जहाँ तीन जना विद्यार्थीका लागि विद्यालय छ

Gandaki Ghumau

म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा रहेको धवलागिरी आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको संख्या बराबर छ ।

कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयको १ र २ कक्षामा विद्यार्थी संख्या शून्य छ । वि.स. २०४० मा स्थापना भएको यस विद्यालयको बालकक्षामा एक जना र कक्षा तीनमा दुई जना विद्यार्थी छन् ।

स्थायी दरबन्दीका शिक्षक शान्ति राम्जाली प्रअ, बालशिक्षा सहजकर्ता शिखा बोहोरा क्षेत्री र सहयोगी सुर्जना रोका सहयोगी हुनुहुन्छ । जेसिका खड्का यसपाली बालकक्षामा भर्ना हुनुभएको हो भने नेलसन रोका र श्रीसा खड्का कक्षा २ उतिर्ण भएर ३ मा उक्लिएका हुन् ।

Shreekrishna

प्रअ राम्जालीले बढ्दो बसाईसराई र घट्दो जन्मदरको असर विद्यालयको विद्यार्थी संख्यामा देखिएको बताउनुभयो । “विद्यालयको सेवा क्षेत्रमा पर्ने भालेबासमा १५ र कोप्चेपानीमा १० घरपरिवारको बसोबास छ,” उहाँले भन्नुभयो “वि.स. २०७२ सम्म १५–२० जना सम्म विद्यार्थी थिए । नयाँ बच्चा जन्मने दर घटेको र बसाईसराई गरेर अन्यत्र जाने दर बढेकाले विद्यार्थी संख्या न्युन भएको हो ।”

Gunasthariya Shiksya

यसअघि कोप्चेपानीमा रहेको विद्यालयको भवन वि.स. २०७५ मा कालीगण्डकीमा आएको बाढीले बगाएपछि भालेबासमा स्थानान्तरण गरिएको थियो । सुविधायुक्त भवन, शौचालय र बालमैत्री कक्षा भएपनि विद्यालय सुनसान छ ।

अन्नपूर्ण गाउँपालिकाले गत वर्ष विद्यार्थी संख्या कम भएकाले गत वर्ष एक जना शिक्षक दरबन्दी कटौती गरेको थियो । स्थानीयबासी तुलाराम बुढाले पछिल्लोसमय स्थानीयबासीहरु बसाईसराई गरेर पोखरा जाने क्रम बढेको बताउनुभयो ।

“भालेबास र कोप्चेपानीको छिमेकी गाउँ गाडपार र काभ्रेमा पुग्न बालबालिकाहरुलाई करिब एक घण्टा पैदलयात्रा गर्नुपर्छ,” उहाँले भन्नुभयो “गाउँमा भएका विद्यार्थीलाई आधारभूत संवैधानिक अधिकार शिक्षाबाट बञ्चित हुन नदिन संख्या कम भएपनि विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ ।”

अन्नपूर्ण गाउँपालिकाका अन्य विद्यालयहरुमा पनि विद्यार्थी संख्या न्युन छ । ठाडा, किन्दु, स्वाँत, घराप, चित्रेका आधारभूत विद्यालयमा पनि विद्यार्थी संख्या न्युन छ । भौगोलिक विकटता र छरिएका बस्तिहरुमा भएका विद्यालयमा विद्यार्थी संख्या कम भएपछि कक्षा घटुवा, दरबन्दी ब्यवस्थापन गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...