मालिकाको टिमुरेखोलामा ट्राउटपालन फस्टायो

Gandaki Ghumau

म्याग्दी, ः वैदेशिक रोजगारबाट फर्किएका युवाले सञ्चालन गरेको म्याग्दीको ‘मालिका रेन्बो ट्राउट फर्म’ जिल्लाकै नमुना उद्यम बनेको छ ।

मालिका गाउँपालिका–३ का पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले स्थानीय टिमुरे खोलाको किनारमा सामूहिक रूपमा सञ्चालन गरेको फार्मबाट वार्षिक रु. २६ लाख बराबरको माछा बिक्री भएको छ ।

विदेशमा अवसर खोज्न बाध्य युवाहरूका लागि टिमुरेको यो ट्राउट फार्मले सही योजना, मेहनत र धैर्य भए स्वदेशमै पनि सम्मानजनक आम्दानी र सफल भविष्य निर्माण गर्न सकिने सन्देश दिएको हो ।

Shreekrishna

पाँच वर्ष कतारमा काम गरेर कोरोना महामारीका कारण रोजगारी गुमेपछि थन्मथलो फर्किएका पूर्णबहादुरलाई फार्म सञ्चालन गर्न विदेशमा रहेका यामेन्द्र रोका र तेजेन्द्र बुढाले साथ दिनुभएका छन् । विदेशको अनुभव र कमाइलाई गाउँमै उत्पादनशील क्षेत्रमा लगानी गर्ने सोचका साथ उहाँहरुले विसं २०७९ कात्तिकमा फर्म दर्ता गरी ट्राउट माछापालन सुरु गर्नुभएको थियो ।

टिमुरे खोला नजिकको आठ रोपनी जग्गा भाडामा लिएर सुरु गरिएको व्यवसायमा हालसम्म करिब रु. ५० लाख लगानी भइसकेको छ । प्रारम्भमा रु. १२ लाख लगानीमा छ वटा पोखरी (रेसवे) निर्माण गरेर माछापालन सुरु गरिएको थियो । व्यवसाय विस्तारसँगै हाल पोखरीको संख्या २० पुगेको छ ।

फर्मका सञ्चालक रोकाका अनुसार गण्डकी रेन्बो ट्राउटबाट ल्याइएको १० हजार अण्डाबाट ह्याचरिङ गरी उत्पादन सुरु गरिएको थियो । अहिले फर्ममै भुरा उत्पादन हुने व्यवस्था मिलाइएको छ र १६ हजारभन्दा बढी माछा हुर्किरहेका छन् ।

“विदेशमा पसिना बगाउँदा पनि सन्तोषजनक बचत गर्न कठिन थियो । पछिल्लो एक वर्षयता दुई हजार किलोग्राम माछा रु. २६ लाखमा बिक्री भयों,” पूर्णले भन्नुभयो, “यस वर्ष पोखरीको संख्या थपिएकाले माछा उत्पादन र बिक्री बढ्ने अपेक्षा गरेको छु । आम्दानीलाई ब्यवसाय विस्तारमा लगाएका छौ ।”

ट्राउट माछाका लागि आवश्यक पर्ने चिसो, स्वच्छ र निरन्तर बहाव भएको पानीको मुहान र अनुकुल वातावरण भएकाले ब्यवसायिक सम्भावना देखेर विदेश जाने योजना त्यागेर माछापालनमा लागेका पूर्ण सन्तुष्ट हुनुहुन्छ ।

Gunasthariya Shiksya

दरबाङ बजार, सदरमुकाम बेनी तथा छिमेकी जिल्ला बागलुङसम्म प्रतिकिलो रु. एक हजार तीन सयका दरले माछा बिक्री हुने गरेको छ । माछापालनसँगै उनीहरूले टिमुरेमा आफ्नै रेष्टुराँ र घरबास पनि सञ्चालन गरेका छन् ।

पोखरीमा उत्पादन भएको ताजा ट्राउट माछा रेष्टुराँमार्फत ग्राहकसम्म पु¥याउने व्यवस्था मिलाइएको छ । कृषि पर्यटनको अवधारणा अनुसार छ जना क्षमताको घरवास र रेष्टुरेन्ट सञ्चालन गरिएको हो ।

रुम, दुरलेक, ढुंगाखानी, डाडागाउँ, सोलेडाडा घुम्न र माछा फार्म अवलोकनमा आउने पर्यटकहरुलाई लक्षित गरेर घरबास सञ्चालन भएको हो । बेनीबाट रुम घुम्न गएका सुदिप खत्रीले फार्ममा पालिएका माछा अवलोकनका साथै स्वाद पनि लिन पाउँदा रमाइलो महशुस भएको प्रतिक्रिया दिनुभयो । पूर्णले बंगुरपालन पनि शुरु भएको छ । फार्ममा हाल १७ वटा बंगुर छन् ।

“नेपालमै व्यवसाय गरेर राम्रो आम्दानी गर्न सकिने रहेछ,” पूर्णले भन्नुभयो, “माछापालनबाट आत्मसन्तुष्टि पनि मिलेको छ र परिवारसँगै बसेर काम गर्न पाइएको छ ।” परिवारका दुई जना सँगै आवश्यकता अनुसार अन्य व्यक्तिहरुलाई पनि रोजगारी मिलेको छ ।

उक्त फार्मलाई मिर्मी र रसुवामा रहेको मत्स्य अनुसन्धान केन्द्र, मालिका गाउँपालिका र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले सहयोग गरेका छन् । मत्स्य अनुसन्धान केन्द्रले प्राबिधिक ज्ञान, सिप र तालिमका साथै प्रबिधिमा सहयोग गरेका हुन् । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले बंगुर फार्मको खोर निर्माणमा सहयोग गरेका छन् ।

मालिका गाउँकार्यपालिकाका प्रवक्ता अनुप गौचनले चालु आर्थिक वर्षमा माछाको भुरा उत्पादन गर्ने नर्सरी बनाउन पालिकाले रु. पाँच लाख सहयोग गरेको बताउनुभयो । बर्खामा फार्ममा धमीलो पानी आउन नदिन अध्ययन गरिएको र टिमुरेखोलामा ह्युम पाइप राख्न गाउँपालिकामा प्रस्ताव गरेको उहाँले बताउनुभयो ।

“विदेशबाट फर्किएका युवाले गाउँमै लगानी गरेर सफल व्यवसाय सञ्चालन गर्नु अन्य युवाका लागि प्रेरणादायी विषय हो,” उहाँले भन्नुभयो “मालिका गाउँपालिकाले व्यवसायिक किसान र उद्यमीहरुलाई प्रोत्साहन र सहयोग गर्दै आएका छौ ।”

वर्षायाममा बाढी र भेलका कारण धमीलो पानी आउँदा माछाका भुरा जोगाउन कठिन हुने चुनौति छ । दानाको मूल्य वृद्धि, उत्पादन लागत र प्राकृतिक जोखिमका बाबजुद बजारको माग निरन्तर बढिरहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...