबले सम्भावनायुक्त छ ।

संसारको अग्लो धौलागिरि हिमालको फेदीमा रहेको मुदीमा मगर र दलित समुदायको बसोबास छ । लुकेको गाउँको रुपमा चिनिने गुर्जामा अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास छ । गुर्जा देखि ढोरपाटन जाने बाटोमा पर्ने रुघाचौर र ढोरपाटन शिकार आरक्षमा समेटिएको जलजलाबाट मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

सडक निर्माण हुने सम्भावना नभएको र बस्ति देखि टाढा रहेको धौलागिरि–ढोरपाटन पदमार्ग दिर्घकालिन हिसाबले सम्भावनायुक्त हुने अपेक्षा गरिएको धवलागिरी गाउँपालिका–४ का वडा अध्यक्ष यामप्रसाद घर्तीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...