
बेनी , बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पूर्वाधार, कृषि, स्वास्थ्य र पर्यटनलाई मुख्य प्राथमिकतामा राख्दै एक सय बुँदे महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभाको १९ औँ अधिवेशनमा नगरप्रमुख सुरत केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार : स्वच्छ समृद्ध बेनी नगरको मूल आधार” भन्ने दीर्घकालीन सोचलाई केन्द्रमा राखिएको छ। उत्पादन वृद्धि, गुणस्तरीय सेवा प्रवाह, पर्यटन प्रवर्द्धन र योजनाबद्ध पूर्वाधार विकासमार्फत समृद्ध बेनी निर्माण गर्ने लक्ष्यसहित कार्यक्रम ल्याइएको हो।
कृषि उत्पादन र आत्मनिर्भरतामा जोड
नगरपालिकाले “कृषि उत्पादनमा वृद्धिः बेनी नगरको समृद्धि” नारालाई व्यवहारमा उतार्न उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ। दूध, तरकारी र मासु उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरणलाई प्राथमिकता दिइएको छ।

‘एक वडा–एक उत्पादन’ नीति अन्तर्गत वडा नं. १ मा तरकारी, २ मा केरा, ३ मा किवी, ४ मा सुन्तला, ५ मा फलफूल, ६ मा गोलभेडा, ७ मा दूध, ८ मा अण्डा, ९ मा टिमुर र १० मा आलु उत्पादनलाई विशेष प्राथमिकता दिइने भएको छ। रैथाने बाली तथा पशुपन्छी संरक्षण, किसानलाई सीप, प्रविधि र अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ।
सिंचाइ सुविधा विस्तार, चिस्यान केन्द्र र कृषि उपज संकलन केन्द्रको प्रभावकारी सञ्चालन, पशु स्वास्थ्य सेवा विस्तार, महामारीजन्य पशुरोग नियन्त्रण, कृत्रिम गर्भाधान तथा गाईभैँसी पकेट क्षेत्र विकास कार्यक्रमलाई समेत निरन्तरता दिइने भएको छ।
स्वास्थ्य सेवालाई घरदैलोमा
स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिँदै नगरपालिकाले “ज्येष्ठ नागरिकको घरघरमा स्वास्थ्यकर्मी” अभियानलाई निरन्तरता दिने भएको छ। ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर स्वास्थ्य परीक्षण, औषधि वितरण र परामर्श सेवा प्रदान गरिनेछ।
प्रत्येक महिनाको १५ गते “एनसीडी डे” सञ्चालन गरी उच्च रक्तचाप, मधुमेह, मिर्गौला तथा मुटुरोगको निःशुल्क परीक्षण गरिने भएको छ। महिलाका लागि पाठेघरको मुख तथा स्तन क्यान्सर परीक्षण सेवा निःशुल्क उपलब्ध गराइनेछ।
किशोरीमा देखिएको रक्तअल्पता न्यूनीकरणका लागि सबै किशोरीको परीक्षण, ग्रामीण अल्ट्रासाउन्ड सेवा विस्तार, जोखिमयुक्त गर्भवतीको पहिचान तथा डिजिटल अभिलेखीकरण, स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरता र विपन्न नागरिकलाई उपचार सहयोगको व्यवस्था पनि गरिएको छ।
पर्यटन विकासका लागि वडा पर्यटन परियोजना
बेनी नगरपालिकाले पर्यटनलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने नीति लिएको छ। “वडा पर्यटन परियोजना” अन्तर्गत सबै १० वटै वडामा विशिष्ट पर्यटकीय योजना सञ्चालन गरिने भएको छ।
रत्नेचौर–पर्वत झोलुङ्गे पुल र भाइरल तोरीबारी, लभ्लीहिल पर्यटन परियोजना, ज्यामरुककोट कोट मन्दिर, बेलढुङ्गा स्वर्गाश्रम, तातोपानी कुण्ड, रामायण पार्क, रामशिला, जलेश्वर गुफा, शालिग्राम संग्रहालय, गलेश्वरधाम, ढोल्ठान दरबार, सिद्धाश्रम तथा टोड्के पर्यटन विकासलाई प्राथमिकतामा राखिएको छ।
रामायण पार्क निर्माणलाई सर्वोच्च अदालतको आदेशअनुसार अगाडि बढाइने भएको छ भने धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रचारप्रसारलाई थप सशक्त बनाइने नीति लिइएको छ।
नगर गौरवका पूर्वाधार आयोजना

पूर्वाधार विकासतर्फ नगरपालिकाले नगर गौरवका १६ वटा आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ। बेनी–पाखापानी, बेनी–ज्यामरुककोट, बेनी–अर्थुङ्गे–पुलाचौर–टोड्के, बेनी–भकिम्ली लगायतका रणनीतिक सडक स्तरोन्नति गरिने भएको छ।
बेनी रङ्गशाला निर्माण, रामशिला स्मारक, ढोल्ठान दरबार, ज्यामरुककोट दरबार, बेलढुङ्गा स्वर्गाश्रम, शान्ति पार्क, लभ्लीहिल, कालीगण्डकी आरतीस्थल तथा घाट निर्माणलाई नगर गौरवका आयोजनाका रूपमा अघि बढाइने भएको छ।
बेनी बाहिरी रिङरोड स्तरोन्नति, कालीपुल–मंगलाघाट नदी किनार सडक विस्तार, झोलुङ्गे पुल निर्माण, खेलमैदान स्तरोन्नति तथा सार्वजनिक पूर्वाधारलाई अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री बनाउने नीति अवलम्बन गरिएको छ।
शिक्षा, युवा र सामाजिक विकास
शिक्षा क्षेत्रमा नगर शिक्षा योजना कार्यान्वयन, स्थानीय पाठ्यक्रम सुधार, शिक्षक क्षमता विकास, विद्युतीय हाजिरी प्रणाली विस्तार, उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान, विज्ञान तथा प्राविधिक शिक्षामा छात्रवृत्ति र न्यून विद्यार्थी भएका विद्यालय तथा कक्षाको मर्ज कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
“वी क्यान वी डू” कार्यक्रम, मेयरसँग युवा तथा विद्यार्थी कार्यक्रम, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, भलिबल प्रशिक्षण केन्द्र स्थापना तथा खेल प्रतिभा विकास कार्यक्रम सञ्चालन गरिने भएको छ।
महिला सशक्तीकरण, बालविवाह न्यूनीकरण, लागूऔषध दुर्व्यसन नियन्त्रण, बालमैत्री नगरपालिका घोषणा, ज्येष्ठ नागरिक सेवा विस्तार र सामाजिक संघसंस्थासँग साझेदारीमा सामाजिक समस्याको समाधान खोज्ने नीति पनि समावेश गरिएको छ।
खानेपानी, वातावरण र विपद् व्यवस्थापन
घोप्टेखोला बृहत् खानेपानी आयोजना सम्पन्न गर्न सहजीकरण गरिने भएको छ। ‘एक घर–एक धारा’ अभियानलाई थप प्रभावकारी बनाउँदै स्वच्छ खानेपानी सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि निजी क्षेत्रको लगानी र प्रविधि भित्र्याइने भएको छ भने हालको फोहोर विसर्जनस्थल स्थानान्तरण गरिने योजना छ। जलवायु परिवर्तन अनुकूलन कार्यक्रम, नदीजन्य पदार्थको व्यवस्थित उत्खनन तथा विपद् व्यवस्थापन कोषमार्फत पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभ कार्यक्रम सञ्चालन गरिनेछ।
सुशासन, प्रविधि र राजस्व सुधार
सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन डिजिटल सूचना प्रणाली, क्युआर कोडसहितको घर नम्बर प्रणाली, कृत्रिम बौद्धिकता (एआई) को उपयोग तथा सीसी क्यामेरा निगरानी विस्तार गरिने भएको छ।
राजस्व सुधार कार्ययोजना कार्यान्वयन, करको दायरा विस्तार, उत्कृष्ट करदाता सम्मान, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण तथा भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषि उत्पादन वृद्धि, गुणस्तरीय स्वास्थ्य सेवा, पर्यटन पूर्वाधार विकास र दीर्घकालीन भौतिक पूर्वाधार निर्माणलाई केन्द्रमा राख्दै समृद्ध, स्वच्छ र व्यवस्थित बेनी निर्माणको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ। एक सय बुँदे कार्यक्रम कार्यान्वयन प्रभावकारी बनेमा बेनी नगरपालिकाको आर्थिक, सामाजिक र भौतिक विकासले नयाँ गति लिने अपेक्षा गरिएको छ।

