
बेनी, २४ असार ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका कर्णबहादुर खत्रीको तीन दशकपछि पारिवारिक पुर्नःमिलन भएको छ ।
सामाजिक सञ्जाल र मोवाइल फोनको माध्यमबाट ६० वर्षीय कर्णबहादुरले आफ्नो पुरख्यौली थातथलो, दाजुभाई र आफन्त खोज्दै ताकम आउनुभएको हो । “कामको खोजीमा भारतको सिलोङमा जानुभएका बुवा मतीलाल खत्रीले त्यही बिहेवारी गरेर मलाई जन्माएको ११ औ दिनमा आमाको निधन भएको रहेछ,” कर्णबहादुरले भन्नुभयो “बुवा घर फर्किएपछि मलाई रुपन्देहीको सियारी गाउँपालिका–६ स्थित मामा घरका हजुरबुवा र आमाले हुर्काउनुभएको थियो ।”
३० वर्षअघि जिल्ला सदरमुकाम बेनीमा ल्याएर दाजु भाई र आफन्तले बुवाको नामबाट नागरिकता दिलाएपछि मामाघरमै फर्किएका कर्णबहादुर त्यसयता कसैको सम्पर्कमा नभएपछि परिवार र आफन्तहरुले माया मारिसकेका थिए । कर्णबहादुरका भाई (फुपुका छोरा) भूमीराज केसीले केही दिनअघि ताकममा भएको कुलपुजामा सहभागी हुन श्रीमती सहित दाजु थातथलो खोज्दै आइपुग्दा सबै दंग र अचम्ममा परेका बताउनुभयो ।

“नागरिकता बनाएपछि मामाघरमै जानुभएका कर्णबहादुर दाईको अवस्था अज्ञात हुँदा हामीहरुले माया मारिसकेका थियौ,” उहाँले भन्नुभयो “जन्मथलो खोज्दै पुरख्यौली थलोमा आइपुगेपछि हामीहरु सबै खुसी भएका छौ ।” बच्चा अवस्थामा काँडाले कोपेर कर्णबहादुरको दाहिने आँखाको ज्योती गुमेको थियो । पछि देब्रे आँखामा लागेको चोटको समयमै उपचार नपाउँदा दुवै आँखाको दृष्टि गुमेको बताउनुभयो ।

रुपन्देहीमा रहेको नेत्रहिन संघको कार्यालयमा बाँसको मुढा बुन्ने तालिममा सहभागी हुने क्रममा त्यही काम गर्ने दृष्टिबिहिन डिलमाया चौधरीसँग कर्णबहादुरको चिनजान र १० वर्षअघि बिहेवारी भएको थियो । ३६ वर्षीया डिलमाया जन्मजात दृष्टिविहिन हुनुहुन्छ । शिक्षा शास्त्र संकायमा स्नातक तह उतिर्ण गरेकी डिलमायाले सामाजिक सञ्जाल र वेभसाइटको माध्यमबाट श्रीमान कर्णबहादुरको जन्मथलोको ठेगाना पहिचान गरेर सम्पर्कमा आएको बताउनुभयो ।
डिलमायाको माइती र कर्णबहादुरका मावलीको संरक्षणमा रुपन्देहीको सियारीमा सामानको ‘मार्केटिङ’ गरेर जिविकोपार्जन गर्दै आएका उनिहरुको सात वर्षका छोरालाई एक सामाजिक संस्थाले ललितपुरको छात्रावासमा बसेर अध्ययनको ब्यवस्था मिलाइएको छ । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता र पसलको ‘मार्केटिङ’ गरेर प्राप्त हुने ज्यालाबाट उनिहरुले घरब्यवहार चलाउदै आएका छन् ।
आफन्त र दाजुभाई भएकै ठाउँमा बसोबास गर्ने इच्छा अनुसार पुरख्यौली थलोमा आएका कर्णबहादुरको घरजग्गा र सम्पत्ती छैन् । अध्यापन गराउन सक्ने शैक्षिक योग्यता, अध्यापन अनुमतिपत्र भएकी डिलमायाले जागिरको खोजीमा रहेको बताउनुभयो ।
कर्णबहादुरका दिवंगत दाजुका छोरा बालकृष्ण खत्री ताकममा बसोबास गर्नुहुन्छ । अर्की आमाबाट जन्मिएका भाई पनि बेपत्ता रहेका भूमीराजले बताउनुभयो । “आफन्त खोज्दै आउनुभएका कर्णबहादुर दाई र भाउजुको लागी ताकममै हामी आफन्तहरुले घडेरीको ब्यवस्था गरेर घर बनाईदिने प्रयासमा छौ,” उहाँले भन्नुभयो “सुकुम्बासी उहाँको आवास निर्माणका लागि वडा कार्यालय, गाउँपालिका देखि राज्यका सम्बद्ध निकाय तथा दाताहरुबाट सहयोगको अपेक्षा गरेका छौ ।”
सम्पर्क डिलमाया खत्री ९८६७९३२९११, भूमिराज केसी ९८४०८३४६३२

