
बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रक्रिया पुरा नगरी दर्ता बिनै सञ्चालनमा रहेका क्रसर उद्योग हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बिहिबार सार्वजनिक सूचना जारी गरेर प्रचलित कानून विपरित दर्ता नगरी संचालनमा रहेका क्रसर उद्योगलाई एक महिनाभित्र हटाउन सचेत बनाउनुभएको हो ।
जलविद्युत र विकास आयोजनाहरुका लागि अनुमति लिएका बाहेक प्रचलित कानून विपरीत दर्ता नगरी क्रसर उद्योग सञ्चालन र नदीजन्य बस्तुको उत्खनन् भएको पाइएकाले हटाउन निर्देशन दिएको गाउँपालिकाले जनाएको छ ।

असार ११ गतेदेखि एक महिनाको अवधीभित्र क्रसर उद्योग र उपकरण सामग्री नहटाएमा प्रचलित कानून बमोजिम आवश्यक कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले सूचनामा उल्लेख गर्नुभएको छ । रघुगंगा गाउँपालिकाभित्र हाल पाँच वटा क्रसर उद्योग सञ्चालनमा रहेका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।


“राहुघाट जलविद्युत आयोजनाको चमेरे र बाँध निर्माण स्थलको तथा मोना हाइड्रोपावर र चितवन इनर्जीले घ्याँसीखर्कमा रहेको क्रसर उद्योगले प्रक्रिया पुरा गरेका छन,” उहाँले भन्नुभयो “बेगखोलामा मोटरेबल पुल निर्माण प्रयोजनका लागि ठेकेदारले राखेको क्रसर पुल निर्माण सकिएपनि अरुलेनै चलाएको पाएका छौ ।”
राहुघाटमा कृष्ण चोखालले सञ्चालन गरेको अष्टऔजार क्रसर उद्योगले पनि प्रक्रिया पुरा नगरेको अध्यक्ष भण्डारीले बताउनुभयो । बेगखोला पुलको नजिकै रहेको कविर हाइवे क्रसर उद्योग प्रा.ली.का सञ्चालक विश्व बिक्रम मल्ल र विनोद हमाल हुन् ।
गाउँपालिकाको अनुमति बिना सञ्चालन भएका ती उद्योगहरुका विषयमा नियमनकारी निकाय जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले यसअघि पनि अनुगमन गरेर हटाउन निर्देशन दिएपनि कार्यान्वयन भएको छैन् । अबैध क्रसरले नदीजन्य बस्तुको चोरी निकासी गरेर राजस्वमा पनि हानी पु¥याएकाले बन्द गराउन गाउँपालिकाले अग्रसरता लिएको अध्यक्ष भण्डारीले दावी गर्नुभयो ।

