
बेनी, म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा वितरण गरेको छ ।
संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको हो ।
‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’मार्फत संस्थागत सुत्केरी भएका नौ वटा वडाका एक सय ४९ जनालाई घ्यू र अण्डा वितरण गरिएको उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो ।


“विसं २०८२ साउनदेखि यही असार मसान्त तेस्रो हप्तासम्म स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई दुई क्यारेट अण्डा र एक माना घ्यू वितरण गरिएको हो”, उहाँले भन्नुभयो, “पालिकाकै किसानले उत्पादन गरेको अण्डा र घ्यू खरिद गरेर वितरण गरेका हौ ।”
सुत्केरी, गर्भवती तथा बच्चा दुई वर्षको हुँदासम्मको अवस्थामा पौष्टिक आहारको व्यवस्थापन गर्नुपर्ने सन्देश प्रवाह गराउने र संस्थागत सुत्केरी सेवामा पहुँच बढाउने कार्यक्रमको लक्ष्य रहेको छ । लक्षित वर्ग शीर्षकमा विनियोजन भएको बजेटबाट उपाध्यक्षको सुत्केरी पोषण कार्यक्रम सञ्चालन गरिएको हो ।
गाउँपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख विन्दु शर्माले घ्यू र अण्डा वितरणका क्रममा स्वास्थ्यकर्मीबाट पोषण र पौष्टिक आहार तयार पार्ने विषयमा परामर्श पनि दिने गरिएको बताउनुभयो । जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित टोलटोलमै पुगेर अण्डा र घ्यू वितरण गरिनाका साथै आमा तथा बच्चाको स्वास्थ्य परीक्षणसमेत गरिन्छ ।
जलजलाका स्वास्थ्य शाखा प्रमुख गणेश मल्लका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा ‘होम डेलिभरी’को संख्या शून्य कायम भएको थियो । जलजलाको मल्लाज, लेकफाँट र शालिजामा प्रसुति गृह छन् । गर्भवति लगायत लक्षित समुदायलाई गाउँपालिकाले २०८१ साउन महिनादेखि निःशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउदै आएको अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

