
बेनी, ः म्याग्दीमा एक सय ८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज जलविद्युत आयोजना निर्माण शुरु भएको छ ।
कालिगण्डकी गर्ज हाइड्रोपावर प्रा.लि. प्रर्वद्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा सोमबारदेखि बिस्फोटक पदार्थको प्रयोग गरि सुरुङ निर्माण थालेको हो ।
आयोजना निर्देशक रमण सिंहले आगामी चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले छिट्टै बाँध, गाडपार र घरापमा प्रस्तावित विद्युतगृह निर्माणस्थलबाट गरि चार ठाउँबाट सुरुङ निर्माणको तयारी गरेको जानकारी दिनुभयो ।

“पाँच किलोमिटर छ सय मिटर लामो सुरुङ निर्माण हुनेछ,” उहाँले भन्नुभयो “विद्युतगृह र बाँध निर्माण स्थलमा सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालित भइसकेको छ ।”
मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामाको पहिरा थाप्लामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा विद्युतगृह निर्माणको तयारी भएको आयोजना प्रमुख सिंहले बताउनुभयो ।
रन अफ द रिभर प्रकृतिको यस आयोजनाको एक किलोमिटर पेनस्टक पाइपलाईन रहनेछ् । विद्युतगृह देखि आउटलेटको उचाई चार सय ८० मिटर रहेको छ । प्रर्वद्धक कम्पनी, ठेकेदार र नेपाली सेनाको कार्यालय, आवास र बिस्फोटक पदार्थ भण्डारण भवन तयार हुने अन्तिम चरणमा पुगेको छ ।

आठ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । आयोजना स्थलमा पुग्न गाडपारमा बेलिब्रिज जडानको तयारी भएको छ । घराप देखि दाना सम्म दुई सय २० केभी क्षमताको एक किलोमिटर प्रशारण लाइन निर्माण गरेर कालीगण्डकी गर्जको विद्युत केन्द्रिय प्रणालीमा आवद्ध गराइने भएको छ ।
रु. ४० अर्ब लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमी बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकको लगानी रहने आयोजनाका बरिष्ठ प्रवन्धक कृष्णदास श्रेष्ठले बताउनुभयो ।
प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत सेयर लगानीको ब्यवस्था मिलाइएको उहाँले बताउनुभयो । अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर फगामी लगायत जनप्रतिनिधी, स्थानीय अगुवा, प्रर्वद्धक कम्पनी, निर्माण कम्पनी, सुरक्षा निकायका प्रतिनिधीहरुको उपस्थितिमा धार्मिक बिधिपुर्वक पुजाआजा गरेर आयोजना निर्माण कार्यको शुभारम्भ गरिएको थियो ।
वडा अध्यक्ष फगामीले कालीगण्डकी गर्ज म्याग्दी जिल्लाको हालसम्मकै ठुलो जलविद्युत आयोजना भएको बताउनुभयो । उहाँका अनुसार नारच्याङ भएर बग्ने नदीहरुमा एक सय ६२ मेगावाट क्षमताका पाँच वटा जलबिद्युत आयोजना निर्माण भएका छन् ।
पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२ र छ मेगावाट क्षमताको रेलेखोला जलबिद्युत आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् ।
नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युुत आयोजना निर्माणाधिन छ । नौ दशमलब १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलबिद्युत आयोजना निर्माण शुरु गर्ने तयारी गरेको छ ।

