
युवापलायन, उत्पादन र पूर्वाधारका चुनौती चिर्न ४८ करोडको महत्वाकांक्षी योजना
म्याग्दी, ८ असार — म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, पर्यटन, उद्यमशीलता र सुशासनलाई विकासको प्रमुख आधार बनाउँदै समृद्ध, आत्मनिर्भर र जलवायु उत्थानशील गाउँपालिका निर्माण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्य सुधार र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।
गाउँपालिकाले विगतका उपलब्धिलाई संस्थागत गर्दै गाउँघरबाट बढ्दो बसाइँसराइ, युवा पलायन, बाँझो जमिनको विस्तार, कृषि उत्पादनमा गिरावट र पूर्वाधारको दिगोपनजस्ता चुनौतीको सामना गर्न बहुआयामिक कार्यक्रम अघि सारेको छ। स्थानीय सरकार सञ्चालन ऐन, संविधानले दिएको अधिकार र दिगो विकास लक्ष्यलाई आधार बनाएर तयार गरिएको नीति तथा कार्यक्रमले स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत आर्थिक समृद्धिको मार्ग तय गरेको छ।

अवसर र चुनौतीको यथार्थ चित्र
गाउँपालिकाले आफ्नो क्षेत्रभित्र प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधता, सडक पहुँचको विस्तार, कृषि उत्पादनको बजारसम्म पहुँच तथा स्थानीय सरकारको अधिकार सम्पन्न संरचनालाई प्रमुख अवसरका रूपमा पहिचान गरेको छ। तर युवाको वैदेशिक पलायन, श्रमशक्तिको अभाव, बाँझिँदै गएको खेतीयोग्य जमिन, उत्पादन र बजारीकरणबीचको कमजोर समन्वय, गुणस्तरीय शिक्षामा सीमित पहुँच, स्वास्थ्य सेवाको पहुँच समस्या, जलवायु परिवर्तनको प्रभाव तथा विपद् जोखिमलाई मुख्य चुनौती मानेको छ।
गाउँपालिकाले स्थानीय उत्पादनलाई बजारसँग जोड्दै रोजगार र उद्यमशीलताको वातावरण सिर्जना गर्न नसकिए समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने निष्कर्ष निकालेको छ।
शिक्षा सुधार र प्रविधिमैत्री विद्यालय
शिक्षा क्षेत्रलाई गुणस्तरीय र व्यवहारिक बनाउने उद्देश्यले गाउँपालिकाले पाँचवर्षीय शिक्षा योजना कार्यान्वयनलाई तीव्रता दिने भएको छ। स्थानीय पाठ्यक्रमलाई विद्यालयमा अनिवार्य रूपमा लागू गरिने, मगर खाम भाषामा तयार गरिएको पाठ्यपुस्तक प्रयोगमा ल्याइने, स्मार्ट बोर्ड, भर्चुअल शिक्षण, ई–लाइब्रेरी तथा विज्ञान प्रयोगशालाको विस्तार गरिने नीति लिइएको छ।
विद्यालय बाहिर रहेका बालबालिकालाई पुनः शिक्षामा जोड्ने, प्राविधिक शिक्षालाई रोजगारमुखी बनाउने, ‘सिक्दै कमाउँदै’ कार्यक्रमलाई सुदृढ गर्ने तथा उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मान गर्ने व्यवस्था पनि गरिएको छ।
स्वास्थ्य सेवामा घरदैलो अभियान
स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले रोग लागेपछि उपचारभन्दा रोग लाग्नै नदिने अवधारणालाई प्राथमिकता दिएको छ। गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि घर–घरमा स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण कार्यक्रम सञ्चालन गरिनेछ।
किशोर–किशोरी स्वास्थ्य शिक्षा, नसर्ने रोगको निःशुल्क परीक्षण, पोषण कार्यक्रम, स्वास्थ्य बीमा तथा सामुदायिक स्वास्थ्य इकाइको सुदृढीकरणमार्फत आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिने भएको छ।
कृषि उत्पादन र आत्मनिर्भरतामा जोड
मालिकाको अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषिमा लगानी वृद्धि गर्दै उत्पादन र उत्पादकत्व बढाउने नीति लिइएको छ। प्रत्येक वडामा कम्तीमा एक व्यावसायिक कृषि उत्पादन क्षेत्र विकास गरिनेछ भने कृषकलाई ७५ प्रतिशत अनुदानमा साना सिँचाइ योजना उपलब्ध गराइनेछ।
फलफूलका बिरुवा वितरण, मौरीपालन प्रवर्द्धन, तरकारी बीउ मिनिकिट वितरण, किसान सूचीकरण तथा किसान परिचयपत्र कार्यक्रम सञ्चालन गरिनेछ। साथै रैथाने बाली जस्तै कोदो, फापर, उवा र जौको उत्पादन, प्रशोधन र बजारीकरणलाई विशेष प्राथमिकता दिइएको छ।

पशुपालनतर्फ बाख्रा, कुखुरा, बंगुर, भैँसी तथा माछापालनलाई अनुदान र प्राविधिक सहयोगमार्फत प्रवर्द्धन गरिने भएको छ।
पर्यटनलाई आर्थिक समृद्धिको आधार
मालिका धुरी, प्रभुचेला, भालेबास्ने ताल, सोलेडाँडा लगायत पर्यटकीय गन्तव्यको प्रचार–प्रसार र पूर्वाधार विकासलाई निरन्तरता दिइने भएको छ। ‘एक वडा, एक पर्यटकीय गन्तव्य’ अवधारणालाई कार्यान्वयन गर्दै पर्यटन गुरुयोजना तयार गरिनेछ।
पर्यटकीय सडक सञ्जाल विस्तार, होमस्टे विकास, पदमार्ग निर्माण तथा स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने कार्यक्रममार्फत आयआर्जन बढाउने लक्ष्य राखिएको छ। निजी क्षेत्रले व्यवसाय सञ्चालन गर्न चाहेमा केही पर्यटकीय स्थल लिजमा दिने नीति पनि लिइएको छ।
युवालाई स्वदेशमै अवसर
युवालाई विदेशभन्दा व्यवसायतर्फ आकर्षित गर्न उद्यमशीलता विकास, सीपमूलक तालिम, स्वरोजगार प्रवर्द्धन तथा वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप र पूँजीलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने कार्यक्रम सञ्चालन गरिनेछ।
‘उद्यमी बनौँ, स्वदेशमा केही गरौँ’ अभियानमार्फत स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्न प्रोत्साहन गरिने भएको छ। खेलकुद पूर्वाधार निर्माण, राष्ट्रपति रनिङ शिल्ड तथा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालनलाई पनि निरन्तरता दिइनेछ।
पूर्वाधार, सडक र खानेपानीमा प्राथमिकता
गाउँपालिकाले सबै वडालाई वर्षभरि सञ्चालनयोग्य सडक सञ्जालसँग जोड्ने लक्ष्य लिएको छ। मुख्य तथा सहायक सडकको स्तरोन्नति, ग्राभेल र मर्मतलाई प्राथमिकता दिइनेछ। दर्वाङ–दिच्याम सडक स्तरोन्नति तथा दर्वाङ बजार संरक्षण जस्ता रणनीतिक योजनालाई संघ र प्रदेश सरकारसँगको साझेदारीमा अघि बढाइने भएको छ।
‘एक घर, एक धारा’ कार्यक्रमलाई निरन्तरता दिँदै स्वच्छ खानेपानीको पहुँच विस्तार गरिनेछ। खानेपानीका नयाँ स्रोतको खोजी, गुणस्तर परीक्षण र जलस्रोत संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ।
डिजिटल सुशासन र पारदर्शिता
गाउँपालिकाले सूचना प्रविधिमा आधारित सेवा प्रवाहलाई थप विस्तार गर्ने नीति लिएको छ। डिजिटल सेवा, कागजरहित प्रशासन, बायोमेट्रिक हाजिरी, नागरिक गुनासो व्यवस्थापन प्रणाली, अनलाइन राजस्व तथा योजना व्यवस्थापन प्रणाली लागू गरिनेछ।
प्रत्येक महिनाको आय–व्यय सार्वजनिक गर्ने, सार्वजनिक खर्चलाई नतिजामुखी बनाउने तथा भ्रष्टाचार र ढिलासुस्तीविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिने भएको छ।
जलवायु र विपद् व्यवस्थापनमा विशेष ध्यान
बाढी, पहिरो, डढेलो र जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका लागि जोखिम नक्साङ्कन, वृक्षारोपण, जलाधार संरक्षण, विपद् पूर्वतयारी तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिनेछन्। उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गरी सुरक्षित बस्ती विकास तथा वातावरणमैत्री पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ।
गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनलाई समेट्दै स्थानीय स्तरमै रोजगार सिर्जना र आर्थिक समृद्धिको आधार निर्माण गर्ने लक्ष्य लिएको छ। युवापलायन, बाँझो जमिन र उत्पादनमा देखिएको गिरावटजस्ता चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सके मालिका गाउँपालिकाले आगामी वर्ष विकास र समृद्धिको नयाँ गति लिन सक्ने अपेक्षा गरिएको छ।

