
मुना, ः धवलागिरी गाउँपालिका–३ मुनामा ढल ब्यवस्थापन आयोजना निर्माण भएको छ ।
संघीय सरकारको बिशेष अनुदानमा धवलागिरी गाउँपालिकाले मुना गाउँको सरसफाई र ढल ब्यवस्थापनका लागि नाली (पक्की नहर) निर्माण गरेको हो । मुनामा हाल धवलागिरी गाउँपालिकाको केन्द्र रहेको छ ।
भिरालो पाखोमा गुजमुज्ज बाक्लो बस्ति रहेको मुनाका घरहरुबाट निस्कने फोहोर पानी र बर्खा याममा बग्ने पानीको सुरक्षित तथा ब्यवस्थित निकासका लागि पक्की नाला निर्माण गरिएको धवलागिरी गाउँपालिका–३ का वडा अध्यक्ष देवेन्द्र रोकाले बताउनुभयो ।

“बर्खामा पाखामा बग्ने पानीले गाउँलाई असुरक्षित र घरबाट निस्कने ढलका कारण फोहोर ब्यवस्थापनमा चुनौति थियो,” उहाँले भन्नुभयो “मुना गाउँलाई सफा र सुरक्षित बनाउने उद्देश्यले पक्की नाला निर्माण गरिएको हो ।”
मुनामा करिब तीन सय घरपरिवारको बसोबास रहेको छ । उक्त योजना निर्माणका लागि गत माघ २५ गते मंगला कन्ट्रक्सन प्रा.ली.ले रु. ६० लाख ७८ हजार सात सय ४७ मा ठेक्का सम्झौता गरेको थियो ।

योजना मार्फत नौ सय ८९ मिटर लामो पक्की नहर निर्माण भएको वडा अध्यक्ष रोकाले जानकारी दिनुभयो । यही असार १५ गतेसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्य अघिनै सम्पन्न भएको उहाँले बताउनुभयो ।
स्थानीयबासी नन्दप्रसाद पुनले पक्की नाला बनेपछि बस्ति सुरक्षित र सुन्दर भएको बताउनुभयो । घरभित्र बाढी पस्ने र फोहोर हुने समस्या हटेको अर्का स्थानीयबासी मुमबहादुर पुनले बताउनुभयो ।
यस वर्ष धवलागिरी गाउँपालिकाको गुर्जाका साथै वडा नम्बर १ को गुर्जामा पनि ढल ब्यवस्थापन योजना निर्माण भएको छ । गुर्जाखानी छन्त्याल बस्ती पूर्वाधार योजना मार्फत रु. २२ लाख ९९ हजारको लागतमा दुई सय ६० मिटर पक्की नाला निर्माण भएको छ ।
गत वर्ष वडा नम्बर ४ मुदीमा ढल ब्यवस्थापन आयोजना सञ्चालन भएको थियो । संघीय विशेष अनुदानको बजेटबाट मुदीमा रु. ३७ लाख ७७ हजारमा ठेक्का सम्झौता गरि चार सय मिटर पक्की नहर निर्माण भएको थियो ।
आगामी वर्ष वडा नम्बर ७ ताकममा ढल ब्यवस्थापनका लागि संघीय सरकारबाट प्राप्त भएको रु. एक करोड बजेट बिनियोजन गरिएको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

