
बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिममा वडा कार्यालय भवन निर्माणका लागि रु. २० लाख मूल्य पर्ने जग्गा निशूल्क प्राप्त भएको छ ।

मालिका गाउँपालिका–७ का वडा सदस्य तिलकबहादुर जुग्जालीले बिमको तल्लो गाउँमा रहेको तीन रोपनी जग्गा निशूल्क दान गर्नुभएको हो । जुग्जालीले उपलब्ध गराउनुभएको जग्गाको मूल्य रु. २० लाख बराबरको रहेको वडा अध्यक्ष टकलाल पुनले बताउनुभयो ।
जुग्जालीले बुधबार मालपोत कार्यालयमा आएर सबै प्रक्रिया पुरा गरि गाउँपालिकाको नाममा जग्गा हस्तान्तरण गर्नुभएको हो । जग्गा प्राप्त भएपछि भवन निर्माण प्रक्रिया अघि बढाउने वडा अध्यक्ष पुनले बताउनुभयो । हाल साविक बिम गाविसको पुरानो भवनबाट वडा कार्यालय सञ्चालन हुदै आएको छ ।

