
बेनी, म्याग्दीमा रहेका छ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि कुल रु. तीन अर्ब ३६ करोड ६० लाख ९४ हजार चार सय ६६ बराबरको बजेट पारित गरेका छन् ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, सामाजिक सुरक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै संवैधानिक ब्यवस्था बमोजिम निर्धारित असार १० गतेको मितिभित्रनै बजेट सार्वजनिकसँगै सर्वसम्मत रुपमा पारित पनि गरेका हुन् ।
बेनी नगरपालिकाले रु ७५ करोड ५२ लाख ७५ हजारको बजेट पारित गरेको छ । नगर उपप्रमुख ज्योति लामिछानेले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ रु ५६ करोड ४ लाख ५० हजार र पुँजीगततर्फ रु १९ करोड ४८ लाख २५ हजार विनियोजन गरिएको छ । कुल बजेटमध्ये चालुतर्फ ७४ दशमलव २० प्रतिशत र पुँजीगततर्फ २५ दशमलव ८० प्रतिशत बजेट रहेको छ ।

मालिका गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ४८ करोड ८६ लाख ८ हजारको बजेट पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमा चालुतर्फ रु ३४ करोड ३० लाख १९ हजार र पुँजीगततर्फ रु १४ करोड ५५ लाख ८९ हजार विनियोजन भएको छ ।

मंगला गाउँपालिकाले रु ४६ करोड ५० लाख १८ हजार ७ सय ५९ बराबरको बजेट पारित गरेको छ । गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रूपमा पारित भएको हो । गाउँपालिकाले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानलाई समेटेर बजेट निर्माण गरेको जनाएको छ ।
रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ५६ करोड ४ लाख २० हजार ७ सयको बजेट पारित गरेको छ । मौवाफाँटमा सम्पन्न २१औँ गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको उक्त बजेट अनुमोदन भएको हो ।
धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्दै रु ४८ करोड ५२ लाख ३ हजारको बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १७औँ गाउँसभामा उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रूपमा पारित भएको हो । बजेटमा चालुतर्फ रु ३४ करोड ५५ लाख ६३ हजार र पुँजीगततर्फ रु १३ करोड ९६ लाख ४० हजार विनियोजन गरिएको छ ।
अन्नपूर्ण गाउँपालिकाले रु ६१ करोड १४ लाख ६९ हजारको बजेट पारित गरेको छ । पोखरेबगरमा सम्पन्न गाउँसभाको २३औँ अधिवेशनबाट पारित बजेटले शैक्षिक सुधार, कृषि व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, स्वास्थ्य सेवाको पहुँच विस्तार, पूर्वाधार विकास, वातावरण संरक्षण तथा प्रविधिमैत्री सुशासनलाई प्राथमिकतामा राखेको छ । कुल बजेटमध्ये चालुतर्फ रु ४५ करोड ८६ लाख २ हजार र पुँजीगततर्फ रु १५ करोड २८ लाख ६७ हजार विनियोजन गरिएको उपाध्यक्ष प्रेमकुमारी पुनले बताउनुभयो ।
जिल्लाका छवटै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेटमार्फत कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवा सुदृढीकरण, सडक तथा पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन र सुशासनलाई प्राथमिकता दिएका छन् । स्थानीय सरकारहरूले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय र अन्य स्रोतलाई आधार बनाएर बजेट निर्माण गरेका हुन् ।

