धार्मिक स्थलमा ‘देवभूमी सर्किट’ बनाउने पर्यटन मन्त्री पौडेलको भनाई

Gandaki Ghumau

बेनी ः संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री खड्कराज पौडेल (गनेश)ले नेपालमा धार्मिक पर्यटन विकासका लागि ‘देवभूमी सर्किट’को योजना सञ्चालन गर्न लागिएको बताउनुभएको छ ।

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर शिवालय क्षेत्रको आइतबार निरिक्षणपछि मन्त्री पौडेलले देवभूमी सर्किट बनाउन पौराणीक कालका तथ्यको पहिचानका लागि मन्त्रालयले अध्ययन थालेको जानकारी दिनुभयो ।

“धर्मग्रन्थका देवी देवता, धर्मगुरु, प्रसिद्ध लामा र ऋषिमुनीहरुले तपस्या बसेको, यात्रा गरेको बाटो पहिचान गरेर त्यहाँ पर्यटक भित्र्याउने सरकारको योजना हो,” उहाँले भन्नुभयो “देवभूमी सर्किटमा समेटिएका गन्तब्य पहिचान गरि सरकारले पूर्वाधार र प्रर्वद्धनमा लगानी गर्न बजेट बिनियोजन गरेको छ ।”

Shreekrishna
Gunasthariya Shiksya

दामोदरकुण्ड, मुक्तिनाथ, कागबेनी, गलेश्वर, पुलाश्रम, बागलुङ कालिका, कालञ्जर पर्वत, देवघाट, लगायत कालीगण्डकी कोरिडोरलाई देवभूमी सर्किटको रुपमा विकास गर्ने योजना रहेको मन्त्री पौडेलको भनाई थियो ।

पर्यापर्यटन, प्राकृतिक, साहासिकसँगै आरोग्य पर्यटन विकासमा पनि सरकारले जोड दिएको उहाँको भनाई थियो । मन्त्री पौडेलले आइतबारनै बेनी नगरपालिका–९ मा रहेको गलेश्वर शिवालयको दर्शन र क्षेत्र विकास कोषका पदाधीकारीहरुसँग छलफल गर्नुभयो । स्थानीय तहहरुसँगको साझेदारीमा शाकाहारी र न्युन बजेटमा तिर्थयात्राका लागि आउने पर्यटकहरुलाई लक्षित गरेर धर्मशाला सञ्चालनको तयारी गरेको जानकारी दिनुभयो ।

सो क्रममा उहाँले धार्मिक संस्थाहरुसँग भएको कोषलाई परिचालन गरेर सरकारले पूर्वाधार र प्रर्वद्धनको क्षेत्रमा लागत साझेदारीका योजना तथा कार्यक्रम बनाएको बताउनुभयो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका प्रमुख संरक्षक समेत रहेका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, उपाध्यक्ष बमबहादुर पुन, सदस्य सचिव सम्मरबहादुर थापा लगायतले अवस्था, योजना र सरकारसँगको अपेक्षाका विषयमा जानकारी गराउनुभएको थियो ।

यसैगरी मन्त्री पौडेललाई मुस्ताङबाट फर्कने क्रममा अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर फगामीले अन्नपूर्ण आधार शिविरमा सञ्चार, विद्युत सुविधा विस्तार तथा आवास ब्यवस्थापन लगायतका विषयमा ध्यानाकर्षण गराउनुभएको थियो । शनिबार मुस्ताङको मुक्तिनाथ र कोरला नाकाको भ्रमण गरेका मन्त्री पौडेलको टोली आइतबार बेनी हुदै सडक मार्ग भएर काठमाडौ फर्किनुभएको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...