
कृषि, स्वास्थ्य, सडक र विपद् व्यवस्थापनलाई प्राथमिकता

दरबाङ, — म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, पर्यटन र विपद् व्यवस्थापनलाई केन्द्रमा राखेर रु. ४८ करोड ८६ लाखभन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार सम्पन्न १९औँ गाउँसभामा उपाध्यक्ष लक्ष्मीदेवी घर्ति मगर पुनले प्रस्तुत गरेको बजेटले नागरिकको आधारभूत सेवामा पहुँच विस्तार, रोजगारी सिर्जना, उत्पादन वृद्धि र दिगो पूर्वाधार निर्माणलाई मुख्य लक्ष्य बनाएको छ ।
गाउँपालिकाले आगामी वर्षका लागि चालु खर्चतर्फ रु ३४ करोड ३० लाख १९ हजार र पुँजीगत खर्चतर्फ रु १४ करोड ५५ लाख ८९ हजार विनियोजन गरेको छ । संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड, समपुरक तथा विशेष अनुदानसँगै आन्तरिक स्रोतलाई आधार बनाएर बजेट निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
बजेट प्रस्तुत गर्दै उपाध्यक्ष घर्ति मगरले सीमित स्रोत–साधनका बाबजुद नागरिकको आवश्यकता सम्बोधन गर्ने प्रयास गरिएको बताउनुभयो । उहाँले संघीय शासन प्रणालीले स्थानीय तहलाई संविधानतः अधिकार प्रदान गरे पनि आर्थिक अधिकार र स्रोतको पर्याप्त सुनिश्चितता हुन नसक्दा स्थानीय सरकारहरू चुनौतीमा रहेको उल्लेख गर्नुभयो ।
विकासका अवसर र चुनौती
गाउँपालिकाले बजेट वक्तव्यमार्फत मालिकाभित्र कृषि, पर्यटन, ऊर्जा र वनजन्य उत्पादनको ठूलो सम्भावना रहेको औँल्याएको छ । पछिल्ला वर्षमा सडक, विद्युत्, खानेपानी र सिँचाइजस्ता आधारभूत सेवाको पहुँच विस्तार भएकाले आर्थिक विकासका अवसर बढेको जनाइएको छ ।
तर आन्तरिक आम्दानी न्यून हुनु, पर्यटन र कृषिलाई पूर्ण रूपमा व्यवसायिक बनाउन नसक्नु, बहुवर्षीय योजनाको आर्थिक दायित्व, बसाइँसराइका कारण युवाशक्ति पलायन तथा विपद्जन्य जोखिम बढ्दै जानु प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ ।
चालु वर्षको वित्तीय अवस्था
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ मा रु ५० करोड ९१ लाख ३७ हजार आयको अनुमान गरे पनि हालसम्म रु ४५ करोड ८२ लाख ४९ हजार मात्र प्राप्त भएको जनाएको छ । आन्तरिक राजस्वतर्फ रु ७६ लाख ५० हजार लक्ष्य राखिएकोमा रु ६२ लाख ५३ हजार संकलन भएको छ ।
चालु वर्षमा पुँजीगत खर्चतर्फ २३.६३ प्रतिशत र चालु खर्चतर्फ ६५.८ प्रतिशत खर्च भएको छ । हालसम्म समग्र वित्तीय प्रगति ५२.४ प्रतिशत रहेको तथ्याङ्क बजेट वक्तव्यमा समावेश गरिएको छ ।
मदिराको ब्राण्डीङ
आर्थिक विकासतर्फ रु १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । रैथाने बाली प्रवद्र्धन, उन्नत बीउ वितरण, खाद्यान्न बाली उत्पादन वृद्धि तथा कृषि व्यवसायीकरणका कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
रैथाने बाली प्रवद्र्धन तथा उन्नत बीउ उपयोगका लागि रु २० लाख २५ हजार विनियोजन गरिएको छ भने विभिन्न स्थानीय बालीको संरक्षण तथा प्रवद्र्धनका लागि रु ८ लाख छुट्याइएको छ । राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रममार्फत रोजगारी सिर्जनाका लागि रु २० लाख ९४ हजार विनियोजन गरिएको छ ।
किसानलाई लागत साझेदारीमा कृषि प्रविधि हस्तान्तरण, कृषि यान्त्रीकरण, भेटेरिनरी सेवा, बीउ तथा विषादी खरिदमा सहयोग गर्ने कार्यक्रम पनि सञ्चालन गरिने भएको छ । लघु उद्यम विकास र स्थानीय मदिराको ब्रान्डिङका लागि रु. १० लाख बजेट व्यवस्था गरिएको छ ।
सामाजिक विकासमा ठूलो लगानी
सामाजिक विकासतर्फ रु २८ करोड ८२ लाख विनियोजन गरिएको छ, जुन कुल बजेटको सबैभन्दा ठूलो हिस्सा हो । शिक्षा, स्वास्थ्य, खेलकुद, महिला तथा बालबालिका लक्षित कार्यक्रमलाई संघीय शर्सतका कार्यक्रमहरु धेरै छन् ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउन रु २३ लाख विनियोजन गरिएको छ । मगर खाम भाषा प्रशिक्षक उत्पादन कार्यक्रमलाई निरन्तरता दिइएको छ । यसका लागि रु. दुई लाख बजेट बिनियोजन भएको छ ।
शैक्षिक गुणस्तर सुधार कार्यक्रमका लागि रु. ७७ लाख तथा आधारभूत स्वास्थ्य सेवा गुणस्तर अभिवृद्धिका लागि विशेष अनुदानमार्फत रु ४० लाख बजेट छुट्याइएको छ । प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति र भीम माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय तथा किसानी माध्यमिक विद्यालयलाई शिक्षण सहयोगका लागि रु ३६ लाख ६० हजार विनियोजन गरिएको छ ।
दरबाङमा सञ्चालित आँखा उपचार केन्द्रका लागि रु. ५ लाख विनियोजन गरिएको छ भने स्वास्थ्य संस्थामा डिजिटल स्वास्थ्य सूचना प्रणाली लागू गर्ने, आयुर्वेद औषधि खरिद गर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्ने तथा विपन्न नागरिक सहायता कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
पूर्वाधार विकासमा साढे छ करोड
पूर्वाधार विकासतर्फ रु छ करोड ३० लाख ८ हजार विनियोजन गरिएको छ । गाउँपालिकाले संघीय तथा प्रदेश सरकारसँग साझेदारी गरेर रणनीतिक सडक र स्वास्थ्य पूर्वाधार निर्माणलाई तीव्रता दिने लक्ष्य राखेको छ ।
दरबाङ आधारभूत अस्पताल निर्माण, दरबाङ–दिच्याम–मालिका–रघुगंगा सडक निर्माण तथा दरबाङ–देवीस्थान सडक स्तरोन्नतिका लागि रु तीन करोड ९४ लाख ५० हजार विनियोजन भएको छ ।
विभिन्न संघसंस्थासँग साझेदारीमा पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गर्न रु १९ लाख ६० हजार बजेट राखिएको छ । राष्ट्रिय माध्यमिक विद्यालय मालिका–२ को भवन निर्माणका लागि पाहार ट्रस्टसँग साझेदारी गर्न रु २६ लाख विनियोजन गरिएको छ।
जैविक मल उत्पादन गरिने
वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु १ करोड ८५ लाख विनियोजन गरिएको छ । प्रत्येक वडा र गाउँपालिकास्तरमा विपद् व्यवस्थापनका लागि रु ८० लाख बजेट छुट्याइएको छ ।
मनसुनजन्य विपद् प्रभावितको आवास निर्माण, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई निरन्तरता दिइएको छ । दरबाङ बजार संरक्षणका लागि संघीय विशेष अनुदानमार्फत रु ९२ लाख विनियोजन गरिएको छ ।
सामुदायिक वनसँग साझेदारी गरी जैविक मल उत्पादन कार्यक्रम सञ्चालन गर्न रु १० लाख बजेट व्यवस्था गरिएको छ ।
कर्मचारी र संस्थागत सुदृढीकरण
सुशासन तथा संस्थागत विकासतर्फ रु १० करोड ३९ लाख बजेट विनियोजन गरिएको छ। अस्थायी तथा करार कर्मचारीको तलबमा ५ प्रतिशत वृद्धि तथा सामाजिक सुरक्षा कोषमा १२ प्रतिशत योगदान सुनिश्चित गरिएको छ ।
सामुदायिक विद्यालयका बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगी कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि गर्ने व्यवस्था गरिएको छ । कर्मचारी तथा जनप्रतिनिधिको क्षमता अभिवृद्धि, तालिम, सवारी साधन खरिद, सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षणका कार्यक्रमका लागि पनि बजेट व्यवस्था गरिएको छ ।
आत्मनिर्भर मालिका निर्माणको लक्ष्य
गाउँपालिकाले आगामी वर्षको बजेटमार्फत कृषि, पर्यटन, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र पूर्वाधार विकासलाई सन्तुलित रूपमा अघि बढाउने लक्ष्य लिएको अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ । आन्तरिक राजस्वको दायरा विस्तार गर्दै संघ, प्रदेश सरकार तथा विकास साझेदारसँगको सहकार्यबाट बजेट कार्यान्वयन प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
गाउँपालिकाले प्रस्तुत गरेको बजेटले उत्पादन र रोजगारी वृद्धि, आधारभूत सेवाको गुणस्तर सुधार तथा दिगो पूर्वाधार निर्माणमार्फत “समुन्नत, समावेशी र आत्मनिर्भर मालिका गाउँपालिका” निर्माणको दीर्घकालीन लक्ष्य हासिल गर्ने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले बताउनुभयो ।

