
बेनी ः म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि मंगलबार एक समारोहका बीच पूर्णखोप घोषणा गरिएको हो ।
म्याग्दीमा रहेका १५ महिनाभित्रका एक हजार ८० बालबालिकाले नियमित र पाँच वर्षमुनिका तीन हजार नौ सय ७४ जना बालबालिकाले पूर्णखोप लगाएका प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।
बालबालिकाले बिसीजी, डिपिटी, पोलियो, दादुरा, रुवेला, जेईलगायत १३ प्रकारका खोपको पूर्णमात्रा पाएको उहाँले बताउनुभयो । म्याग्दीमा एउटा जिल्लास्तरीय अस्पताल, एउटा आधारभूत अस्पताल, ३९ स्वास्थ्य चौकी, चार सहरी स्वास्थ्य केन्द्र, २८ सामुदायिक स्वास्थ्य एकाइ, ८९ खोप केन्द्र, ४८ गाउँघर क्लिनिक रहेका छन्।

बालबालिकालाई पूर्णखोप लगाउनका लागि तीन सय ७२ महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका थिए । यसअघि वडा र पालिकास्तरमा पनि पूूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको थियो । घोषणा अघि स्वास्थ्यकर्मीले घरदैलो गरेर खोप लगाएको नलगाएको विषयमा अध्ययन गरेका थिए ।

यस वर्ष गण्डकी प्रदेशका ११ मध्ये पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्ने म्याग्दी चौथो जिल्ला बनेको जिसस म्याग्दीका कार्यवाहक प्रमुुखसमेत रहेका जिल्ला खोप समन्वय समितिका प्रमुख डिलकुमारी खत्रीले बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण पाण्डेले खोप कार्यक्रमले नवजात शिशुको मृत्युघर घटाउन र रोग लाग्नबाट बचाउन महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । खोप कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको र सर्वसाधारणले पनि यसलाई महत्वका साथ लिनुपर्ने मन्त्री पाण्डेले बताउनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले प्रदेश पूर्ण खोप अभियानको निरन्तरतामा जोड दिदै प्रदेश सरकार मातहतको बेनी अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको ब्यवस्था मिलाउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराउनुभयो ।
मन्त्री पाण्डेले बेनी अस्पतालमा जनशक्ति र उपकरण ब्यवस्थापनमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो । म्याग्दीलाई वि.स. २०७१ चैत १५ गते नेपालको छैटौ पुर्णखोपयुक्त जिल्ला घोषणा गरिएको थियो । त्यसयता म्याग्दीलाई हरेक वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणालाई निरन्तरता दिइदै आएको छ ।

