
बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकारको विशेष अनुदान सहयोगमा अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर ६ मा पर्ने पोखरेबगर र बैसरीमा खानेपानी सुविधा विस्तार गरेको हो । दुई वटा टोलका निजी घर, विद्यालय, मन्दिर सहित ८७ वटा धारा निर्माण भएको अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।
“घारको नुनथलामा रहेको मुहानबाट करिब पाँच किलोमिटर पाइपलाईन मार्फत पानी ल्याएर वितरण गरिएको हो,” उहाँले भन्नुभयो “अन्नपूर्ण गाउँपालिकाको क्रमागत बैसरी–हल्लेखर्क–पोखरेबगर योजना मार्फत गत वर्ष हल्लेखर्क र बैसरीका २४ घरमा खानेपानी सुविधा पु¥याइएको थियो ।”


यस वर्ष बैसरीका बाँकी र पोखरेबगरका सबै घरमा निजी धारा मार्फत खानेपानी वितरणको ब्यवस्था मिलाइएको जानकारी दिदै वडा अध्यक्ष खड्काले आगामी आर्थिक वर्षमा नुनथलाको मुहानलाई थप ब्यवस्थित गरिने बताउनुभयो ।
कर सहित रु. ३५ लाख ४८ हजारमा ठेक्का सम्झौता गरेको गन्जे निर्माण सेवाले निर्धारित समयमै योजना सम्पन्न गरेको अन्नपूर्ण गाउँपालिका–६ का सबइन्जिनियर वुद्धी बरुवालले बताउनुभयो । उहाँका अनुसार पाइपलाईन, एक वटा १६ घनमिटर क्षमताको नयाँ टंकी निर्माण, १४ घनमिटरको पुरानो टंकी मर्मत र ८७ वटा धारा निर्माण भएको छ ।
घरघरमा खानेपानी आपुर्ति भएपछि पानी ओसार्दा हुने झञ्जट हट्नुका साथै समयको बचत भएको छ । यसअघि खानेपानी आपुर्ति नियमित नहुने र वितरण व्यवस्थित नहुँदा उपभोक्तालाई सास्ती थियो ।
कुल रु. एक करोड १९ लाख लागत अनुमान गरिएको बैसरी–हल्लेखर्क–पोखरेबगर खानेपानी योजनाबाट एक सय २५ घरपरिवार लाभान्वित हुने वडा अध्यक्ष खड्काले बताउनुभयो ।

