
म्याग्दी, ः म्याग्दीको बेनी नगरपालिका–२ खबराको बगैचामा केराको बोट सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् ।
एक सय २० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गरेका छन् । केराखेती खबराको मुख्य आयस्रोत हो । अगुवा किसान सोवित शर्माले पसाउने समयमा टुप्पोमा पात पलेलो हुने र गाना कालो भएर बोट सुक्ने समस्या बढेपछि किसानहरु चिन्तित बनेका बताउनुभयो ।
“पछिल्लो एक÷दुई वर्षयता केराको बोट सुक्ने समस्या बढ्दै जाँदा खबराको केरा खेतीमा चुनौति सिर्जना भएको छ,” उहाँले भन्नुभयो “कृषि प्राविधिकहरुले समस्याको पहिचान र उपचार सफल नहुँदा केराखेतीनै मासिने जोखिम बढेको छ ।”

सबैजसो बगैचामा केराको गुभो (बोटको भित्रीभाग) कुहिने र बोट सुक्ने समस्या देखिन थालेको छ । तिब्र रुपमा फैलिएको केराको बोट सुक्ने समस्या समाधान हुन सकेको छैन् । बोट सुक्न थालेपछि केरा मासेर बेसार खेती गरेको कृषक घनश्याम सापकोटाले बताउनुभयो ।


जिल्ला कृषि विकास कार्यालय म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले खबराको केरा खेतीमा देखिएको समस्या पहिचानका लागि बाली प्रयोगशालासँग प्राविधिक सहयोग मागिएको बताउनुभयो ।
“के कारणले बोट सुकेको हो र कसरी समाधान गर्ने भन्ने विषयमा अनुसन्धानका लागि प्राबिधिक टोलीको सहयोग मागेका छौ,” उहाँले भन्नुभयो “बाली संरक्षण कार्यक्रम मार्फत खबराको केरा खेतीमा देखिएको समस्या समाधानका लागि पहल गर्छौ ।”
खबरामा पाखोबारी, खोल्सा, कान्ला, डिल र खेत केराको घारीले भरिएको छ । धान, गहुँ, मकै र कोदोलगायत खाद्यबालीको विकल्पमा केराखेती गरेको छन् । एक जनाले दुई देखि २० रोपनी जग्गामा हजारी जातको केरा लगाएका छन् ।
केराखेतीबाट मासिक न्युनतम १०–१२ हजारदेखि ५० हजारभन्दा बढी कमाउने कृषक छन् । घरव्यवहार चलाउन र छोराछोरी पढाउन केराखेतीको आम्दानीले सहयोग पुगको छ । घरव्यवहार चलाएर बचेको पैसाले कच्ची घरलाई पक्की बनाएको स्थानीय कृषक हिरा कुँवरले बताउनुभयो ।
उपयुक्त हावापानी, भूगोल र बजार नजिक भएका कारण खबराका किसानहरूले केरा खेती विस्तार गरेका हुन् । बिरुवा रोपेको दुई वर्षदेखि उत्पादन लिन सकिन्छ । एक घरी केरामा एक हजारवटा सम्म कोसा लाग्ने गर्छ । धेरै पटक मलजल, खनजोत र गोडमेल गर्नु नपर्ने हुँदा केराखेती अन्य फलफूलको तुलनामा सजिलो भएको कृषकको अनुभव छ । केराको घारीलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ ।
विसं २०५८ मा मानबहादुर थापाले काठमाडौँबाट भित्र्याएको केरा खबरामा मात्रै नभएर म्याग्दी, पर्वत र बाग्लुङमा पनि फैलिएको छ । बेनी नगरपालिकाले खबरालाई केराको पकेट क्षेत्र बनाउने उद्देश्यले तीन वर्षअघि बिरुवा वितरण गरेको थियो ।

