बेनी नगरपालिकाको बजेट ७५ करोड ५२ लाख, पूर्वाधार, पर्यटन, कृषि र सामाजिक क्षेत्र प्राथमिकतामा

Gandaki Ghumau

बेनी, । बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ७५ करोड ५२ लाख ७५ हजारको बजेट पारित गरेको ।
बेनीमा मंगलबार भएको नगरसभाको १९औँ अधिवेशनमा नगर उपप्रमुख ज्योती लामिछानेले बजेट प्रस्तुत गर्दै स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने, पूर्वाधार विकासलाई तीव्रता दिने, शिक्षा–स्वास्थ्यको गुणस्तर सुधार गर्ने र सुशासन प्रवद्र्धन गर्ने लक्ष्यसहित बजेट ल्याइएको बताउनुभयो ।
कुल बजेटमध्ये चालुतर्फ रु ५६ करोड चार लाख ५० हजार (७४.२० प्रतिशत) र पूँजीगततर्फ रु १९ करोड ४८ लाख २५ हजार (२५.८० प्रतिशत) विनियोजन गरिएको छ । बजेटका लागि संघीय समानीकरण अनुदान रु ११ करोड ७४ लाख, संघीय राजस्व बाँडफाँटबाट रु ९ करोड ४८ लाख, संघीय सशर्त कार्यक्रमबाट रु ३८ करोड ८४ लाख, प्रदेश समानीकरण अनुदानबाट रु एक करोड ५५ लाख, सवारीसाधन कर बाँडफाँटबाट रु एक करोड ९० लाख तथा आन्तरिक आयबाट रु चार करोड ७९ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
बेनी नगरपालिकाले आर्थिक विकासलाई प्राथमिकतामा राख्दै कृषि, पशुपालन, खानेपानी, सिँचाइ, उद्यमशीलता र पर्यटन क्षेत्रका कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषि उपजको बजारीकरणका लागि वडा नं. ८ को पीपलचोकमा कृषि उपज सङ्कलन केन्द्र निर्माण तथा सञ्चालन गर्न रु २५ लाख विनियोजन गरिएको छ । तरकारी उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि रु १५ लाख र कृषि क्षेत्रको समग्र विकासका लागि रु ६५ लाख ५० हजार बजेट छुट्याइएको छ ।
पशुपालन क्षेत्रको उत्पादन वृद्धि गर्न दूध र पाठापाठी उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रु १० लाख तथा रोग नियन्त्रण, उपचार सेवा, औषधि र खोपका लागि रु आठ लाख ५० हजार विनियोजन गरिएको छ । नगर क्षेत्रमा छाडा पशु चौपाया व्यवस्थापन, पशु स्वास्थ्य शिविर सञ्चालन तथा घरपालुवा कुकुर दर्ता, बन्ध्याकरण र खोप सेवाका कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ ।
खानेपानी तथा सिँचाइतर्फ बृहत् घोप्टेखोला खानेपानी आयोजनामा नगरपालिकाको साझेदारीका लागि रु ५० लाख विनियोजन गरिएको छ । वडा नं. २ मा चिसापानी–गौश्वारा खानेपानी योजनाका लागि संघीय विशेष अनुदानबाट रु ७७ लाख तथा वडा नं. ९ मा तहलाआला–व्याडा–गिठिनी सिँचाइ आयोजनाका लागि प्रदेश विशेष अनुदानबाट रु ४० लाख बजेट सुनिश्चित गरिएको छ । ‘एक घर, एक धारा’ अभियानलाई सफल बनाउन अन्य खानेपानी तथा सिँचाइ योजनामा समेत बजेट विनियोजन गरिएको छ ।
रोजगारी र उद्यमशीलता विकासलाई प्रोत्साहन गर्न ‘आमा समूहसँग उपमेयर कार्यक्रम’ सञ्चालनका लागि रु २० लाख विनियोजन गरिएको छ । युवालाई स्वरोजगार बनाउने उद्देश्यले बारिस्टा तथा बेकरी तालिम सञ्चालन गरिने भएको छ । सुरक्षित वैदेशिक रोजगारका लागि आप्रवासी स्रोत केन्द्र सञ्चालन गरिने र रोजगार प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
पर्यटन प्रवद्र्धनका लागि कुल रु एक करोड २२ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । गलेश्वरधाम क्षेत्रको सौन्दर्यीकरण, पार्किङ व्यवस्थापन तथा शवदाहस्थल निर्माणका लागि रु १८ लाख ५० हजार छुट्याइएको छ । सर्वोच्च अदालतको आदेशअनुसार रावण पार्कलाई रामायण पार्कका रूपमा विकास गर्ने योजना अघि बढाइने भएको छ । बेनी बजारको लभ्लीहिल क्षेत्रलाई पर्यटकीय भ्यू–पोइन्टका रूपमा विकास गर्न रु २५ लाख बजेट प्रस्ताव गरिएको छ ।
सामाजिक विकासतर्फ सशर्त अनुदानबाहेक रु छ करोड १६ लाख २५ हजार विनियोजन गरिएको छ । शिक्षातर्फ सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी, बालविकास सहजकर्ता, कार्यालय सहयोगी तथा सामाजिक परिचालकको पारिश्रमिकमा १० प्रतिशत वृद्धि गरिएको छ । यसका लागि थप रु एक करोड १८ लाख विनियोजन गरिएको छ । ‘वी क्यान वी डु’ कार्यक्रममार्फत माध्यमिक तहका विद्यार्थीलाई सीपमूलक शिक्षा प्रदान गर्न रु १४ लाख बजेट छुट्याइएको छ । छात्रवृत्ति कार्यक्रमका लागि रु पाँच लाख ५० हजार तथा स्थानीय पाठ्यपुस्तक लेखन र छपाइका लागि रु १३ लाख विनियोजन गरिएको छ ।
खेलकुद विकासका लागि बेनी रङ्गशाला, चुत्रेनी खेलमैदान र भलिबल प्रशिक्षण केन्द्र निर्माणमा रु २६ लाख तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि रु ११ लाख ५० हजार विनियोजन गरिएको छ । शिक्षा तथा खेलकुद क्षेत्रमा सशर्त कार्यक्रमबाहेक कुल रु दुई करोड ७९ लाख बजेट व्यवस्था गरिएको छ ।
स्वास्थ्य क्षेत्रअन्तर्गत ‘ज्येष्ठ नागरिकको घरघरमा स्वास्थ्यकर्मी’ तथा ‘नसर्ने रोगको निःशुल्क परीक्षण’ कार्यक्रम सञ्चालन गर्न रु १४ लाख विनियोजन गरिएको छ । संस्थागत सुत्केरीलाई यातायात खर्च उपलब्ध गराउने र सुत्केरी जाँचका लागि स्वास्थ्यकर्मीलाई घरघरमा परिचालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । स्वास्थ्य क्षेत्रमा नगरस्तरीय तथा वडास्तरीय कार्यक्रमका लागि रु ५२ लाख विनियोजन गरिएको छ ।
पूर्वाधार विकासतर्फ कुल रु १३ करोड ८८ लाख बजेट विनियोजन गरिएको छ । नगर गौरवका आयोजनालाई प्राथमिकता दिँदै बेनी–पुलाचौर–टोड्के सडक स्तरोन्नति आयोजनाका लागि रु तीन करोड ४२ लाख ५० हजार विनियोजन गरिएको छ । उक्त आयोजना नगरपालिकाको ६० प्रतिशत र संघीय सरकारको ४० प्रतिशत साझेदारीमा कार्यान्वयन हुनेछ । त्यसैगरी बेनी–दुधेखोला–थामडाँडा–मरेक–बरञ्जा सडक स्तरोन्नतिका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । नगर र वडा केन्द्र जोड्ने सडकलाई क्रमशः कालोपत्रे तथा स्तरोन्नति गर्ने नीति लिइएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।
वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ स्थानीय विपद् व्यवस्थापन कोषमा रु १० लाख विनियोजन गरिएको छ । सडक मर्मतसम्भारका लागि रु ४० लाख तथा मनसुन प्रभावितका लागि निजी आवास पुनर्निर्माण र विपन्न आवास कार्यक्रम सञ्चालनका लागि क्रमशः रु १० लाख र रु ४१ लाख छुट्याइएको छ ।
सुशासन तथा संस्थागत विकासतर्फ सूचना प्रविधि विस्तार, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, बजेट पुस्तिका प्रकाशन, कर्मचारी तथा जनप्रतिनिधि तालिमलगायतका कार्यक्रम सञ्चालन गर्न रु ७५ लाख विनियोजन गरिएको छ । करार सेवाका कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि गर्नुका साथै सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने व्यवस्था पनि गरिएको छ ।
नगर उपप्रमुख लामिछानेले सीमित स्रोत–साधनका बाबजुद नागरिकको आवश्यकता, उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास र सेवा प्रवाह सुधारलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताउनुभयो । उहाँले बजेटको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
चालु आर्थिक वर्षको ११ महिनामा नगरपालिकाले रु ती करोड ९६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ । चालु आर्थिक वर्षमा रु. ७३ करोड नौ लाख बजेट बिनियोजन भएकोमा ११ महिनाको अवधीमा ६६ दशमलब ५१ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...