
बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको छ । संघीय सरकारको समपुरक योजना मार्फत मालिका गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन लागिएको हो ।
म्याग्दीको पश्चिमी क्षेत्रको ब्यापारिक केन्द्र मानिने दरवाङमा वि.स. २०६४ मा सडक पुगेको थियो । रु. एक करोड ६६ लाख ४९ हजार सात सय ३२ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा रु. एक करोड २६ लाख ८२ हजार आठ सय ८८ कबोलेको सापकोटा बिल्डर्ससँग २०८२ माघ ३० गते ठेक्का सम्झौता भएको थियो ।
सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ग्राभेल, बेस र सबबेस राखेर गत सातादेखि बिटुमिन र चिप्स बिछ्याउन थालेको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । “यस योजना मार्फत दरवाङको तल्लो उल्लो बजार क्षेत्रमा एक किलोमिटर चार सय मिटर कालोपत्र गरिने छ,” उहाँले भन्नुभयो “चालु आर्थिक वर्षभित्रनै सम्पन्न हुनुपर्ने योजना निर्माणमा ढिलाई भएकाले ताकेता गरेका छौ ।”

हुलाकचोक र तल्लो बजार क्षेत्रमा करिब तीन सय मिटर कालोपत्र भइसकेको छ । उपल्लो बजार, धौलागिरि चोक र स्याउलीबजार क्षेत्रमा कालोपत्र गर्न बाँकी छ । यही असार १५ गतेभित्र ठेक्का सम्झौताको समय सिमाभित्र निर्माण सम्पन्न नभएकाले ब्यवसायीले म्याद थपको लागि निवेदन दिएका छन् । इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धि तथा व्यस्त सडकमा यातायात ब्यवस्थापनका कारण ढिलाई भएको निर्माण कम्पनीका प्रतिनिधीको भनाई छ ।

सडक बिस्तार र कालोपत्र भएपछि सवारी साधन आवत जावत सहज हुने स्थानीयबासीको भवीराज फगामीले बताउनुभयो । “सडक आएको १९ वर्षपछि कालोपत्र हुन लागेकोमा खुसी भएका छौ,” उहाँले भन्नुभयो “कालोपत्र भएपछि हिलो र धुलोको समस्या हटेर बस्ति सफा हुने अपेक्षा गरेका छौ ।”

तिब्र रुपमा बस्ति विकास भएको दरवाङ बजारको भित्रि सडक साँघुरा हुँदा सवारी साधन आवत जावत असहज हुनुका साथै दुर्घटनाको जोखिम छ । स्थानीय बासिन्दाले सडकलाई फराकिलो पार्न स्वसफुुर्त रुपमा घरको पेटी र टहरा भत्काएका छन् । यसपाली धौलागिरी टोलका ३६ र नयाँ बजार टोलका ३१ वटा घरको पेटी र टहरा भत्काएका हन् ।
विस्तार गरेपछि सडक फराकिलो बनेको छ । यसअघि गत वर्ष हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुुङ्गे पुलतर्फ सडकको दाया र बाया पर्ने संरचना हटाएर करिब चार सय मिटर लामो नाली निर्माण भएको उपभोक्ता समितिका सचिव कृष्ण आचार्यले बताउनुभयो । दरवाङमा तीन सय बढी घरपरिवारको बसोबास रहेको छ । जनप्रिय मावि रहेको टोलमा दुई वर्षअघि गण्डकी प्रदेश सरकार मार्फत कालोपत्र भएको थियो ।

